साझाकथा काठमाडौँ । कास्कीको मादी गाउँपालिका भएर बग्ने मादी नदीमा निर्माणको प्रस्ताव गरिएको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

कुल ५ अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा कृषि विकास बैंकसमेतले सहवित्तीयकरणमा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । यस मध्ये एनएमबी बैंकले २ अर्ब ५० करोड र कृषि विकास बैंकले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो । आयोजनामा संस्थापक लगानीकर्ताहरूको स्वपुँजी र प्राथमिक सेयर निष्काशन (आइपिओ) मार्फत बाँकी १ अर्ब ६० करोड ५० लाख रुपैयाँ उठाइने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रमका बीच आयोजना प्रवर्द्धक बज्र इनर्जी भेन्चर्स प्रालिका अध्यक्ष जगतबहादुर पोखरेल र एनएमबी बैंकका दिनेश दुलाल र कृषि विकास बैंकका प्रमुख रिलेशन म्यानेजर किशोर बजगाइँले सहवित्तीयकरण ऋण लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रको आदानप्रदान भने प्रवद्र्धक कम्पनीका अध्यक्ष पोखरेल र लगानीकर्ता बैंकहरूको तर्फबाट नेतृत्वकर्ता एमएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले गरेका थिए ।

आयोजनाको क्षमता वृद्धि गरी ३१ मेगावाट पुर्याउने प्रक्रियामा रहेको र क्षमता बढ्पछि यसको लागत ६ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । मादी गाउँपालिका–४ स्थित हरियोस्वारा नजिक मादी नदीमा ४३ मिटर लामो बाँध बनाएर ४ हजार ५९३ मिटर लामो सुरुङमार्फत विद्युत्गृहमा पानी लगिने छ । आयोजनाको विद्युत्गृहमा २ वटा फ्रान्सिस भर्टिकल टर्वाइनमार्फत विद्युत् उत्पादन गरिने छ । आयोजनाको विद्युत् लेखनाथ सबस्टेशनसम्म १३२ केभि ७.२ किमी लामो सिंगल सर्किट प्रसारण लाइनबाट जोडिने छ ।
कार्यक्रममा पूर्व अर्थ मन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल का अध्यक्ष गणेश कार्की तथा आयोजना सम्बद्ध विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

