काठमाण्डाै । अहिले थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।
थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।
बेलैमा उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन्। यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन्।
चिकित्सकहरूका अनुसार ‘समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ’, डा. खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउँछन्। उनले भने, ‘थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ। कुनै जेनेटिक कारणले हुन्छ। थाइराइडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ।’
थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउँछन्। उनले भने, ‘थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ। चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ। औषधि आफैँ खान बन्द गर्नुहुँदैन। खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला।’
थाइराइडका कारणहरू
१. थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ । वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ ।
२. रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ ।
३. विभिन्न केमिकल्स (रसायन) र अन्य कारणले वातावरणीय प्रदुषणले गर्दा पनि यो रोग लाग्ने गर्छ ।
४. लामाे समयसम्म औषधिका प्रयोगले पनि मानिसहरुमा थाइराइडको समस्या देखिने गर्छ । जस्तैः मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ ।
५. विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।
थाइराइडका लक्षण
हर्मोनको गडबडी भएमा शरीरमा थाइराइड रोगका विभिन्न लक्षण देखा पर्न सक्छन् । त्यसमध्ये केही लक्षण यी हुन् ः
– कपाल धेरै झर्ने
– दुब्लाउने वा मोटाउने
– शरीरमा पसिना बढी आउने वा कम आउने
– निद्रा बढी लाग्ने वा कम लाग्ने
– कब्जियत हुने वा झाडापखाला लाग्ने
– महिनावारी गडबडी हुने
– मुटु जोडसँग ढुकढुक हुने
– हात काँप्ने
– गर्मी बढी हुने वा जाडो हुने
– छाला खस्रो हुने
– निःसन्तान समस्या ।
व्यायाम गरेमा थाइराइड रोग निको हुन्छ भन्ने भ्रम पनि छ । हामी स्वस्थ रहन नियमित व्यायाम जरुरी त हुन्छ । तर, थाइराइड रोगमा भने व्यायामले कुनै काम गर्दैन । किनकि यो रोग जीवनशैली र शारीरिक कसरतसँग सम्बन्धित हैन । इन्डोक्राइनोलोजिष्ट डा. अंशुमली जोशीका अनुसार कतिपयमा थाइराइडले मधुमेह नित्याउँछ भन्ने पनि भ्रम रहेको पाइन्छ । खासमा यो सत्य होइन । तर, थाइराइड रोगमा मोटोपनको समस्या हुने र मोटोपनसँगै मधुमेह पनि निम्तिन सक्ने भएकोले त्यसप्रति सजग भने हुन जरुरी छ । त्यस्तै, कति मानिसलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर, यो साधारण रोग हो, नियमित औषधि सेवनले निको हुन्छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार थाइराइडका बिरामीहरूले विशेष गरी आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका माछाले हानि गर्छ । नेपालमै नदीनाला र पोखरीमा पाइने माछाले भने केही बिगार गर्दैन । तर, यस्ता खानेकुरा भरसक कम खानुपर्छ । हाइपो थाइराइड भएका बिरामीहरूमा मोटोपनको समस्या बढी हुने भएकाले मोटोपन घटाउन ध्यान दिनुपर्छ । ती बिरामीले विशेष गरी भात, आलु, मैदा, गुलियो, चिल्लोलगायतका क्यालोरी अधिक हुने खानेकुरा कम खानुपर्छ ।