अन्तर्वार्ता
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्कासँग प्रतिस्पर्धा गर्दै गरेका नेम्वाङ आफूले लामो समय इलामेली जनतामाझ पुर्याएको योगदानका कारण फेरि पनि सहजै जीत निकाल्नेमा ढुक्क छन् ।
‘एमालेले जति समय मौका पायो, राम्रो काम गरेको छ,’ उनले भने । थप काम गर्न एमालेको सरकार हुनुपर्ने र त्यसका लागि आफूहरूको नै बहुमत आउने अपेक्षा एमालेको छ । इलाम क्षेत्र नम्बर २ बाट आफू नै निर्वाचित हुनेमा पनि नेम्वाङ विश्वस्त छन् ।
२०१५ सालमा टुँडिखेलमा किसुनजीले एक भाषणमा भनेका थिए – कम्युनिस्टले कताबाट ४ सिट ल्याएछन्, यसपालि फेरि १५ सिट ल्याए । मैले पञ्चायत फेरि फर्किन्छ, कांग्रेस–कम्युनिस्ट मिलेर चुनाव लडौंभन्दा कांग्रेसलाई १००० सिटले त पुग्ने अवस्थामा छैन, तपाईंहरूलाई कसरी कति दिने भनेर किसुनजीले भन्नुभएको थियो । त्यो बेलामा मैले प्रकाशशरण महत, शेखर कोइराला, शशांक कोइलाको बीचमा हामीले यो पालि १५ सिट ल्याउँछौं भनेको थिएँ तर त्यो बेलामा हाँसेर उडाए । शशांकले मात्रै सुवासको कुरामा दम छ भन्नुभएको थियो । एमालेले हरेक निर्वाचनमा मत बढाउँदै लगेको छ तर त्यो अवस्थाको कांग्रेस अहिले गठबन्धन गर्ने अवस्थामा आयो, यसले नै त्यही कांग्रेस कुन अवस्थामा छ भन्ने देखाउँछ । एमाले कम्युनिस्ट एक्लै कहाँ छ भन्ने अवस्था यसपटकको चुनावबाट पनि देखिन्छ ।
लोकान्तरकर्मी राजु बास्कोटा र गगन अर्यालले नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंश :
चुनावी व्यस्ततामा हुनुहुन्छ, विगतको इतिहास हेर्ने हो भने २०५६ सालदेखि जित्दै आउनुभएको छ । यसपालि गठबन्धन छ, जित्न अलि कठिन होला कि ? मेहनत गर्नुपर्ने देखियो नि !
– मेहनत त जनताको बीचमा बाक्लो हिसाबले गरेको छु । यसपालि एमालेको विरुद्धमा ५ दलीय गठबन्धन छ । यो गठबन्धन अप्राकृतिक, अस्वाभाविक, राष्ट्रियस्तरमा निषेध गर्ने रूपमा अगाडि आएको छ ।
म र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई यो कुरा भनेका थियौं – तपाईंहरू लोकतान्त्रिक मूल्य र मान्यतामा चल्नुभएको छैन ।
हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं र तपाईंहरू निषेधको राजनीति गरेर एमालेविरुद्ध अगाडि बढ्नुभएको छ । यसलाई बन्द गर्नुस् ।
हामीले लोकतान्त्रिक मूल्य–मान्यता कुल्चेको विषयलाई मुद्दाको विषय बनाएर जनताको बीचमा आएका छौं, त्यसलाई जनताले विश्वास गर्नुहुनेछ ।
एमालेलाई रोक्नका लागि मात्र विचार र सिद्धान्त नमिल्ने पार्टीहरू एक भएको तपाईंको बुझाइ देखियो, यो एमालेले तोड्छ भन्न खोज्नुभएको हो ?
