जनयुद्ध दिवसमा सार्वजनिक बिदा, सामाजिक सञ्जालमा विरोध

साझा कथा । आज फागुन १ अर्थात जनयुद्ध दिवस । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि. सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रुपान्तरण भएको थियो ।

जनयुद्ध दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु हुँदैछ । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो । यसअघि अघिल्लो वर्षबाट जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसवर्षबाट भने वागमती प्रदेश सरकार र कर्णाली प्रदेश सरकारसहित संघीय सरकारले समेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको थियो ।

यसैबीच, सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति विभिन्न संघसंस्था र राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । जनयुद्ध दिवसको बिदा दिएकामा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण भएको भन्दै असन्तुष्टि जनाए । सरकारले गरेको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ ।

यो पढ्नु भयो ?