साझा कथा । काठमाडौँ उपत्यका सहित देशभरि बढेको गर्मी अझै बढ्ने देखिन्छ । यस वर्ष समयमै मनसुन नभित्रिने मौसमविद्हरुले बताएसँग केही दिन गर्मी अझ बढ्ने पक्कापक्की भएको हो ।
पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव थोरै हुने भएकाले बादल लागेर राहत हुने भएपनि जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गर्मी भने नघट्ने बताइन् । उनले भनिन् – ‘यस वर्ष समयमै मनसुन भित्रिने सम्भावना छैन । अहिलेसम्म भारतमा मनसुन सुरु भएको छैन । भारतमा नआउँदा नेपालमा मनसुन आउने कुरै भएन ।’
पश्चिमी वायु र प्रि–मनसुनको प्रभाव कम हुँदै जान थालेपछि तराई क्षेत्रमा अत्याधिक गर्मी हुन थालेको छ । गर्मीले विद्यालयको पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयहरुले केही दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । साथै, घर बाहिर काम गर्ने श्रमिकहरुलाई अत्याधिक रुपमा बढेको गर्मीले प्रभाव पारेको छ । अहिले तराईका भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुर, विराटनगर, धनगढी लगायत क्षेत्रमा गर्मी अत्यधिक बढेको छ ।
आगामी केही दिन तापक्रम अझ बढ्दै जाने भएकाले सतर्क रहन मौसमविद्हरुले सुझाव दिएका छन् । गर्मी बढेसँगै सर्प, बिच्छी लगायत विषालु जीवको खतरा पनि स्वाभाविक रुपमा बढ्ने देखिन्छ ।
नेपालमा हरेक वर्ष जुन १३ मा भित्रिने मनसुन यसवर्ष सातादिन जसो गरेर ढिला भित्रिने विभागको अनुमान छ । साथै, यस वर्षको मनसुनमा कम वर्षा हुने बताइएको छ । जसले गर्दा किसान प्रभावित हुन सक्ने आकलन गरिएको छ ।

