यार्सागुम्बा सङ्कलन शुरु

राससमनाङ | मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ।  नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट यार्सागुम्बा सङ्कलन थालिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय हो।

नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताए । नार्पाभूमिको नार र फू संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी यस्तो निर्णय गरिएको हो। जिल्लाका अन्य हिमाली भेगमा वैशाखदेखि र नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ।

यार्सागुम्बा सङ्कलनकर्ताबाट सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई जिल्लाका भएमा प्रतिव्यक्ति रु २० हजार र जिल्लाबाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति रु ४० हजारका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ ।  चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ। मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा बढी मात्रामा पाइन्छ।

यो पढ्नु भयो ?