१६औँ सगरमाथा दिवसः सर्वोच्च शिखरमाथि मानवको कीर्तिमानै कीर्तिमान

साझा कथा । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।

दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार आज बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिनेछ । ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो ।

यसैगरी, सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमअन्तर्गत सोलुखुम्बुको खुम्जुङ र काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । खुम्जुङमा हुने विशेष कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको एनएमएका महासचिव लम्सालले जानकारी दिए । खुम्जुङको औपचारिक कार्यक्रम सकेर एनएमएले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ । जुन १ तारिखमा काठमाडौँमा कार्यक्रम गरिने छ । आरोहीको सम्मानमा र्याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिनेछ ।

नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन् । हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ ।

सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । यस्तै, पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले यही याममा दुईपटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका हुन् । दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । यही जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका हुन् ।

पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म छ सय बढीले सगरमाथाको आरोहण गरेका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कुल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिख)को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ ।

यो पढ्नु भयो ?