चितवन — भरतपुर महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले आउँदो आर्थिक वर्ष ०८२र८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट पेस गरेका छन् । चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म पुँजीगततर्फ ३८ प्रतिशत र चालुतर्फ ६९ प्रतिशत गरी समग्रमा कुल ५३ प्रतिशतको हाराहारीमा मात्रै बजेट खर्च भएको नगरसभामा उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए ।
आउँदो आर्थिक वर्षका लागि आन्तरिक आय चालु आर्थिक वर्षको अनुमानजस्तै १ अर्ब ८० करोड रुपैयाँ नै रहने छ । महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी महानगरपालिकामा तयार भएका पूर्वाधारको वृत्तचित्र बनाउन ३० लाख रुपैयाँ छुट्याइएको छ । महानगरपालिकाले वडास्तरीय आयोजनाहरुमा न्यूनतम ३ करोड २१ लाख रुपैयाँ र अधिकतम ३ करोड ४० लाख रुपैयाँको सिलिङ राखेर ९४ करोड ७८ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सहरी पूर्वाधारतर्फको बजेट १४ करोड रुपैयाँ रहेको छ ।
शिक्षातर्फ १० करोड ५० लाख रुपैयाँ र कृषितर्फ ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरसभामा उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए । सहरभित्रका सडक खाल्डाखुल्डीरहित बनाउनका लागि नियमित मर्मत सम्भारतर्फ थप ४ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । स्वास्थ्य सेवातर्फको बजेट ३ करोड रुपैयाँ रहेको छ । बजेटले महानगरलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको उपमेयर अधिकारीले बताए ।