– अहिले गठबन्धन संविधानको विरुद्धमा छ । स्पष्ट शब्दमा भन्नुपर्दा दल विभाजन सम्बन्धी गलत अभ्यास गरियो । संसदीय मूल्य र मान्यताविपरीत दल विभाजन हुनुभन्दा अगाडि नै गठबन्धन गरेर एमालेलाई विभाजन गर्न लाग्नुभयो ।
आफ्नै पार्टीको सरकारको विरुद्धमा साथीहरू लाग्नुभयो । यो संसदीय मूल्य–मान्यता विपरीत हो ।
त्यसैले यो गठबन्धन दूषित छ भनेका हौं । उहाँहरूले आफ्नो स्वार्थ पूर्तिका लागि यी सबै काम गर्नुभएको हो, त्यही कुरालाई जनताको बीचमा लिएर आएका हौं ।
सबैभन्दा धेरै विरोध भएको विषय बनेका छ संसद विघटन । तपाईंकै कानूनी सल्लाहमा अध्यक्ष ओलीले विघटन गरेको पनि भनियो । गठबन्धनले अहिले मुख्य एजेन्डा त्यसैलाई बनाएका छन् । फेरि एमालेलाई सरकार बनाउन पुग्ने मत दिँदा पुरानो अवस्था दोहोरिएला भन्दै प्रश्न उठेको छ । तपाईं यसलाई कसरी चिर्नुहुन्छ ?
– संसद विघटनको विषयमा विवाद छैन । संसद विघटनमा मेरो धारणा के थियो ? त्यो छलफलमा आउनुपर्ने विषय पनि होइन । छलफलको विषय के हो भने संसद् विघटन गर्दा प्रतिगमन हुन्छ ? तर गठबन्धनका साथीहरू यही विषयलाई लिएर चुनावमा जानुभएको छ । २ पटक केपी ओली र एमालेले संसद् विघटन गरेको हो ।
संविधान झण्डै झत्केको थियो, हामीले संविधान जोगायौं भन्दै हास्यास्पद विषय लिएर गठबन्धनका साथीहरू निर्वाचनमा जानुभएको छ । उहाँहरूसँग केही एजेन्डा नभएर यो विषय लिएर जानुभएको छ । किनभने यो देशमा संसद् त पटक–पटक विघटन भएको छ ।
गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा लगायतले पनि विघटन गर्नुभएको थियो । के त्यो प्रतिगमन होइन ? उदाहरणका लागि भन्नुस् बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गर्नुभयो । अर्को संविधानसभा हुने ठाउँ थिएन ।
त्यस्तो अवस्थामा मैले देशमा कहीँ उज्यालो छैन भनेको थिएँ । त्यस बेला दलहरू मिलेर अगाडि बढ्यौं । राजा ज्ञानेन्द्रको पालामा शेरबहादुर देउवाले संसद् विघटन गरेर मात्र होइन, तोकिएको मितिमा चुनाव गर्न नसकेर राजालाई निर्वाचन सार्ने सिफारिस गर्नुभएको थियो ।
त्यसको परिणाम स्वरूप राजा ज्ञानेन्द्रले निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनेर कारवाही गर्नुभएको होइन ? त्यतिबेला देश सही प्रतिगमनतिर उहाँकै कारण गएको थियो । त्यो बेलामा शेरबहादुर देउवाको वकिल नै म थिएँ । त्यो बेलामा एमालेले शाही प्रतिगमन विरुद्धमा सहयोग गरेर त्यसलाई पराजित गरेका थियौं । अचम्म छ उहाँ नै साथीहरू विघटनलाई प्रतिगमन भनेर चुनावी एजेन्डा बनाएर जनताको बीचमा आउनुभएको छ ।
जनताले त्यसलाई चिन्छन्, बुझ्छन् र उपयुक्त निर्णय गर्छन् भन्ने विश्वास गरेको छु । केपी ओलीले चुनाव गर्छु भनेर मिति समेत घोषणा गर्नुभएको थियो । सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए त्यो मितिमा चुनाव हुन्थ्यो, आफ्नो अप्राकृतिक गठबन्धनलाई ढाकछोप गर्न प्रतिगमनको विषयलाई लिएर अलि ठूल्ठूलो आवाजमा हल्ला गर्नुभएको छ । यसलाई जनताले चिर्छन् भन्ने हाम्रो विश्वास छ ।
संसद विघटनमा तपाईंहरूको बुझाइ र जनस्तरको बुझाइ फरक छ । त्यहीँ दागले विपक्षीलाई मसला बनाएका छन् । एमालेलाई ढाकछोप गर्नुपर्ने अवस्था छ नि ?
