रामप्रसाद आचार्य
पूर्वअर्थमन्त्री ऋषि सुनक पहिलो ब्रिटिस–एसियाली प्रधानमन्त्री बन्नु भएको छ। यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको डेढ महिनापछि यसपालि विजयी भएर उहाँ बेलायतको प्रधानमन्त्री बन्नु भएको हो। अहिले बेलायतले ठूला आर्थिक र राजनीतिक चुनौती सामना गरिरहेकाले देशलाई निकास दिन उहाँलाई सजिलो छैन।
मुलुक चलाउन नसकेरै उहाँका दुई पूर्ववर्ती प्रधानमन्त्री बोरिस जोन्सन र लिज ट्रसले राजीनामा दिनुभएको हो। सत्तारुढ कन्जर्भेटिभ पार्टीलाई सन् १९८७ यता पहिलो पटक सहज विजयी बनाई प्रधानमन्त्री बन्नुभएका जोन्सनले तीन वर्षमा र ट्रस ४५ दिनमै राजीनामा दिनुभयो।
ट्रसले राजीनामा दिएपछि पार्टी नेताका लागि जोन्सन, सुनक र पेनी मोर्डाउन्टबीच प्रतिस्पर्धा हुने ठानिएको थियो। जोन्सनले सुरुमै हात झिक्नु भयो भने मोर्डाउन्ट पनि प्रतिस्पर्धाका लागि मत जुटाउन नसकेपछि पछि हट्नुभयो। जोन्सन र मोर्डाउन्टले हात झिकेपछि ४२ वर्षीय सुनक सर्वसम्मत नेता चयन हुनुभयो।
बेलायतको अर्थतन्त्र रुस–युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण निकै कमजोर बनेको छ। अकासिएको महँगी, खुम्चिएको आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फ्रिति, इन्धन सङ्कट र सत्तारुढ दलभित्रको विवादले सरकार स्थिर हुन सकेन। तीन वर्षमा तीन प्रधानमन्त्री फेरिए। अहिलेका नयाँ प्रधानमन्त्रीले यी समस्याको निकास दिन नसके पूर्ववर्ती दुई प्रधानमन्त्रीको नियति भोग्नुपर्ने अवस्था आउन सक्छ।
त्यसो भएकाले उहाँलाई काम गर्न निकै कठिन छ। उहाँले निकै बुद्धि पु¥याएर मुलुकवासीले भोग्नु परेका जल्दाबल्दा समस्या र पार्टीभित्रको विवादलाई निकास दिएर मुलुक चलाउनुपर्नेछ। बेलायतको ५७ औँ प्रधानमन्त्री नियुक्त भएलगत्तै सुनकले पूर्ववर्तीले गरेका गल्ती सुधार्ने काम तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै हाल मुलुकले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको बताउनुभयो।
विपक्षी दलहरूले भने सत्तारुढ दलले मुलुक चलाउन नसकेकाले अब नयाँ नेतासँग कार्यादेश छैन भन्दै आमनिर्वाचनको माग गरेका छन्। सुनक प्रधानमन्त्रीका रूपमा आए पनि समस्या चाङ लागेर बसेका छन्।
गहिरो गरी विभाजित भएको पार्टी, महँगी, कमजोर सार्वजनिक वित्तीय व्यवस्थामा कसरी सुधार ल्याउने भन्ने प्रश्न अहम् बनेको छ। तैपनि उहाँले अब संसद्को बाँकी दुई वर्ष सरकार चलाउन सक्नु होला भन्ने अपेक्षा गरिएको छ। सुनकले कोरोना भाइरस महामारीका बेला बेलायतको अर्थतन्त्र हाँकेपछि त्यसैबेला उहाँलाई धेरैले देशको सम्भावित भावी प्रधानमन्त्रीको रूपमा हेर्न थालेका थिए। सन् २०२० को फेबु्रअरीमा सुनक अर्थमन्त्री बन्नुभयो।
त्यसको केही सातामै उहाँले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौती दोस्रो विश्वयुद्धपछि कुनै अर्थमन्त्रीले झेलेको मध्ये सबभन्दा ठूला थिए। २१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गर्नुभएका, कहिल्यै मदिरापान नगर्ने उहाँ धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुग्नुभयो।
सन् २०२० को वसन्तयाममा उहाँले महामारीमा नागरिकलाई सघाउन जेसुकै गर्ने वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गर्नुभयो। त्यसले उहाँको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पु¥यायो। आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिवाना तिर्नुपर्ने अवस्था पनि आयो।
