माओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबारदेखि गोरखा–२ मा मतदाता भेटघाटमा व्यस्त छन् । भेटघाटका क्रममा आफ्नो क्षेत्रका ४० भन्दा धेरै टोल र बस्तीमा पुगेका दाहालले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् ।
कुदाकुदको यही मेसोमा अजिरकोट गाउँपालिका–३ भच्चेकमा कान्तिपुरकर्मी जनकराज सापकोटा र हरिराम उप्रेतीले दाहालसँग गरेको कुराकानीको सारसंक्षेप :
धेरैमा एउटै जिज्ञासा छ, तपाईंले चितवन किन छाड्नुभयो ?
चितवन किन छाड्नुभयो भन्ने प्रश्न नै मलाई अलिकति अप्ठ्यारो लाग्छ । मैले चितवन छाडेको होइन, गोरखा आएको चाहिँ हो । चितवनमा मेरो घर छ, चितवनप्रतिको जिम्मवारी पनि कायमै छ । यो निर्वाचनमा गोरखा आएको पक्कै पनि हो । गोरखा आउने कुरा अहिलेको मात्र थिएन, मैले रोल्पा र काठमाडौंपछि सिरहा जाँदै गर्दा पनि गोरखाका साथीहरूले तपाईं एकचोटि गोरखा आउनुपर्यो भनिराख्नुभएको थियो । अहिले त्यो संयोग जुर्यो ।
स्थानीय तह निर्वाचनमा माओवादीले अघिल्लोपल्टभन्दा धेरै मतान्तरले भरतपुरको प्रमुख पद जित्यो । त्यति राम्रो परिस्थिति हुँदाहुँदै पनि तपाईंले चितवन छाडेकामा टीकाटिप्पणी भइरहेका छन् नि ?
यो विषयमा धेरै खालका टीकाटिप्पणी आएका छन् । मेरो कुरा एकदम सरल छ । चितवनमा निर्वाचन परिणाम नराम्रो भएको वा नराम्रो हुने आशंकाले गोरखा आएको विल्कुलै होइन । जतिबेला गोरखा जाने निर्णय गरें, त्यतिबेला चितवनबाट गठबन्धनका सबै जनप्रतिनिधि, पार्टीका नेताहरू र प्रतिपक्षका जनप्रतिनिधिसमेत बालुवाटारमा गठबन्धनको बैठक बसेको ठाउँमा आएर तपाईंले चितवन छाड्न हुँदैन, हामी विजय सुनिश्चित गराउँछौं भन्नुभएको थियो । स्थानीय तह निर्वाचनको परिणाम राम्रो थियो, संघीय र प्रादेशिक निर्वाचनमा पनि राम्रो हुने कुरामा कुनै शंकै थिएन । तर मैले एउटा निर्वाचन क्षेत्र वा एउटा जिल्लामा मात्र केन्द्रित भएर काम गर्ने कहिल्यै सोचिनँ । हिजो क्रान्ति गर्दा, जनयुद्धको कमान्ड गर्दा पनि म देशका विभिन्न भागमा घुमें ।
सबैतिरका जनतासँग घुलमिल भएँ । पहिलोचोटि निर्वाचन लड्दा पनि आफ्नो गृहजिल्लाभन्दा पनि आन्दोलनको एउटा केन्द्र रोल्पा र जनआन्दोलनको केन्द्र काठमाडौं छानें । यी दुईलाई जोडेर अब शान्तितिर देशलाई लैजानुपर्छ भन्ने मान्यताबाट निर्देशित भएर त्यसो गरें । मधेसमा एक खालको आन्दोलन, विद्रोह र विग्रहको संकेत देखिएका बेला मधेसका जनता र पहाडका जनतालाई जोडेर देशलाई अझ एकताबद्ध गर्न आवश्यक छ भनेर मधेसको केन्द्र सिरहा पुगें र निर्वाचित भएँ । त्यो एउटा सन्देश थियो । अन्त्यमा चितवन जानैपर्थ्यो । त्यहाँका जनताको अपेक्षा हुनु स्वाभाविक भएकाले म गएँ ।
गोरखासँग पनि मेरो गहिरो सम्बन्ध छ । मैले २०३३/३४ सालमा आरुघाटमा अध्यापन गरें । पञ्चायतविरोधी आन्दोलनका बेला पार्टीमा पूर्णकालीन भएँ । त्यतिबेला मैले गोरखामै बसेर भूमिगत रूपमा हेडक्वार्टर चलाएँ । युद्धको तयारीको सम्पूर्ण कुरा पनि गोरखाबाटै भयो । मैले र मुख्य नेताहरूले सिरानचोकमा पहिलो फौजी तालिम लिएका हौं । गोरखाका जनतादेखि बुद्धिजीवी, गठबन्धन र बाबुरामजीले पनि आउनुपर्छ भनेपछि म आएँ । अब सुशासन र आर्थिक समृद्धि नै मेरो बाँकी जीवनको लक्ष्य छ । त्यो गोरखाबाट गर्न सक्छु भन्ने विश्वास छ ।
विगतमा तपाईंलाई मत दिएका रोल्पादेखि कीर्तिपुरसम्म र सिरहादेखि चितवनसम्मका मतदाताको गुनासो भने तपाईंले आफ्ना प्रतिबद्धता अलपत्र पारेर गोरखा जानुभयो भन्ने छ नि ?