– एउटा कुरा के बुझ्नुपर्छ भने गठबन्धनका साथीहरूसँग केही एजेन्डा नभएर यो विषय उठाउनुभएको हो तर त्यो कुरालाई हामीले के हो भनेर बुझाइरहेका छौं । त्यो विषयलाई बुझाउनका लागि एमालेले जनताको बीचमा बुझाउन मेहनत त गर्नैपर्छ तर एमाले जुन ढंगले जनताको बीचमा गएको छ, त्यसले जनतालाई विश्वास दिलाउन सक्छौं ।
जस्तो फागुन २० गते शपथ खाएको, मंसिर ४ गते साथीभाइहरूले पनि ५ महिना अगाडि निर्वाचन घोषणा त गर्नुभयो । के त्यसलाई प्रतिगमन भन्ने ? त्यसलाई स्वाभाविक मान्नुपर्छ । यस्ता विषयमा भ्रम छर्नुभन्दा यथार्थ कुरा बोलेर जनताको बीचमा जानु राजनीतिक बुद्धिमानी ठहरिन्छ ।
तपाईंहरू कन्फिडेन्टका साथ जनतामा आएको भनिरहँदा अबको निर्वाचनमा एमालेको अवस्था के हुन्छ ? त्यो पनि मूल्यांकन गर्नुभएकै त होला ?
– हामीले अध्यक्ष केपी ओलीलाई केन्द्रीय कमिटीको बैठकबाटै मंसिर ४ गते पछाडिको प्रधानमन्त्रीका उम्मेदवार भनेर घोषणा गर्यौं । यो एमालेको विश्वास हो । जनतामाथिको भरोसा हो । विनम्रतापूर्वक भन्छु गठबन्धनका साथीहरूले गरेर देखाउनुस् न ! यत्रो गठबन्धन चलाएर आएका साथीहरू हामीले संविधान जोगाएका हौं, त्यसैका लागि गठबन्धन भएको हो भन्नुहुन्छ ।
त्यो गठबन्धनले साझा घोषणापत्र बनाएर सार्वजनिक गरेको खै त ? किन नसकेको ? साझा घोषणापत्र सार्वजनिक गर्न नसक्ने, एउटा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न नसक्ने उहाँहरूले व्यवहारबाट पराजय स्वीकार गर्नुभएको छ । हामी आफ्ना कारणले र गठबन्धनमा रहनु भएका मित्रहरूको व्यवहारको कारणले एमाले आत्मविश्वास गरेका छौं ।
तपाईंहरू अब जनताको बीचमा आइसक्नुभएको छ, एमालेले प्रत्यक्षमा कति सिट ल्याउने आकलन गर्नुभएको छ ?
