कमलादेवी गौतम । साझाकथा
धान भित्र्याउने चटारो छ गाउँघरमा । तर खेतालासम्म पाउन छोडेको छ अचेल । सयौं वर्ष पुरानो पर्म प्रथाको परम्परा हराउँदै गएपछि प्युठान–७ लिपिकोटकी सुमन सुनारलाई चिन्ताले निकै सताउन थालेको छ । रोपाइँ गर्न होस् वा अन्य खेतीबाली लगाउन, यहाँका किसान पर्म प्रथा नै प्रचलनमा ल्याउँथे । काम पनि समयमै र सजिलै हुन्थ्यो ।
फाँटमा रोपाइँ गीत गाउँदै हुने गरेको पर्मप्रथा अहिले लोप हुन लागेकोप्रति स्थानीय किसान निकै चिन्तित छन् । पर्मप्रथाले जग्गा भाडामा लिएर पर्म गर्ने बाटो पनि दिएको थियो । खेतीपाती लगाउनेदेखि भित्र्याउनेसम्मका काम निकै सहज हुने गर्दथ्यो ।
‘आफ्नोमा आउने सबैको पर्म तिर्न जानु पर्छ’, स्थानीय धनसरा सुनार भन्छिन्, ‘पर्म तिर्दा मौसममा दुई महिना बितेको पत्तो हुँदैनथ्यो खेती लगाउन सहज हुन्थ्यो । अहिले पर्म हराउन थालेपछि ज्यालामा काम गर्ने मानिस पाउनै मुस्किल छ कसरी खेती गर्ने ?’ प्युठान लिपीकोटकै दिपसरा बिक थप्छिन्, ‘पर्ममा हिँड्न थालेको ३० वर्ष बित्यो । अचेल त अर्मपर्म हरायो ।’
सामाजिक, आर्थिक तथा अन्य परिवर्तनको प्रभावले पर्म प्रथाको चलन कम भएको हो । तर यसले निरन्तरता पाउनु पर्ने किसानको मान्यता छ । नेपाली बृहत् शब्दकोशमा ‘पर्म’ शब्दको अर्थ आफू आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन हो । यसलाई ‘बोझे’ पनि भनिन्छ । बोझेको अर्थ हो– अरूको बोझ सघाउने काम हो ।
परेन पानी
पर्दै परेन नि
प¥यो पानी दर्केर…
रसुवा कालिका गाउँपालिका–२ का दिवाकर न्यौपानेलाई माथिको घाँसे गीतका पंक्ति गाउँदै पर्म गरेर कोदो रोपेको याद ताजै छ । तर नयाँ पुस्तालाई यस्ता सन्दर्भ एकादेशको कथा जस्तो भइसकेको छ । हरेक वर्षको धान रोपाइँ वा कोदो रोप्दा गुन्जने गीतका शब्द नै गुन्जन्छन् न सयौं वर्षदेखि चलेको पर्मेली परम्परा नै छ ।
सामाजिक, आर्थिक तथा अन्य परिवर्तनको प्रभावले पर्म प्रथा घट्दो अवश्य हो, तर एक हदसम्म यसले अझै पनि दृढ रूपले निरन्तरता पाइरहनु सुखद् पक्ष हो । नेपाली बृहत् शब्दकोशमा ‘पर्म’ शब्दको अर्थ छ– आफू आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन । यसलाई ‘बोझे’ पनि भनिन्छ । बोझेको अर्थ हो– अरूको बोझ सघाउने काम ।
ओखलढुंगा रुम्जाटारको विशेषताकै रूपमा लिइने पर्मेली मेलामा गाइने पर्मेली गीत बिस्तारै लोप हुन थालेको छ । तर पनि पछिल्लो पुस्ता
परम्परा जोगाउन लागि परेको स्थानीय जयन्ती राई बताउँछिन् ।
‘उहिले उहिले त खुबै मेला लाग्थ्यो । गानाबजानाले गाउँ नै संगीतमय हुन्थ्यो’, उनले भनिन्, ‘त्यस्तै त अहिले अलि छैन, तर पनि पुरानो चलन हराउन दिएका छैनौं ।’ रुम्जाटारकै सविना खतिवडा भन्छिन्, ‘मनोरञ्जन गरेर सजिलै खेती चलाउने पर्म एक संस्कृति रहेछ । लोप हुन सक्छ । यो नेपालीको राम्रो चलन हो, त्यसैले जोगाउनु पर्छ ।’
खतिवडा यो मौलिक संस्कृति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिन्छिन् । ‘मुलुकभरका ७५३ वटै स्थानीय सरकारले अर्मपर्म प्रथा जोगाउने जिम्मेवारी लिनु पर्छ’, उनी थप्छिन् । पर्म लगाउँदै खेती गर्ने पर्मेली परम्परा संरक्षण र प्रचारप्रसार गर्न आवश्यक छ ।
