धादिङ भूकम्पः टहरोमा बसेर दसैं मनाउँदै खरीवासी

साझा कथा । भूकम्प आउने त्रासमा ज्वालामुखी गाउँपालिकास्थित खरीका स्थानीयहरुले टहरो र त्रिपालमै रात कटाए । खरी केन्द्रविन्दु बनाएर बडादसैंको महाअष्टमीको विहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्प पछि आइरहेको पराकम्पका कारण उनीहरुले टहरोमै दसैं मनाउँदै छन् ।

घटस्थापनाको दिन मूल घरमा जमरा स्थापना गरेको भए पनि बस्ने र खाने त्रिपालमै गर्ने गरेको उनीहरुको भनाइ छ । पराकम्पहरु आइरहेको र मौसम समेत चिसो हुन थालेका कारण रात कटाउन गारो भएको स्थानीयको भनाइ छ । भूकम्प प्रभावितहरुलाई नीलकण्ठ नगरपालिका वडा नं. ३ ले त्रिपालको व्यवस्था गरेको थियो ।

विहान ७ बजेर ३९ मिनेटमा आएको भूकम्पको धक्का महशुस धादिङसहित गोरखा, चितवन, काठमाडौं, मकवानपुर तथा नुवाकोटमा समेत भएको भएको थियो । त्यसपछि निरन्तर आइरहेको पराकम्पले धादिङवासीलाई त्राससँगै दसैंसमेत खल्लो बनाएको छ । दिनभरमा ४ वा सोभन्दा माथि म्याग्निच्युडको थप ६ वटा पराकम्प गएको थियो भने साँझ ५ बजेर ३१ र ३३ मिनेटमा गएको पराकम्प क्रमशः ५ र ५ दशमलव १ म्याग्निच्युडको थियो । ४ म्याग्निच्युडभन्दा साना पराकम्प १ सय २५ भन्दा बढी गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण ज्वालामुखी गाउँपालिकामा २४ घरमा क्षति पुगेको छ भने धेरै घरहरु चर्किएका छन् । क्षति पुगेका २४ घर मध्ये ६ वटा पूर्ण क्षति भएको हो भने अन्य घरहरुमा सामान्य क्षति पुगेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए ।

यो पढ्नु भयो ?