२०२० को जुनमा डाउनिङ स्ट्रिटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोन्सनसँगै उहाँ कारबाहीमा पर्नुभयो। सोही महिना सुनक र उहाँको परिवारको सम्पत्तिबारे छानबिन गरियो। जसको केन्द्रमा उहाँकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषय थिए। पतिमाथि राजनीतिक दबाब बढेपछि उहाँले देशबाहिर आफूले कमाएको पैसाको कर तिर्ने घोषणा गर्नुभयो।
सुनकका बाबुआमा दुवै पूर्वी अफ्रिकाबाट बेलायत आउनुभएको हो। दुवै भारतीय मूलका बेलायती हुनुहुन्छ। जनरल फिजिसियन बुवा यशवीर सुनक र औषधि पसल सञ्चालन गर्ने आमा उषा सुनकका सन्तानका रूपमा उहाँ सन् १९८० मा साउथ ह्याम्पटनमा जन्मिनुभएको हो। आफ्ना बुवाको सामुदायिक सेवाप्रतिको प्रतिबद्धताबाट आफू नतमस्तक भएको सुनक बताउनुहुन्छ।
आमालाई औषधि पसलमा सघाउँदा उहाँले व्यापारको सुरुवाती ज्ञान पाउनुभयो। सुनकले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढ्नुभयो। साथै उहाँले गर्मी बिदाका बेला साउथ ह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गर्नुभयो। पछि अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढ्नुभयो। स्ट्यान्डफर्ड युनिभर्सिटीमा एमबीए पढ्दा उहाँले भावी श्रीमती अक्षता मूर्तिलाई भेट्नुभयो जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोसिसका सह–संस्थापक नारायण मूर्तिकी छोरी हुनुहुन्छ।
उहाँ र अक्षताबीच सन् २००९ मा विवाह भयो। उहाँका दुई छोरी हुनुहुन्छ। सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स बैङ्कमा विश्लेषकका रूपमा काम गर्नुभयो। पछि उहाँ दुईवटा आर्थिक लगानीसम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बन्नुभयो। उहाँ छोटो अवधिमै आर्थिक रूपले निकै सम्पन्न बन्नुभयो। उहाँ ३५ वर्षको उमेरमा सन् २०१५ यता रिचमन्डको नर्थ योर्कसरको निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित हुनुभयो।
तत्कालीन प्रधानमन्त्री टेरिजा मेको सरकारमा उहाँ कनिष्ठ मन्त्री बन्नुभएको थियो। उहाँ त्यसपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा अर्थमन्त्री बन्नुभयो। सुरुमा उहाँ जोनसनका कट्टर समर्थक हुनुहुन्थ्यो।
तर पछि उहाँले अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीका तौरतरिका आधारभूत रूपमै भिन्न रहेको भन्दै राजीनामा दिनुभयो। ईयू जनमत सङ्ग्रहका बेला उक्त क्षेत्रीय सङ्गठन छाड्ने पक्षमा उभिएका उहाँले त्यस निर्णयले देशलाई खुला, न्यायपूर्ण र थप समृद्ध बनाउने बताउनुभएको थियो।
आप्रवासन नियम फेर्नु ईयूबाट बहिर्गमनको पक्ष रोज्नुको कारण रहेको उहाँको दाबी थियो। उहाँले भन्नुभयो, “व्यवस्थित आप्रवासनले हाम्रो देशलाई फाइदा गर्छ भन्नेमा म विश्वस्त छु। हामीले आफ्नो सीमामा नियन्त्रण राख्नैपर्छ।” सुनक बेलायमै जन्मिए पनि अन्यत्र मूल भएको परिवारका सन्तान हुनुहुन्छ। उहाँले त्यो परिचयको अर्थ हुने बताउनुहुन्छ।
“मेरा अभिभावक यहाँ बसाइँ सरेर आए र तपाईंहरूले यहाँ जन्मिएको पुस्ता पाउनुभयो, उनीहरूका अभिभावक यहाँ जन्मिएका होइनन् र उनीहरू यहाँ जीवन बनाउन आए,” उहाँले भन्नुभयो। उहाँ भन्नुहुन्छ, “सांस्कृतिक हुर्काइका विषयमा म सप्ताहन्तमा म मन्दिर पुग्छु। म हिन्दु हुँ तर शनिबार नै म साउथ ह्याम्पटन फुटबल क्लब सेन्ट्स गेम्समा पनि पुग्छु। दुवै गर्छ।”
