मर्यादापालकको सहायतामा रोस्टम पुगेका भण्डारीको मार्मिक सम्बोधन (भिडियोसहित)

Featured Video Play Icon

साझा कथा । ग्यास जलनपछि स्वास्थ्यलाभ गरेका सांसद चन्द्रकान्त भण्डारीले बुधबार पहिलो पटक प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरे ।

सम्बोधनका लागि रोस्टम माथि उक्लन भण्डारीलाई सास्ती नै भयो । सो क्रममा उच्च सावधानी अपनाउदै मर्यादापालकहरुले उनलाई रोस्टमसम्म पुर्याएका थिए । रोस्टममा पुगेपछि मात्रै मास्क खोलेका उनले अत्यन्तै भावुक हुँदै आफ्नो छोटो कहानी पनि सुनाए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुँदै गर्दा उनले आफ्नो भोगाई र पीडाप्रति ध्यानाकर्षण गर्दै आम नागरिकहरुले आफूले जस्तै जलनबाट पाइरहेको पीडा र समस्या समाधान गर्नका लागि सरकारसँग आग्रह पनि गरे । जसका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न उनको माग थियो ।

गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर फर्किएका सांसद भण्डारीले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए । उनले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिए । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले बताए ।

उनले भने, “गाउँ-गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र के गर्न हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौं । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।” सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिनुभयो । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ठ रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।

हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उनले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे । उनले खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

यो पढ्नु भयो ?