आकास छोएको तरकारीको भाउ, एक महिनामै महँगियो ७४ प्रतिशत

साझा कथा । हरियो तरकारीको भाउ केही समयको अन्तरालमा ह्वातै बढेको छ । पछिल्लो एक महिनामा तरकारीको भाउ ७४ प्रतिशतभन्दा बढीले बढेको छ । चाडपर्व नजिकिएसँगै बढेको तरकारीको भाउले उपभोक्ता मारमा परेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुमैयाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपैयाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपैयाँमा किनबेच भइरहेको छ । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन ।

साउन १६ गते ४५ रुपैयाँमा थोकमा कारोबार भएको तनेबोडी भदौको ४ गते मूल्य बढेर ११० रुपैयाँ थोकमै पुगेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजीको २२० रुपैयाँसम्म किनबेच भएको छ । यस्तै, सो अवधिमा सेतो मुला ३७ रुपैयामा कारोबार भएकोमा अहिले बढेर ७६ रुमैयाँ भएको छ । स्थानीय काउली प्रतिकेजी ६८ रुपैयाँबाट ८८ रुपैयाँ, मकैबोडी ६६ रुपैयाँबाट ८५ रुपैयाँमा थोकमा किनबेच भइरहेको छ । यस्तै, भदौ ४ गते भटमास प्रतिकेजी १०४ रुपैयाँ, तितेकरेला प्रतिकेजी ५० रुपैयाँ, लौका प्रतिकेजी ८० रुपैयाँ, परबर प्रतिकेजी ७० रुपैयाँ, घिरौँला प्रतिकेजी ५० रुपैयाँ र भिन्डी प्रतिकेजी ५० रुपैयाँमा किनबेच भएको छ । यसको भाउ खुद्रा बजारमा झनै दोब्बरभन्दा बढी महँगो छ ।

चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।

यो पढ्नु भयो ?