पौडेल र नेम्वाङमध्ये कसले मार्ला बाजी ? प्रचण्डलाई आपत्

साझा कथा । राष्ट्रपतिको चुनावमा पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबाट क्रमशः रामचन्द्र पौडेल र सुवास नेम्वाङ भिड्ने भएका छन् । शनिबार नेपाली काँग्रेसले वरिष्ठ नेता पौडेल र एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको रुपमा खडा गर्ने निर्णय गरेका छन् । संयोग यस्तो परेको छ कि राष्ट्रपतिको उमेदवारको रुपमा दुई जना पूर्व समामुखहरु आमुन्ने सामुन्ने भएका छन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए ।

राष्ट्रपतिमा प्रस्तावित पौडडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् । नेपालको संविधानको भावना र मर्म अंगाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने उनले बताए । ‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले भने ।

उता अर्का उम्मेदवार सुवास नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि जनताको राष्ट्रपति भएको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । संसद् भवनमा पुगेर उम्मेदवारी दर्तापछि उनले भने ‘जतिबेला राष्ट्रपति प्रणाली थिएन, हामीले संविधान बनाएर राष्ट्रपतीय प्रणाली व्यवस्था गरेको छौँ । त्यसभन्दा अगाडि निश्चित कुलको जेठो छोरा राष्ट्राध्यक्ष हुने प्रणाली थियो । तर, हामीले जुनसुकै कुलमा जन्मिएको छोरा या छोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौँ । अब जनताको राष्ट्रपति व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ ।’

केहि समयअघिसम्म एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई राष्ट्रपतिमा प्रस्ताव गर्दा नेम्वाङ भए सजिलो हुन्थ्यो भन्ने प्रचण्ड अहिले धर्मसंकटमा फसेका छन् ।

पौडेल र नेम्बाङ नेपाली राजनीतिमा सँगसँगै उदाएका नेताहरु हुन् । दुवैले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आएका छन् । रामचन्द्र पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित भए भने ०७४ सालमा पराजित भएका थिए । सुवास नेम्बाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य थिए । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलामबाट निर्वाचित भए ।

यी दुई नेताबीच अर्को समानता भनेको पार्टीमा उनीहरु शालीन नेताका रुपमा चिनिन्छन् । उग्रता उनीहरुको विशेषता होइन भने अन्तरपार्टी समन्वयमा पनि मध्यमार्गीको भूमिका निर्वाह गर्छन् । दुबै नेता वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि सजिला पात्र हुन् । दुबै उमेदवारहरु प्रचण्डप्रति नरम छन् । माओवादी केन्द्र राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा पुगेपनि एमालेले नेम्बाङलाई नै राष्ट्रपतिको उम्मेदवार बनाएर माओवादीको भोट तान्ने रणनीति अपनाएको छ । यही विश्वासका आधारमा एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरिसकेको छैन । केहि समयअघिसम्म एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई राष्ट्रपतिमा प्रस्ताव गर्दा नेम्वाङ भए सजिलो हुन्थ्यो भन्ने प्रचण्ड अहिले धर्मसंकटमा फसेका छन् । पुस १० गते भएको सहमति अनुसार एमालेलाई सघाउने कि शुक्रबार मात्रै नयाँ गठबन्धनबाट प्रस्तावित पौडेललाई सघाउने ? प्रचण्डका लागि आगामी दुई साता कठिन छ ।

कसले मार्ला बाजी ?

काँग्रेस माओवादीसहितका पार्टीहरुले गठबन्धन गर्दै गर्दा एमाले अध्यक्ष केपी ओलीले ८ दलीय गठबन्धन भनिहाल्न नहुने र चिया खान पुगेकाहरु सबैले काँग्रेस उमेदवारलाई भोट नदिने विश्वास गरेका छन् । उता काँग्रेस संसदको अंकगणितको आधारमा जीत आफूहरुकै हुनेमा विश्वस्त छ । राष्ट्रपतिको चुनाव हुने दिने फागुन २५ सम्म अर्को कुनै चमत्कार भएन भने काँग्रेसका उमेदवार पौडेल राष्ट्रपति बनेर शितलनिवास छिर्नेछन् । ओलीले दाबी गरेअनुसार गठबन्धनमा सामेल भएका सबै दलले पौडेललाई मत नदिए नेम्वाङको भाग्य चम्किन सक्छ ।

कसरी चुनिन्छन् राष्ट्रपति ?

संविधानको धारा ६२ मा गरिएको व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । सङ्घीय संसद्‌का सदस्य र प्रदेशसभाका सदस्यको मतभार सङ्घीय कानुनअनुसार फरक हुने व्यवस्था संविधानमा छ । अहिले राष्ट्रपतिको निर्वाचनमा २०६८ को जनगणना अनुसार मतभार कायम गरिनेछ ।

अनुसार मतभार निकाल्दा सङ्घीय संसद्‌मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्‌तर्फको मतभार हुनेछ । त्यस्तै प्रदेशसभातर्फका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार हुनेछ । अहिले प्रतिनिधिसभामा कुल २७५ सदस्य र राष्ट्रियसभामा कुल ५९ सदस्य गरी सङ्घीय संसद्‌मा जम्मा ३३४ सदस्य छन् ।

उक्त सङ्ख्याले पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्यालाई भाग गरिन्छ । त्यसरी आएको भागफललाई फेरि १,००० ले भाग गर्दा आउने भागफल नै सङ्घीय संसद्तर्फका एक सदस्यले मत हाल्दा प्राप्त हुने मतभार हुन जान्छ । विसं २०६८ सालको जनगणना अनुसार गरिएको त्यस्तो गणनाका आधारमा अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ रहेको छ । त्यस्तै सातवटा प्रदेशसभामा गरी कुल ५५० जना सदस्य छन् । विसं २०६८ सालको जनगणनाअनुसार गरिएको गणनाका आधारमा अहिले प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
संघीय संसद र प्रदेश सभातर्फ प्राप्त सिट संख्याका आधारमा अहिले पौडेलका पक्षमा बहुमत देखिन्छ ।

यो पढ्नु भयो ?