साझा कथा । विश्वव्यापी उष्णता र तापमान वृद्धिसँगै पृथ्वीको प्राकृतिक बहावमा समस्या आउन थालेको छ । पृथ्वीको तापक्रम वृद्धिसँगै हिमालहरुमा हिउँ जम्न कम हुन थालेको छ भने समुन्द्र सतह बढ्दै गइरहेको छ । समुन्द्र सतह बढ्न थालेसँगै इन्डोनेशिया, माल्दिभ्स लगायतका मुलुकहरुको भविष्य समेत अन्यौलमा परेको अवस्थामा वैज्ञानिकहरु सूर्यबाट आउने तापलाई चिसो बनाउने प्रयासमा लागिरहेका छन् । विश्वको तापक्रम वृद्धि कम गर्न भन्दै वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका हुन् । सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ ।
यसबाट पृथ्वीमा घाम कम आउनेछ । यस प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ । कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन् । यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ ।
सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबो ज्वालामुखी विस्फोट भएपछि पृथ्वीको तापक्रम केही कम भएको थियो । २०औँ शताब्दीको उक्त सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटबाट आकाशमा ४५ किलोमिटरसम्म खरानी फैलिएको थियो । त्यसपछि १५ महिनासम्म पूरै विश्वको तापक्रम एक डिग्रीले कम भयो। यसै घटनाबाट प्रेरित भएर वैज्ञानिक पृथ्वीको तापक्रम घटाउने कोसिसमा लागेका हुन् ।
आकाशमा फैलिएको खरानीका कणले गर्दा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीको सतहसम्म पुग्न सकेको थिएन । सोही घटनाले वैज्ञानिकहरूमा नयाँ विचार जन्माएको छ । यदि सूर्य र वायुमण्डलको बीचमा कुनै चिजको एउटा पत्र तयार पार्ने हो भने त्यसले सूर्यको किरणलाई पृथ्वीसम्म आउनबाट रोक्ने वैज्ञानिकहरूले ठानेका छन् ।
सोलार इन्जिनियरिङ प्रक्रियामा वैज्ञानिकहरूले ठूला ठूला बेलुनको माध्यमबाट वायुमण्डलको उपल्लो हिस्सामा सल्फर डाइअक्साइडको स्प्रे गरेर सौर्य किरण छेक्ने योजनामा काम गरिरहेका छन् । सल्फरमा सूर्यका किरणलाई परावर्तन गर्न सक्ने गुण हुन्छ । त्यसैले वायुमण्डलमा यस्तो स्प्रे गर्नाले पृथ्वीमा चर्को घामबाट छुटकारा मिल्न सक्ने छ ।
वैज्ञानिकहरूले सल्फर स्प्रेका अतिरिक्त अन्य विधिको पनि खोज गरिरहेका छन् । त्यसमध्ये एउटा हो स्पेस सनसेड तयार गर्नु । यो प्रक्रियामा अन्तरिक्षमा ऐनाजस्तै कुनै चिजका माध्यमबाट सूर्यको किरणलाई परावर्तन गरी अर्कोतर्फ मोडिन्छ।

