नेपाल चिनाउँदै खाम्सुङे काष्ठकला

हेमनाथ खतिवडा

दिनको उज्यालो रहेसम्म काठमा बुट्टा बनाउँदैमा फुर्सद हुँदैन । सुरुआत पनि उस्तै हुन्छ उनको । मिर्मिरेसँगै सुरु हुन्छ जीवनको दैनिकी । पहिले त बेलुकासम्म मात्र काम हुन्थ्यो । अचेल त कहिलेकाहिँ राति पनि बत्ती बालेर काम गर्छन् उनी अर्थात् खाम्सुङ घले ।

देख्दा सामान्य लाग्छन् खाम्सुङ तर उनको कला असामान्य छन् । खाम्सुङले बुनेका बुट्टेदार झ्याल, ढोका, टेबुल र दराजका बुट्टा देखेर को लोभिन्न ? स्वदेशीमात्र होइन, विदेशी झनै लोभिन्छन् । उनको काठमा बुट्टा बनाउने कला देखेर ठूलै रकम दिएर खरिद गर्छन् ।

‘नेपाली काष्ठकलाले देशको परिचय पनि विदेशिने हो । नेपाल र नेपाली काष्ठकलाको गौरव र प्रतिष्ठा बढाउन यसकारण पनि सरकार लाग्नु पर्छ, वातावरण सहज बनाइदिनु पर्छ’, काष्ठकलाकर्मी खाम्सुङ घले भन्छन् ।

कलात्मक बुट्टाले सजिएका झ्याल अनि ढोका राखेर घर बनाउन धेरैले रुचाउनु खाम्सुङका लागि खुसी हो । उनको यस्तो प्रतिभा हेर्न देश/बिदेशबाट आएका पर्यटकहरू निकै झुम्मिने गर्छन् । राजधानी तथा देशका बिभिन्न सहरबाट आएका पर्यटकले काष्ठकलाका सामानहरू लैजान खोज्छन् ।

काष्ठकला मल्ल कालदेखि सुरु भएको मानिन्छ । आकर्षक स्रोत बनेको छ यो । राजधानीका कतिपय झ्याल, ढोका र टुँडालमा काष्ठकलाका विविध नमुना देख्न सकिन्छ । नेपाली काष्ठकलाको प्रयोग पुराना मन्दिर महल तथा दरवारहरूमा मात्र होइन अहिले व्यक्तिका घरघरमा पनि उपयोग भएको पाइन्छ ।

रसुवाको गाेसाइकुण्ड गाउँपालिका –५ भार्खुका खाम्सुङ घलेलाई हिउँदमा (घर बनाउने मौसम) झनै फुर्सद हुँदैन । कहिले धैबुङ्ग पुग्छन् त कहिले लाङटाङ अनि कहिले टिमुरेसम्म । कामको सिलसिलामा उनी जिल्लाभर डुलिरहन्छन् । ‘काष्ठकलाबाट मोहित सबैलाई लाग्छ, यस्तै बुट्टेदार झ्याल, ढोका र टुँडालले सजाएर घर बनाउन’, खाम्सुङ भन्छन्, ‘मैले कुँदेका बुट्टेद्धार झ्याल, ढोका र टुँडालहरू जिल्लाका घरहरूमा मात्र होइन, मुलुकका थुप्रै बौद्ध गुम्बाहरूमा पनि पुगेका छन् ।’

नेपालबाट इटाली, अमेरिका, जर्मनी, जापान र खाडी मुलुकमा नेपाली काष्ठकलाका सामग्रीहरू निर्यात भइरहेका छन् ।

हेर्दा आकर्षक लाग्ने बुट्टा काट्न भने कठिन हुने खाम्सुङ भनाइ छ । ‘बिभिन्न थरीका बुट्टाहरू हुन्छन् । खापा सहितको एउटा ढोका तयार गर्न २ जना मजदुरलाई १७ दिनसम्म लाग्छ’, उनी सुनाउँछन् । हाम्रो देशमा यस्ता कलाको उपेक्षा गरिएकोमा भने उनको निकै दुखेसो छ ।

१४ महिनासम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसेर आफ्नै मुलुक फर्किए खाम्सुङ । उनी मलेसियामा यस्ता कलात्मक क्षेत्रमा काम गर्नेहरूलाई त्यहाँको सरकारले सीपको कदर गरेर सम्मान गर्ने उनको भनाइ छ । ‘तर नेपालमा सहुलियत त परै जाओस्, कुहिएर खेर जाने काठ पनि उचित रोयल्टी तिरेरसमेत सदुपयोग गर्न पाइँदैन’, उनी गुनासो गर्छन् ।

राम्रो खालको झ्याल बनाउन २ जनालाई १ महिनासम्म लाग्छ । उनले एउटा झ्यालबाट २५ हजारदेखि ४० हजार रुपैयाँसम्म लिएका छन् । दराज ५० हजार रुपैयाँसम्ममा बिक्री गर्छन् उनी । काष्ठकलाको आम्दानीबाट खाम्सुङ परिवारको सबै गुजारा चल्छ । अन्य आम्दानीको स्रोत छैन । ३ छोरा ३ छोरी पढाउन यही आम्दानीबाट चलेको छ । सधैं काम आइरहँदैन ।

