पुनः सञ्चालनमा आएको सूर्यविनायक-रत्नपार्क द्रूत बस सेवा

साझा कथा । सञ्चालनमा आएर रोकिएको भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म चल्ने द्रूत बस सेवा पुनः सुचारू भयो ।

विशेषतः सार्वजनिक बसमा यात्रा गर्न यात्रुहरुलाई प्रोत्साहन गर्ने र सहजतासहित छिटो गन्तव्यमा पुर्याउने उद्देश्यले सो सेवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विशेष पहलमा सुरुवात गरिएको थियो । तर, तामझामका साथ सुरु भएको सेवा सञ्चालनमा विभिन्न समस्या देखिएपछि सञ्चालनमा आएको एक महिना नबित्दै रोकिएको थियो ।

यात्रुहरुका लागि प्रभावकारी हुनसक्ने उक्त सेवामा केही फेरबदल गरेर पुनः सञ्चालनमा ल्याइएको छ । जस अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपगरी कुल ३६ वटा बस सञ्चालन ल्याइएको छ । अब प्रत्येक बस तीन/तीन मिनेटमा सूर्यविनायकबाट छुट्ने छन् । जबकि, यसअघि पाँच/पाँच मिनेटको अन्तरमा बसहरू छुट्ने गथ्र्यो ।

बस छुट्ने समय तालिकामा पनि परिवर्तन गरिएको छ । यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुनेछ भने साँझ साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन हुनेछ ।

पहिलेको नियममा केही परिर्वत गर्दै अब धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने छ । यस्ता मुख्य जक्सनहरूमा कोन राखेरै तीन मिटर जति खालि ठाउँ छुट्याइन्छ । जसले गर्दा जाम हुने समयमा पनि उक्त ठाउँमा अन्य सवारी साधन जान पाउँदैनन् र द्रूत बस त्यहाँ गएर रोकिनेछ । यसले गर्दा जाम खुले लगत्तै द्रूत बस अगाडि जान पाउँछ । यसो हुँदा पहिलेको समस्या पुनः नदोहोरिने र द्रूत बस सेवा निरन्तर सञ्चालन हुने विश्वास गरिएको छ ।

सूर्यविनायकदेखि रत्नपार्कसम्मको यो द्रूत बस सेवा प्रभावकारी बने यसको सिको गर्दै अन्य ठाउँमा पनि लागू गर्न सकिने र काठमाडौंमा बढ्दै गएको सवारी चाप न्यूनीकरण गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ । कुनै पनि काममा भनेकै समयमा सहज किसिमले जानका लागि आफने निजी सवारी नभइ असम्भव जस्तो देखिएको उपत्यकाको समस्याको समाधान पनि द्रूत बस सेवाले गर्ने विश्वास छ ।

यो पढ्नु भयो ?