यो कुरा बिल्कुल झूटो र गलत हो । यो खाली प्रचण्डलाई र प्रचण्डले गरेका कामलाई मिनिमाइज गर्न चाहने नियोजित प्रचारबाजीबाहेक केही पनि होइन । तपाईं चितवन गएर हेर्नुस्, त्यहाँ अर्बौंका परियोजना भएका छन् । त्यहाँको भौतिक पूर्वाधार वा शिक्षा, स्वास्थ्यको क्षेत्रमा गरिएका काम असाधारण र अभूतपूर्व भयो भन्ने आमजनताको भनाइ छ । सिरहामा पनि स्वास्थ्य, भौतिक पूर्वाधार र खानेपानीको क्षेत्रमा गरिएका परियोजना जनताले कहिल्यै बिर्सने छैनन् । जहाँ म गएको छु, त्यहाँका जनताले मलाई विकास र भौतक पूर्वाधारमा राम्रो गरेको भनेर बोलाइराखेका छन् ।
गोरखामा तपाईंलाई भावी प्रधानमन्त्रीका रूपमा कार्यकर्ताबाट चित्रण भइरहेको देखियो नि ?
मैले यो निर्वाचनलाई आर्थिक विकास र क्रान्तिको एउटा नयाँ सुरुवात गर्ने अभियानका रूपमा लिएको छु । आर्थिक क्रान्ति भएन भने राजनीतिक परिवर्तन दिगो हुँदैन भन्ने चिन्ताका साथ लागिरहेको छु । बाबुरामजीले सार्वजनिक समारोहमा भन्नुभएको छ, मेरोभन्दा धेरै प्रतिशतले जित्नुपर्छ भनेर । नेपाली कांग्रेसका नेताहरूले पनि त्यस्तै भनिराख्नुभएको छ । अब परिणाम के हुन्छ भन्ने कुरा त पछि देखिने कुरा । देशभर घुम्दा जनताले मलाई भावी प्रधानमन्त्रीका रूपमा चित्रण गरिरहेको अनुभूति गरेको छु । एकचोटि फेरि यो देशको नेतृत्व, आर्थिक विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरे हुन्थ्यो भन्ने जनभावना मैले सर्वत्र अनुभूत गरेको छु ।
तस्वीरहरू : अंगद ढकाल/कान्तिपुर
एकथरी मान्छेलाई यो सुन्न फेरि गाह्रो पनि भएको होला तर मैले भन्ने गरेको छु– मेरा लागि प्रधानमन्त्री नै मुख्य कुरा हैन । त्यो रेसमा मैले आफूलाई राखिराखेको छैन । प्रधानमन्त्रीलाई मैले मुख्य ठानेको भए गएको पाँच वर्षमा म प्रधानमन्त्री हुने पूरै सम्भावना मात्र होइन, सबै आधार र प्रमाण थियो तर मैले देशको राजनीतिक स्थिरता र समृद्धि मुख्य कुरा हो भनें । अहिले पनि राजनीतिक स्थिरता, आर्थिक विकास र आर्थिक क्रान्तिमा फड्को हान्नैपर्छ भन्नेमा छु । सुशासन र समृद्धि मुख्य कुरा हो, प्रधानमन्त्री मुख्य हैन । तर, प्रधानमन्त्री बन्नुपर्ने अवस्था आइपर्यो भने मैले त्यसलाई जीवनको एउटा करिब–करिब अन्तिम अवसर ठानेको छु । केही चिज यो देशलाई दिएर जानुपर्छ भन्नेचाहिँ फेरि भित्र छ, हुँदै नभएको होइन ।
चुनावपछि गठबन्धनबाट तपाईं नै प्रधानमन्त्री हुने भन्ने विषयमा केही कुरा भएको छ ?
