थप २० मिनेट पानी परेको भए..अनि रोहित पौडेलको त्यो गलत निर्णय..

साझा कथा । श्रीलंकाको पल्लेकेले स्टेडियमा सोमबार राति भारत नेपालविरुद्ध व्याटिङ सुरु गर्दै थियो । सुरुवाति व्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा २३० रन जोड्न सकेको थियो । २३१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको भारतले २.१ ओभरमा १७ रन बनाएको बेला पानी पर्न थाल्यो । जसका कारण खेल रोकियो । भारी वर्षा भएपछि करिव २ घण्टा खेल रोकियो र डीएल मेडथका आधारमा खेल २३ ओभरमा छोट्याइयो । अनि भारतले पायो १४५ रनको नयाँ लक्ष्य ।

व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका खेलाडीले बलिङ राम्रो गर्न नसक्दा भारत विना विकेटको क्षतिमा विजयी भयो । भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडेका थिए ।

यसअघि एसियन कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । पाकिस्तानसँग अपेक्षित खेल खेल्न नसकेको नेपाल भारतसामू निरीह हुने आशंका गरिएको थियो किनकी क्रिकेटमा भारत विश्व च्याम्पियन पनि हो । विश्वस्तरमा राम्रो प्रदर्शन गर्ने भारतका कुशल वलर मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतलाई नेपाली नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य नै छ । बलियो राष्ट्रसँगको खेलमा बोल्ड खेलेका नेपाली टोलीले सर्वत्र प्रशंसा बटुलिरहेका छन् । भारतकै कतिपय क्रिकेटर र खेलसँग सम्बन्धित व्यक्तिहरुले नेपालको उच्च प्रशंसा गरेका छन् ।

यदि श्रीलंकामा परेको पानी थप २० मिनेट परेको भए के हुन्थ्यो ?

करिब दुई घण्टा रोकिएको नेपाल भारतबीचको खेल राति १०ः३५ मा सुचारु भएको थियो । यदि २० मिनेट बढी समय पानी परेर खेल रोकिएको भए खेल रद्द हुने अवस्थामा पुग्थ्यो । फलःस्वरुप नेपाल र भारतले समान १-१ अंक बाँड्नुपथ्र्यो । एसिया कपमा अंकविहिन अवस्थामा नेपाल फर्कनुपर्ने थिएन । यस्तै खेल रद्द भएको भए नेपालको वलिङ परीक्षण हुन नै पाउने थिएन । विश्वसामु भारतविरुद्ध उत्कृष्ट व्याटिङ गरेको नेपालले वलिङ गर्न पाएको भए भारतले हार्न सक्थ्यो भन्ने विश्लेषण हुन सक्थ्यो । अर्थात भारत विरुद्ध नेपालको वलिङ सस्पेन्स नै हुन्थ्यो । भारतलाई पनि मनमा चिसो पस्न सक्थ्यो । तर निकै अनुभवी भारतीय कप्तान रोहित शर्मासँगै शुभमन गिलका लागि नेपाली बलरहरुको सामना गर्न खासै गाह्रो भएन । फितलो वलिङ गरेका कारण नेपालको अवस्थाबारे भारतको बुझाई हलुका नै रहन गएको हुनसक्छ ।

यदि करण केसी सातौँ विकेटको रुपमा आएको भए..
नेपाली अलराउण्डर करण केसीले व्याटिङमा आफ्नो कौशल देखाउन पाएनन् । अन्तिम पारी खेल्ने क्रममा करण केसी अधिकाँश खेलमा चम्किने गर्छन् । तर भारत विरुद्धको खेलमा उनले आफ्नो व्याट नचाउनै पाएनन् । ललित राजबंशीसँग साझेदारी गर्न नवौँ विकेटको रुपमा पठाइएका करण राजबंशीकै कारण १ ओभर ४ बल खेल्नै पाएनन् । सन्दीप लामिछाने भन्दा अघि करणलाई पठाएको भए सायद खेल रोचक मोडमा पुग्ने थियो । किनकी अन्तिम पावर प्लेमा करणले राम्रो गर्न सक्थे, विगतमा उनले यो पुष्टि गरिसकेका छन् । हुन त खेलमा यो हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन तर करण सातौँ विकेटको रुपमा आएको भए नेपालले थप २० रन अवश्य बनाउन सक्थ्यो । २५० रन कटाउनु ओडिआईमा ठूलो कुरा हो, यसले विपक्षीलाई पनि मनोवैज्ञानिक त्रासमा राख्छ । एसिया कपमा सबैभन्दा कमजोर प्रदर्शन गरेका नेपाली कप्तान रोहित पौडेलले गलत निर्णय गर्दै करणलाई नवौँ विकेटको रुपमा पठाए । जसकारण नेपाल ५० ओभर पनि खेल्न नपाई २३० रनमै अलआउट भयो ।

यो पढ्नु भयो ?