मौका छोपेर बागमती नदीमा जलयात्रा !

साझा कथा । बागमती नदीमा वर्षमा एक पटक जलयात्रा महोत्सव हुन्छ । यो क्रम विगत लामो समयदेखि चल्दैछ । सोही शृंखला आउने भदौ ९ गते शनिवार पनि चल्दैछ ।

बर्खा याममा बागमती नदीमा देखिने पानीको बहाव छोपेर नेपाल एसोसिएशन अफ् र्याफ्टिङ एजेन्सिज (नारा)ले यो कार्यक्रमको आयोजना गर्ने गरेको छ । र्याफ्टिङ व्यवसायी र र्याफ्टिङ गर्न रुचाउनेहरुका लागि यो ठूलो मौका हो । के यो मौकालाई सदाबहार जलयात्रा कार्यक्रममा रुपान्तरण गर्न सकिएला ?

बागमती नदी नेपालको एक मुख्य नदी हो । बागद्वारबाट उद्गम भएको यो नदी धार्मिक र सांस्कृतिक दुबै हिसाबले विशिष्ट छ । हिन्दू तथा बौद्ध धर्ममा यस नदीलाई पवित्र तीर्थ स्थलको रुपमा पुजिन्छ । सोही कारण यस नदीको किनारमा कयौं मन्दिरहरू निर्माण गरिएका छन् । हिन्दू धर्म मान्नेहरुले मृत्यपश्चात आफ्नो शव बागमती नदीको किनारमा लगेर जलाउँछन् भने किराँत समुदायले नदी किनारामै शव गाढ्छन् । यस नदीमा दाहसंस्कार गर्दा जन्म/मृत्युको बन्धनबाट मुक्ती पाइने र मोक्ष प्राप्त हुने विश्वास पनि छ ।
काठमाडौं उपत्यका र राजधानीको इतिहाससँग समेत जोडिएको बागमती नदीको सभ्यता लगभग समाप्तितिर पुगेर पुनः फर्कने अवस्थामा छ । विगत ४० वर्ष यता यो पवित्र नदीमा ढल मिसाएर ढलमती बनाइएकोमा केही वर्षदेखि नदीको संरक्षण र विकासमा भएका गतिविधिले भने केही शुभ संकेत गरेको छ ।

नेपाल सरकारले सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति खडा गरी बागमतीलाई मौलिक स्वरूपमा फर्काउन कोसिस गर्दैछ । जसले वृहत् अभियान अन्तर्गत पाँच सय ३६ औं हप्तादेखि निरन्तर सरसफाई कार्यक्रम गर्दैछ । दश वर्ष अगाडिदेखि चलिरहेको यो अभियानमा नेपाल सरकारका निजामती, सैनिक, प्रहरी, विद्यार्थी र स्थानीयवासी सबै लागिरहेका छन् । यो अभियान निरन्तर चले पनि ढलको मुहान र फोहोरको स्रोत नथुनिँदासम्म बागमती कहिलै बागमती हुन सक्दैन, यसलाई ढलमतीले नै चिनिरहनेछ ।

बागमतीलाई बागमती बनाउनका लागि सबैभन्दा ठूलो चुनौति बनेको छ ढल व्यवस्थापन । घरघरबाट निस्केको ढललाई व्यवस्थापन गर्न सक्यो भने बागमतीले बागमतीको स्वरुप ग्रहण गर्नेछ । त्यसपछि, नदीमा फालिदै आएका फोहोरहरुलाई व्यवस्थापन गर्न सक्नुपर्छ । यी दुई काम गर्न सक्यो र अहिले चल्दै आएको सरसफाई अभियानलाई निरन्तरता दिन सक्यो भने बागमती साँच्चै नै ४० वर्ष अघिको बागमती बन्नेछ । यी कामहरु सम्पन्न हुँदै गर्दा बागमतीमा सदाबहार जलयात्रा गर्नका लागि पानीको मुहान बढाउनु पर्छ । प्राकृतिक रुपमा पानीको मुहान बढाउन केही विकल्पहरु अपनाउन सकिएला तर त्यो जलयात्राका लागि प्रर्याप्त हुने छैन । जलयात्राका लागि शिवपुरी डाँडामा निर्माण सम्पन्न हुँदै गरेको धापबाँधबाट सुख्खा याममा बागमती नदीमा पानी बगाउने र अर्को निर्माणको योजना बन्दै गरेको नागमती बाँधबाट पनि बागमतीमा पानी बगाउन सकियो भने चाहिँ बागमतीमा सदाबहार जलयात्राको सपना साकार हुनेछ ।

यत्ति गर्न सकियो भने बागमती नदीमा हुने जलयात्रा केवल जलयात्रा मात्रै हुने छैन – यो महाजलयात्रा हुनेछ । किनकी, बागमती नदीको सभ्यता, धार्मिक तथा सांस्कृतिक महत्व, नदीको किनारमा रहेको विश्वभरका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रविन्दु पशुपतिनाथ र सयौं मठमन्दिरहरुले यस नदीमा गरिने जलयात्रालाई महाजलयात्रामा रुपान्तरण गर्नेछ । यस वर्ष ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट सुरु हुन लागेको ‘नदी महोत्सव तथा महाजलयात्रा’ कार्यक्रमले यो सन्देश बोकेर जाओस् ।

 

यो पढ्नु भयो ?