भोलिको सरकार कस्तो हुने, कसरी बनाउने भन्नेबारेमा गठबन्धनभित्र औपचारिक र ठोस रूपमा कुरा भएको छैन तर अनौपचारिक रूपमा साथीहरूले छलफल गर्दा तपाईंले भनेजस्तो कुरा असम्भव छैन भन्ने देख्छु ।
भनेपछि चुनावपछिको समीकरणमा फेरबदल आउँदैन भन्नेमा ढुक्क हुन सकिन्छ ?
चुनावपछि पनि यो गठबन्धन जान्छ भन्ने कुरामा हामीहरू करिब–करिब विश्वस्त छौं ।
करिब–करिब भन्नुभयो नि ?
होइन, त्यो केही प्रतिशत त राख्नुपर्यो नि । चुनाव छ, चुनावको मुखमा भन्दाखेरि त त्यसरी भन्नुभएन भनेर मात्र हो तर हामी विश्वस्त छौं ।
स्थानीय तह चुनावमा एउटा फरकखाले प्रवृत्ति पनि देखिएको थियो । देशभरि स्वतन्त्र उम्मेदवार उठ्ने र कतै–कतै जित्ने पनि भयो । अहिले पनि स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । सँगसँगै मुख्य दलका शीर्ष नेतालक्षित भएर सामाजिक सञ्जालमा ‘नो नट अगेन’ क्याम्पेन सुरु भइरहेको छ । तपाईंले यो दृश्यलाई कसरी हेर्नुभएको छ ?
मैले यसलाई दलहरूका निम्ति चुनौती र अवसरका रूपमा हेरेको छु । स्वतन्त्र भएर हुनेचाहिँ होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन । तर पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठुल्ठूला युगान्तकारी परिवर्तनमा असाधारण भूमिका खेले, उनीहरूलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापि राम्रो होइन । यो झन्डैझन्डै पानीको फोकाजस्तो हो । यस्सो देखा पर्छ, जान्छ ।
दलहरूका अगाडि स्वतन्त्रहरूले प्रतिस्पर्धा गर्ने भन्ने कुरा दिगो हुने पनि होइन । यो टिक्ने कुरा पनि होइन । मैले स्वतन्त्र भएर चुनाव लडेका र जितेका काठमाडौं वा धरानकालाई लोकतन्त्रकै नयाँ फूल भनेर हेर्नुपर्छ भनेको छु । मैले नकारात्मक टिप्पणी गरेको छैन तर दलहरूलाई यो अवसर पनि हो । स्वतन्त्रले अलिकति दलहरूलाई सच्चिन प्रेरित गरेको पनि हो । त्यस अर्थमा मैले अवसर ठान्छु । स्वतन्त्रले देशलाई अराजकतातिर, कता हो कता अँध्यारोतिर लाने खतरा पनि छ । त्यसकारण चुनौती पनि हो ।
स्वतन्त्रका अभियन्ताहरू र सामाजिक सञ्जालका अभियन्ताहरूले तपाईंहरू हाम्रा निम्ति बीसौं वर्षसम्म लड्नुभयो, अब तपाईंहरू ७०/८० वर्ष पनि हुनुभयो, तपाईंहरू विश्राम गर्नुस्, नयाँ पुस्तालाई दिनुस् भनेका छन् । यसमा केही भन्नुहुन्छ ?
