दाङको टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तार गरिने

साझा कथा । दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए । “क्यानले चार वटा विकल्प दिएको थियो”, उनले भने, “तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौँ ।” पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ । हालको सात सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुई सय ३० मिटर लम्बाइ बनाउने तयारी छ ।

उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिए । विमानस्थलको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण एक दशमलव दुई बिघा र सार्वजनिक जग्गा चार दशमलव आठ बिघा लैजानुपर्छ । विमानस्थल बनाउँदा रु. छ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय लागत अनुमान गरिएको छ ।

टरिगाउँ विमानस्थलमा विसं २०११ देखि २०४२ सालसम्म नियमितरुपमा विमान सञ्चालनमा भएको हो । त्यतिबेला सीधा दाङ काठमाडौँ जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवलस्थित तिनाउमा पनि पुल थिएन । यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौँ जानुपर्ने परिस्थिति थियो । केही समय अवरोध भए पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरेपनि एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो ।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमितरुपमा हवाई सञ्चालन भइरहेको छ । उक्त विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ ।

यो पढ्नु भयो ?