उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो पटक निर्वाचन हुँदै

साझा कथा । नेपाल उद्योग वाणिज्य महासङ्घको बुधबार सम्पन्न वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि पुनः निर्वाचन हुने भएको छ ।

तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । निर्वाचन आजै दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म हुने बताइएको छ ।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई भने बाहिरिएका छन् । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गरेका छन् । बाहिरिएका रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गरेका थिए । साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका थिए । जसमा ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे । जसमा ३ मत बदर भयो । वस्तुगततर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गरेका थिए भने एक मत बदर भयो ।

महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् ।

यो पढ्नु भयो ?