साझा कथा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै आगलागी भएको फ्लाई दुबईको विमान आगो नियन्त्रणमा लिएसँगै गन्तव्यतर्फ उडेको छ ।
सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सहित आकासमै लामो समय होल्ड भएको विमान अन्ततः गन्तव्य तर्फ लागेको हो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो ।
पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि टावरले पनि अनुमति दिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सबै खालका सुरक्षाका आवश्यक तयारी गरिएको थियो । तर जहाज नफर्किने जनाउसहित दुबईतर्फनै लागेको हो ।
दुबईका लागि उडेको जहाजमा १६९ जना यात्रु थिए । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेको बताइएको छ ।
यसैबीच, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि जहाज सकुशल गन्तव्य तर्फ लागेको जानकारी गराएका छन् । उनले फेसबुक स्टाटस लेख्दै जहाज सकुशल अवतरणका लागि शुभकामना समेत दिएका थिए ।