गाउँ–घरमा असार साउनमा रोपाइँ र मंसिरमा भित्र्याउने धान जे गर्दा पनि जोकोही किसान परिवारलाई खुबै चटारो हुन्छ । ‘मानो रोपेर मुरी फलाउने’ मौसममा गाउँले मिलेर पर्ममा काम गर्दा रमाइलो पनि हुन्थ्यो । दुई महिना बितेको पत्तो हुँदैनथ्यो । सबैको खेतीबाली पनि सजिलै लाग्थ्यो ।
मंसिरमा धानका बिटा लगाउन होस् वा असारमा खेती, अहिले त ज्यालाका खेताला खोज्न÷पाउन समेत धेरै मुस्किल छ । टाढा धाउन परेकोले खेती लगाउन निकै समस्या परेको कालिका गाउँपालिका रसुवाका खिलनाथ आचार्य बताउँछन् ।
पहिले छरछिमेकी मिले पर्मपात गरेर हली गोरु, बाउसे हिलो खेलेको स्मरण ताजै छ आचार्यलाई । खेतका गरामा पानी टल्किने गरी रोपाइँ गरेको आचार्यलाई सम्झना छ । अहिले यान्त्रिकीकरणले सहज भए पनि त्यो रमाइलोको कल्पना गर्नै नसकिने आचार्यको भनाइ छ ।
यतिबेला धान काट्ने चटारो सुरु भएको छ । विदेशिने लहरले युवा गाउँघरमा भेटिन छोडेको वर्षौं भइसक्यो । आलोपालो गरेर काम गर्ने चलन पनि हराउँदा धेरै किसान मर्कामा छन् । कम्तिमा ज्याला दिएर काम लगाउन पाए धानबाली घर भित्र्याउन पाइने अपेक्षा किसानलाई छ तर त्यो पनि हुन सकेको छैन ।
ज्याला दिएर काममा लगाइएकालाई ‘खेताला’ र एक आपसमा आलोपालो गरी काम पूरा गर्न खटिने चलन चाहिँ पर्म भनिन्छ । अचेल ज्यालामा चल्न थालेको छ । पर्म भनेको पाखुरो साटासाट हो । रुपैयाँ निकाल्न नसक्ने गरिबले पनि सहजै खेती लगाउने हुनाले उसको आत्मसम्मान पनि बढ्ने र बैग्दै रमाइलो पनि हुन्थ्यो ।
नुवाकोट विदुर नगरपालिका–१३ की बाटुलीमाया तामाङले ०७२ सालको भूकम्पले भत्केको घर बनाउनका लागि छिमेकीको गिटी कुट्न, ढुंगा, इँटा, बालुवा बोक्न पर्म लगाएको भुलेकी छैनन् । पर्म लगाइयो आफ्नो घर बनाउँदा पनि उनीहरू आए ।
सबैको निजी आवास ढलेको समयमा सवैतिर दक्ष जनशक्तिको अभाव थियो । घर बनाउनका लागि आर्थिक अभाव छँदैथियो । अर्मपर्मले आर्थिक संकट टार्न धेरै सहयोग गरेको स्मरण छ तर अहिले ‘खेतबारीको काम गर्दादेखि नै अर्मपर्म चलाउँदै आएका थियौं ।
तर अचेल त्यो चलन हराउँदै गयो । यो चलन गरिबमैत्री चलन थियो अहिले नयाँ पुस्ता खेतीको काममा ध्यान नदिने भएकोले पर्मको चलन हरायो । एकअर्काको काममा मिलेर पालैपालो काम गर्दा दुःखसुख साट्न पाइने, अनुभव साटासाट हुने, थोरै दिनमा धेरै काम हुने, मेलमिलापको भावना उत्पन्न हुने गीत गाउने मनोरञ्जन पनि हुने हुनाले समाजमा एकता स्थापित हुन्थ्यो ।
पहिले मल बोक्ने, पराल बोक्ने आलु रोप्ने जस्ता काममा पनि पर्म चल्थ्यो । गाउँका युवाहरु कि शहर कि विदेश छन् । त्यसैले पर्मको यस्तो मर्म हुँदाहुँदै पनि अहिल अवस्था फरक छ । त्यसैले सक्नेले ज्यालामा खेती चलाउने नत्र जग्गा बाँझो रहन थालेको छ ।
आजभोलि पर्म हराउँदै गए पनि त्यसको आवश्यकता झनै बढेको छ । पर्म सामूहिक खेतीको राम्रो प्रथा हो । लाठे र रोपाहार (नारी–पुरूष) बीच समान श्रममूल्य हिजोको पर्ममा थिएन । आज ज्यालाको कुराले एक लाठे (पुरुष)बराबर दुई रोपहार (महिला)को हिसाब फरक हुन थाल्यो ।
कतै कतै उत्ति समय उही श्रम गरेका पुरूष–महिलाबीचको भेदभाव हटाएर पर्म रीतिलाई ज्यूँदो तुल्याउनु अहिलेको आवश्यकता हो । हिजोका केही गलत कुराहरू सुधार गरेर परम्परागत पर्म प्रथा जोगाउन सबैले लाग्न जरुरी देखिन्छ ।