सन् २०१६ को युरोपेली सङ्घ (ईयू) को जनमत सङ्ग्रहयता भएको राजनीतिक अस्थिरताले गर्दा सुनक गत छ वर्षयता पाँचौँ प्रधानमन्त्री बन्नुभयो। बेलायत सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहअनुसार ईयूबाट अलग भएको हो।
४३ वर्षसम्म ईयूमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको यो मुलुकका जनताले जनमत सङ्ग्रहमार्फत ईयूसँगको आबद्धता तोड्ने अभिमत जाहेर गरेपछि बेलायत सरकारले जनमतलाई स्वीकार गर्दै ईयूबाट अलग हुने निर्णय गरेको हो।
यो निर्णय कार्यान्वयन हुन पाँच वर्ष लाग्यो। ईयूबाट अलग हुनुहन्न भन्ने पक्षमा वकालत गर्दै आउनुभएका तत्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले जनमत विपक्षमा गएपछि राजीनामा दिनुभयो। बेलायत ईयूमा रहने कि नरहने भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको थियो। सन् २०१० मा सत्तामा आउनुभएका कन्जर्भेटिभ पार्टीका नेता क्यामरुनले दोस्रो कार्यकालका लागि सन् २०१५ मा भएको चुनावका बेला ईयूमा रहने वा नरहने विषयमा जनमत सङ्ग्रह गराउने प्रतिबद्धता जनाउनुभएको थियो।
सोही प्रतिबद्धताअनुसार उहाँले सन् २०१६ को जुन २३ तारिखमा जनमत सङ्ग्रह गराउनुभयो। चार करोड ६५ लाख मतदातामध्ये करिब ७२ प्रतिशत मतदाताले भाग लिएको यो जनमत सङ्ग्रहमा ५१.९ प्रतिशत मतदाताले ईयूबाट अलग हुनुपर्ने पक्षमा र ४८.१ प्रतिशत मतदाताले ईयूमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए।
बेलायतले ईयू छाड्न हुन्न भन्ने पक्षमा प्रम क्यामरुनदेखि उहाँका मन्त्रिपरिषद्का १६ जना सदस्यदेखि विपक्षी लेवर पार्टीका नेता जेरेमी कोर्विनसम्म हुनुहुन्थ्यो। बेलायत ईयूमा रहने वा नरहने भनी तीन पटक जनमत सङ्ग्रह भयो।
यसअघिका दुईवटा जनमत सङ्ग्रहमा ईयूमै रहने पक्षमा मत जाहेर भयो भने तेस्रो पटकको जनमत सङ्ग्रहले ईयूबाट अलग हुने पक्षमा मत जाहेर ग¥यो। यो बेलायतका लागि ऐतिहासिक दिन साबित भयो।
बेलायत युरोपको सुरक्षा र समृद्धिका लागि सन् १९७३ मा ईयूमा आबद्ध भएको थियो। ईयूमा बसेर बेलायतले समग्र युरोपको हितमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि आफ्ना कतिपय विषयमास्वतन्त्र निर्णय गर्न ईयूको आबद्धताले रोकेका कारण ईयूबाट अलग हुनुपर्ने पक्षमा लामो समयदेखि अभियान चलाउँदै आएका थिए।
पछिल्ला वर्षमा एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भएका युद्ध र द्वन्द्वका कारण युरोपले धान्नै नसक्ने गरी आप्रवासी र शरणार्थीको सङ्ख्या बढेपछि मुलुकको सुरक्षा खतरामा पर्ने भनी बेलायतीले चिन्ता व्यक्त गर्दै आप्रवासी र शरणार्थीको प्रवेश रोक्न सरकारलाई दबाब दिएका थिए। बेलायतको स्वतन्त्र पहिचान र राष्ट्रिय सुरक्षा ईयूमा बस्दा खुम्चिएको अनुभव गरेका बेलायती अन्ततः ईयूबाट अलग्गिने निर्णय गरे।
ईयूबाट अलग्गिएको बेलायतले सामना गरिरहेका वर्तमान आर्थिक, राजनीतिकलगायतका समस्या समाधान गरी मुलुकलाई बलियो बनाउन नयाँ प्रधानमन्त्री सुनकले महत्वपूर्ण सुधारका कार्यक्रम ल्याउनुपर्ने अवस्था छ। बेलायत कमजोर बन्यो भने यसको असर सारा युरोपभरि पर्ने भएकाले पनि उहाँको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको छ।
उहाँले सत्ता पक्ष र प्रतिपक्ष सबैलाई मिलाएर काम गर्नुपर्छ। अहिले कमजोर भएको आर्थिक अवस्थामा सुधार गरी पार्टीभित्रको विवाद मिलाउन सक्नुभयो भने उहाँ सफल प्रधानमन्त्री बन्नुहुनेछ।
गाेरखापत्रबाट