बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न

साझाकथा, काठमाडौ । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले  काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । प्राधिकरणमा विमानहरुको रेगुलेसन तथा सुरक्षा सम्बन्धी विभागसमेत हेर्दै आएका कर्णले भरतपुरमा ७२ सिटको जहाज कसरी ल्याउन सकिन्छ भनेर परीक्षण उडान गरिएको बताए । उनले विमानको परीक्षणका क्रममा दुई चालकबीच भएको कुराकानी, भ्वाइस रेकर्ड, इन्जिनको अवस्था, ब्रेकिङ्ग एक्सन जस्ता विषयको अध्ययन फ्लाइट रेकर्डरका माध्यमबाट हेरेर रिपोर्ट तयार गरेपछि मात्रै उडान परीक्षण सफल भयो कि भएन भन्न सकिने बताए ।

हाल बुद्ध एयरको ४२ सिट क्षमताको जहाजले मात्रै काठमाडौं–भरतपुर र पोखरा–भरतपुर उडान गर्दै आएको छ । अब ७२ सिट क्षमताको जहाज पनि चलाउने तयारी अनुसार परीक्षण उडान गरिएको हो । बुद्धले हाल भरतपुरबाट दैनिक ७ उडान गर्दै आएको छ । बुद्धको ठूलो जहाजले नियमित उडान सुरु गरेपछि भाडा केही घट्ने अपेक्षा गरिएको छ । भरतपुर काठमाडौंको हवाई यात्रा जम्मा २० मिनेटको हुने गरेको छ ।

यो पढ्नु भयो ?