‘हामीले जानेको पेशाको आधुनिकीकरण आवश्यक छ । राज्यले उचित संरक्षण गर्न नसके यस्ता कलाहरू एकादेशको कथा बन्न सक्छन्’, उनी भन्छन्, ‘मजस्ता बुट्टा कुँद्नेहरू जिल्लामा ७/८ जना थिए । उनीहरू गुजारा नचलेपछि पलायन हुन पुगे ।’

काष्ठकला मल्ल कालदेखि सुरु भएको मानिन्छ । आकर्षक स्रोत बनेको छ यो । राजधानीका कतिपय झ्याल, ढोका र टुँडालमा काष्ठकलाका विविध नमुना देख्न सकिन्छ ।

आफू मलेसिया पुगेर पनि नेपालीको काम र त्यस देशका नागरिकले गर्ने व्यवहार देखेर फर्किएको खाम्सुङको भनाइ छ । उनी भन्छन्, ‘नेपाल सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी श्रम र सीपको कदर गर्न सके यस्ता प्रतिभाको सम्मान मात्र होइन, यस्ता प्रतिभा पलायन हुनबाट रोकेर स्वदेशमा नै रोजगारी दिन सके राम्रो हुन्छ ।’ तर, दुःखका साथ भन्नुपर्छ, काष्ठकला केवल कला कर्मकै रूपमा सीमित छ ।

रसुवामा यस्तो पेशाबाट धेरैले बिदा लिए । कारण सरकार नै हो भन्दा अत्युक्ति नहोला । जिल्लामा निकुञ्ज नीति परिवर्तन हुन नसकेर समस्या छ । ‘बाहिरबाट जेजस्ता सामानहरू पनि ल्याउन पाउने तर यस जिल्लाबाट उत्पादित यस्ता सामानहरू लाङटाङ राष्ट्रिय निकुञ्जले बाहिर लैजान रोक्छ त्यसैले हाम्रो सीपको कदर भएको छैन’, उनी यथार्थ सुनाउँछन् ।

केही ठूला अफिसरले भने खाम्सुङले बनाएका बुट्टेदार काष्ठकलाहरू राम्रो लागेर लुकाएर लगेको स्थानीय सुनाउँछन् । कर तिरेर यहाँका काठ लिन र उत्पादित सामानहरू देश/विदेशमा निर्यात गर्न दिनुपर्ने काष्ठकला उत्पादक र फर्निचर उद्योगहरूको माग छ । तर आफ्नै जमीनकोे काठबाट बनाएका सामान पनि निकुञ्जले बाहिर लैजान नदिएको उनीहरूको गुनासो छ ।

१३ वर्षे कलिलो उमेरदेखि काठ चिर्ने काम गर्दै आएका खाम्सुङ भन्छन्, ‘यसरी बुट्टा कुँद्न सजिलो छैन । कहिलेकाहिँ त छिनो चिप्लिन्छ अनि बुट्टा नै चिप्लिन्छ । चाहेको जस्तो बुट्टाहरू बनाउँदा अरू बुट्टा फुस्केर बिग्रने डर पनि हुन्छ यस्तोमा पहिले भए पूरै काठ फाल्नु पथ्र्यो । अहिले भने बिग्रिहालेमा फेभिकलले टाँस्न मिल्छ । सबै मिहेनत भने खेर जाँदैन ।’

रसुवाको पर्यटकीय स्थलहरू सदैव चिसो हुने भएकाले यहाँ काठैकाठले घर बनाउने र बुट्टेदार झ्याल, ढोका र टुँडालको प्रयोग भएका घर रसुवामा प्रसस्त देख्न पाइन्थ्यो ।

खाम्सुङका साथमा चेला कामी लोप्चन ६ वर्षदेखि उनीसँगै काम सिकिरहेका छन् । सबै काम सिकेकाले कामका लागि सजिलो भएको छ । एकजनाले चिन्ह संकेत गर्ने र अर्कोजनाले बुट्टा काट्ने गर्न सजिलो हुन्छ । खाम्सुङ ढोकामा ४ प्रकार र झ्यालमा ३ प्रकारका बुट्टा बनाउँछन् ।

रसुवाको पर्यटकीय स्थलहरू सदैव चिसो हुने भएकाले यहाँ काठैकाठले घर बनाउने र बुट्टेदार झ्याल, ढोका र टुँडालको प्रयोग भएका घर रसुवामा प्रसस्त देख्न पाइन्थ्यो । २०७२ वैशाखको भूकम्पले धेरै घर तहसनहस पारेपछि यस्तो दृष्य कमै देख्न पाइन्छ । नेपालबाट इटाली, अमेरिका, जर्मनी, जापान र खाडी मुलुकमा नेपाली काष्ठकलाका सामग्रीहरू निर्यात भइरहेका छन् ।

‘नेपाली काष्ठकलाले देशको परिचय पनि विदेशिने हो । नेपाल र नेपाली काष्ठकलाको गौरव र प्रतिष्ठा बढाउन यसकारण पनि सरकार लाग्नु पर्छ, वातावरण सहज बनाइदिनु पर्छ’, उनी भन्छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?