साझा कथा । विश्वको सर्वोच्च शिखर सगरमाथामाथि हरेक वर्ष फरकफरक खालका विश्वकीर्तिमानीहरु बन्दै आएका छन् ।
विना अक्सिजन आरोहण गरेको, छिटो आरोहण गरेको, सबैभन्दा जेष्ठ नागरिकले आरोहण गरेको, धेरै पटक आरोहण गरेको आदिआदि सयौं कीर्तिमानीहरु सगरमाथासँग छ । यसैबीच, दुबै खुट्टा गुमाएका व्यक्तिले समेत सगरमाथाको जस्तो कठोर आरोहण सफल गरेर नयाँ कीर्तिमानी कायम गरेका छन् । उनी हुन् – पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगर ।
वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो ।
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।’ साथै, सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को विश्व रेकर्ड पनि बुढामगरको नाममा छ ।