त्यो कुरा उमेरले निर्धारण गर्ने होइन, विचार र स्पिरिटले, मनोबल, दृष्टिकोण, भिजन र मिसनले निर्धारण गर्ने कुरा हो । हामीले शताब्दी पुरुष भनेर सत्यमोहन जोशीलाई १०३ वर्ष हुँदा पनि उचित सम्मान गर्यौं किनकि उहाँको योगदान र सय वर्षपछि पनि उहाँले जुन स्पिरिट देखाउनुभयो, त्यो युवाको भन्दा कम थिएन । युवा फ्रस्टेटेड देखिने, डिप्रेस्ड देखिने तर सय वर्ष कटेको मान्छे गतिशील देखिने । त्यसकारण यो विचार र स्पिरिटसँग सम्बन्धित कुरा हो । त्यसैले रेस्ट लिनुस् भनेर हुने कुरा होइन । त्यसलाई उहाँहरूले आफ्नो कर्मद्वारा, योगदानद्वारा, देश, जनता र इतिहासप्रति आफ्नो लगानीद्वारा विस्थापित गर्न सक्नुपर्छ ।
तिमीहरूले हामीलाई बाटो छाडिदेऊ भन्नु राजनीतिक कुरा होइन । आफू सक्रिय भएपछि स्वतः जनताले मान्छन् । छोड, नो नट अगेन भन्ने हो ? जसले देशमा यस्तो परिवर्तन र समृद्धिका निम्ति भूमिका खेले, उनीहरूलाई ह्युमिलियट गर्ने ढंगले आउनु कदापि पनि न्यायोचित छैन । त्यसकारण यो सफल पनि हुँदैन । म त अहिले ६८ वर्षमा हिँडिरहेको छु । ७० पुग्न पनि दुई वर्ष बाँकी छ । त्यसमाथि मैले अघि भनें नि, मुख्य कुरा विचार, स्पिरिट, मिसन र भिजनको कुरा हो । मलाई लाग्छ, यो देशलाई एकचोटि आर्थिक समृद्धिको अभियानतिर लैजाने भनेर जे–जस्ता कुराहरू मैले सोचेको छु, स्वतन्त्र भन्नेहरूको अहिलेसम्म त्यस्तो कुनै भिजन छ भन्ने मैले देख्न, हेर्न र बुझ्न पाएको छैन ।
प्रसंग बदलौं, मतदाता भेटघाटमा मुख्य के कुरा उठिरहेको छ ? तपाईंले के भन्दै आउनुभएको छ ?
आरुघाटबाट सुरु गरेर भच्चेकसम्म आइपुग्दा धेरै जनताले भौतिक पूर्वाधार र मुख्यगरी सडक सञ्जालको कुरा गरें । मैले भनेको पनि छु, म २०७४ मा चितवनमा चुनाव लड्दा जतासुकै धूलोबाहेक केही हुँदैनथ्यो । जता गयो धूलो मात्रै । अनि साथीहरूले पनि मलाई धूलो–धूलो भएको बाटोतिर लानुहुन्थ्यो ताकि धूलोलाई पिचमा बदल्न सकियोस् ।
अहिले म गोरखा आउँदा पनि फेरि धूलो, हिलो खाल्डाखुल्डी, ढुंगा भएको अप्ठेरो बाटो लगियो । मैले सबैतिर प्रतिबद्धता व्यक्त गरेको छु, चितवनजस्तै यहाँ पनि सडक सञ्जाललाई अपग्रेड गर्ने र कालोपत्र गर्ने कुरा उच्च प्राथमिकतामा रहन्छ । ठूला परियोजना छिटो सकियोस् भन्नेतर्फ पनि जनताको चासो छ । जस्तो कि, बुढीगण्डकी परियोजना देशकै अर्थतन्त्रलाई प्रभाव पार्ने गेमचेन्जर प्रोजेक्ट हो र त्यसलाई अघि बढाउन मैले विगतदेखि नै जोड गरेको छु । अहिले ऊर्जा मन्त्रालयबाट अगाडि बढाई पनि राखेको छु ।
त्यस्तै, गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालन गर्ने कुरा, पालुङटार विमानस्थल सञ्चालन गर्ने कुरादेखि बारपाकसम्म आउने बाटोलाई अपग्रेड गर्ने कुरा गरेको छु । आरुघाट हुँदै लार्के जाने बाटो स्तरोन्नति गर्नेदेखि जडीबुटी प्रशोधनलाई नयाँ उचाइमा उठाउने, पर्यटकीय विकासका लागि भौतिक पूर्वाधारबाट सर्किटहरू निर्माण गर्ने कुरा पनि भएको छ ।
