जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ ।

हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ । एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ ।

वृद्धवृद्धामा भने हड्डी खिएर नसा च्यापिने हुन सक्छ । जोर्नी दुखाइले गर्दा उनीहरूमा थप जटिल समस्या पनि देखिन सक्छ । कसै–कसैमा जोर्नी बिग्रने समस्या आउन सक्छ । दुखाइ बढ्दै जाने, ज्वरो आउने, टेक्न गाह्रो हुने हुन्छ ।

समस्या

– हड्डी पूरै कटकट खाने, दुख्ने ।
– हड्डी कमजोर भएजस्तो लाग्ने ।
– हातखुट्टा दुख्ने ।
– हातखुट्टा सुन्निने ।
– पलेँटी कस्दा बढी दुख्ने ।
– भर्‍याङबाट ओरालो झर्दा बढी दुख्ने ।
– करेन्ट लागेको जस्तो हुने, झमझम हुने, पोल्ने ।
–  खुट्टा उचाल्न गाह्रो हुने ।
– शरीरका सबै भाग दुख्ने ।
– दुखेको ठाउँमा थिच्दा वा मालिस गर्दा केही थाहा नहुने, तर भित्रभित्रै दुख्ने ।
– बालबालिकामा खुट्टा बांगिने । छातीको हड्डी सुन्निएको देखिने ।
यसरी बच्ने ?
– जाडोमा आफूलाई न्यानो बनाउने ।
– भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा सेवन गर्ने ।
– बिहान १५–२० मिनेट घाममा बस्ने ।
– धूम्रपान, मद्यपान नगर्ने ।
– कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आटामा आधारित उत्पादन नखाने ।
– सकभर घरबाहिरको खाना नखाने ।
– हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने ।
– फिजियोथेरापी गर्ने ।
– न्यानो भएर नियमित व्यायाम गर्ने । योगा र स्टे«चिङ गर्ने ।
– रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने ।
– धूम्रपान, मद्यपान नगर्ने ।
– युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडीको कम प्रयोग गर्ने ।
– पर्याप्त पानी खाने ।
– हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।

जोर्नी दुख्न नदिन के खाने ?

माछामा पर्याप्त मात्रामा ओमेगा–३ फ्याटी एसिड नामक तेल हुन्छ । यसले सुन्निने समस्या कम गर्न सहयोग गर्छ । बिहानको समयमा जोर्नी कमजोर हुने र दुख्ने समस्याबाट राहत दिन्छ ।

दूध, अन्डा, सागपात सेवन गर्दा भिटामिन डी र क्याल्सियमको मात्रा बढाउन सहयोग पुग्छ । चेरीले पनि दुखाइबाट बचाउँछ । त्यस्तै, जैतुनको तेल प्रयोग गर्दा पनि दुखाइ कम हुन्छ । बेसार र अदुवाको प्रयोगले पनि दुखाइबाट बचाउँछ ।

ग्रिन टीले जोर्नी सुन्निनबाट बचाउँछ । ब्रोकाउलीमा सल्फरयुक्त एन्टिअक्सिडेन्ट हुन्छ । यसले पनि जोर्नी दुखाइ कम गर्छ । त्यस्तै, बन्दा र काउलीले पनि दुखाइ कम गर्न सहयोग गर्छ ।

च्याउ, प्याज, सिट्रस फल (अम्लीय गुण भएका मौसम, सुन्तला, कागती आदि), मेवा, किवीलगायतले पनि दुखाइ कम गर्न सहयोग गर्छन् ।

नयाँपत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?