अस्पतालमा  सेवा ठप्प , मर्कामा  बिरामी

साझाकथा, काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारिएको छ । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै असार २३ देखि देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् ।

आकस्मिकबाहेकका सेवा बन्द भएपछि उपचारका निम्ति अस्पताल पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् । चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । विभिन्न अस्पतालविरुद्धको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो । त्यसको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना मुद्दामा कारण देखाऊ आदेश भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अन्तर्गत आज चिकित्सकले मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा नै बुझाउदै  छन् ।

आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसनलगायत संघसंगठनले ऐक्यबद्धता जनाएका छन् ।

यो पढ्नु भयो ?