आँपपिपल र गोरखा अस्पताललाई जोडेर केही प्रतिष्ठान वा मेडिकल कलेज बने हुन्थ्यो भन्ने चाहना पनि जनताको देखें । त्यतातिर पनि मेरो ध्यान छ । हेर्दा विद्यालय भवन धेरै राम्रो छ तर केही ठाउँमा विद्यार्थी छैनन् । मान्छेहरू बसाइँ सरेका छन् । त्यसकारण भौतिक पूर्वाधारलाई राम्रो गर्ने, शैक्षिक गुणस्तरलाई राम्रो गरेर शैक्षिक क्षेत्रमा पनि क्रान्ति गर्न सकिन्छ कि भन्ने सोच छ । यहाँका टारहरूमा सिँचाइ पुर्याएर राम्रो व्यवस्थापनका साथ कृषि परिवर्तन गर्न सकिन्छ कि भन्ने सोचेको छु । यहाँबाट आर्थिक विकासको एउटा नयाँ अभियान देशले देखाउन सकिन्छ भन्ने विश्वास छ ।
आरुघाटको भाषणमा तपाईंले मध्यपहाडी लोकमार्ग आफू प्रम हुँदा बनेको तर अहिलेसम्म काम नभएकाले यसमाथि विचार गर्छु भन्नुभएको थियो । त्यो भनेको के हो ?
मध्यपहाडी लोकमार्गको अवधारणा म पहिलोचोटि प्रम हुँदा अगाडि बढाइएको हो । मेरो सोच के थियो भने हिमालको फेदबाट एउटा पूर्वपश्चिम मध्यपहाडी राजमार्ग र तराईमा दुईवटा राजमार्ग बनाउने । त्यसो गर्यो भने आर्थिक विकासलाई गति दिन सकिन्छ । त्यसैगरी उत्तरदक्षिण करिडोर बनाउने ।
पश्चिमदेखि पूर्वसम्म सबैतिर यसो गरियो भने नेपाल एकताबद्ध पनि हुन्छ र राष्ट्रिय एकता पनि सुदृढ हुन्छ अनि आर्थिक विकासले पनि गति लिन्छ भन्ने हो । हुम्लाको स्याउ केही घण्टाभित्र काठमाडौं वा देशका कुनै पनि भागमा पुग्ने र तराईको अन्न सजिलै पहाडतिर पुग्ने वातावरण बन्छ भन्ने अवधारणा मैले त्यतिबेलै पेस गरेको हो । मध्यपहाडी लोकमार्ग अब करिब–करिब सम्पन्न हुने बाटोमा छ तर यहाँ बुढीगण्डकी परियोजनाको कारणले पनि केही काम अप्ठ्यारोमा परेको छ, त्यसलाई टुंग्याउनेतिर मेरो जोड छ ।
आसन्न चुनावपछि माओवादीको स्थिति कस्तो हुन्छ ? कति सिटको आकलन गर्नुभएको छ ?
कति सिट जितिएला भनेर अहिले मैले अनुमान त गरेकै छु तर सार्वजनिक गर्न चाहन्नँ । मलाई लाग्छ, हामी पहिलाको जस्तै तेस्रो तर निर्णायक शक्ति हुन्छौं । त्यसमा कुनै शंका छैन । मेरो रेसचाहिँ दोस्रो र निर्णायक हुनेमा छ ।
निर्णायक भन्ने शब्दले अब सत्ता गठबन्धनको केन्द्रमा तपाईं हुनुहुन्छ भन्ने संकेत गर्यो हैन ?
त्यो जनमतले संकेत गर्यो, मैले गरेको होइन । जस्तो स्थानीय चुनावमा जहाँनेर पुग्यौं, कम आए पनि तेस्रो हुन्थ्यौं, ५०/६० आए पनि तेस्रो हुन्थ्यो तर निर्णायक हुन्नथ्यो । १२२ मा जब पुग्यौं, निर्णायक तेस्रो भयौं । जनमतले नै हामीलाई तेस्रो भनेको छ । मलाई लाग्छ, आउँदो निर्वाचनमा पनि हामी निर्णायक शक्ति हुन्छौं ।
साभार कान्तिपुर