क्या खुशी लाग्यो – पाटन अस्पतालमा विरामीले सवारी पार्किङ गर्दा अब शुल्क तिर्न नपर्ने भएछ । सरकारी अस्पतालमा पार्किङको शुल्क लिएर विरामीलाई ठक्दै आएको पाटन अस्पतालले अबका दिनमा भने शुल्क लिन पाउने छैनन् ।
अस्पताल पुग्ने विरामीले गुनासो गरेपछि साझा कथाले सो सम्बन्धि रिपोर्टिङ गरेको थियो । ‘सानो कुरा’ कार्यक्रम मार्फत त्यहाँको ठेकेदारीप्रथाको पर्दाफास गरेको थियो ।
साझा कथाको समाचार प्रभावपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र नै काटेर सरकारी अस्पतालमा लिने गरिएको पार्किङ शुल्क तत्काल रोक्नका लागि अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले अस्पतालमा लेखेको पत्रमा भनेको छ – ‘स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुन बमोजिम सरकारी अस्पतालमा पार्किङ शुल्क लिन पाउँदैन तर अस्पतालले पार्किङ शुल्क उठाउने गरेको पाइयो । तसर्थ, कानुनको पूर्ण पालना गर्न÷गराउनु हुन सबैमा अनुरोध छ ।’ अस्पतालले लेखेको पत्रमा सरकारी अस्पताललाई मात्रै होइन निजी, सामुदायिक अस्पताल तथा प्रतिष्ठान र मेडिकल कलेजहरुलाई समेत पार्किङ शुल्क नलिन अनुरोध गरेको छ ।
यो पत्र बैशाख १३ गते बुधबार सम्पूर्ण अस्पतालहरुको नाममा काटिएको छ । तर, १४ गते विहानै हामी पाटन अस्पताल पुग्दा मन्त्रालयले दिएको निर्देशन भने अस्पतालले पालना गरेको पाइएन । अझै अस्पतालको पार्किङमा ठेकेदारीहरुको हालीमुहाली चलिनै रहेको छ ।
के अस्पताल ठकेदारले नै चलाइराख्ने हो ? गरिब नागरिक माथिको लुट मच्चाइराख्ने हो ? मन्त्रालयको निर्देशन समेत नमान्ने ठेकेदारी विरुद्ध अब कस्ले बोल्ने ? मन्त्रालयले तत्काल एक्सन लिने कि नलिने ? कि मन्त्रालय नै ठेकेदारहरुले चलाइरहेको छ ? हेर्न बाँकी छ ।