– स्थानीय तहमा एक्लै लोकप्रिय मतको आधारमा पहिलो पार्टी भएका छौं । हामीले १ लाखभन्दा धेरै मत पाएर पहिलो पार्टी भएका छौं । यो बीचमा हामीले आफूमा रहेको कमजोरी हटाउन सातै प्रदेशमा उपाध्यहरूको नेतृत्वमा प्रशिक्षण गरेका थियौं । त्यसको समेत आधारमा एमालेले भन्यो – बहुमत प्राप्त गर्ने अवस्थामा छौं ।
एकातिर गठबन्धन कमजोर हुनु, गठबन्धनको बीचमा तिक्तता हुनु लगायतका आधारमा हामी स्पष्ट छौं र पार्टीका सदस्य एकले २ जना नयाँ थप्न भनेका छौं । ५ मतलाई सुरक्षा गर्नु भनेर गृहकार्य गरेका छौं । त्यसैले मंसिर ४ गतेपछि एमालेको सरकार बन्छ । प्रत्यक्षमा ९० सिटसहित बहुमतको सरकार बनाउँछौं ।
अघिल्लो संघीय निर्वाचनमा तपाईंले प्रतिस्पर्धीलाई १० हजार मतले पराजित गर्नुभएको थियो तर यसपालि एमाले फुटेको छ । गठबन्धन छ त्यसैले हामीले जित्छौं भन्ने तपाईंका प्रतिस्पर्धीको तर्क छ । तपाईं नै फेरि जित्ने आधार के हो ?
– हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छाैं र आफ्ना प्रतिस्पर्धीलाई सम्मान गर्छाैं । त्यसैले अन्यथा टिप्पणी गर्न चाहन्न । यो निर्वाचन क्षेत्रमा २०५६ सालदेखि निर्वाचन लडिरहेको छु । २०५६ सालमा १९ सय मतले विजयी भएको थिएँ ।
त्यहाँदेखि निरन्तर मत बढाउँदै आएको छु । अघिल्लो चुनावमा निकै ठूलो मतान्तरले जितेको हुँ । यसपालि पनि विगतको भन्दा बढी मतान्तरले मलाई जनताले आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
२७ वर्षदेखि एकै जनाले जित्दै आएका छन् । अब नयाँलाई दिनुपर्छ भन्दै प्रतिस्पर्धी एमाले फुटको लाभ लिएर चुनाव जित्ने दाउमा छन् नि ?
– निर्वाचनमा यसरी नयाँ पुरानोको कुराले निष्कर्षमा पुग्न सकिँदैन । यो देशमा पटक–पटक गरेर गठबन्धनका साथीहरूले २७ वर्ष देश चलाउनुभएको रहेछ । हामीले त ७ वर्ष पनि चलाउन पाएका छैनौं । उहाँहरूकै तर्क भन्ने हो भने २७ वर्ष देश चलाएका तर सिन्को न भाँचेका साथीहरूलाई किन मौका दिने जनताले ?
एमालेले थोरै समय पाउँदा देखिने गरी उल्लेख्य काम गरेको छौं । हामीले अब कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था बनाएका छौं । हामीले संविधान कार्यान्वयन गर्यौं । सामाजिक सुरक्षा, वृद्धभत्ता लगायतका काम गर्यौं । महिलालाई ३३ प्रतिशत सहभागी गर्ने आधार तयार गर्यौं । त्यसैले पुरानो र नयाँको विषय हो भने इलामे जनताको माया र आशीर्वादका लागि के काम गरें भन्ने विषय महत्त्वपूर्ण हो ।
मैले संविधान बनाउनका लागि खेलेको भूमिका देशका अगाडि छ । २०५६ सालमा म निर्वाचित हुँदा इलामको २ नम्बर क्षेत्रलाई कर्णाली भनिन्थ्यो । त्यो बेलामा कच्ची सडक थिएन । बिजुली थिएन । मोबाइल थिएन, टेलिफोन थिएन । यो अवस्थालाई परिवर्तन गरेको छु । त्यो बेलामा सुवासले सबै बजेट इलाम लगेको छ भन्ने आरोप लागेको थियो । त्यसैको परिणाम यहाँ विकास भएको छ ।
तपाईंको क्षेत्रका मतदाताले त टुँडिखेलमा ३ पटक बजेट हाल्छु भनेर हालेन, जिल्ला जोड्ने ७ वटा सडकहरू पनि अधुरै छन् । निर्वाचनको मुखमा बजारभित्रैको डेढ किलोमिटर मात्रै सडक पिच भयो भन्ने आरोप छ नि ?
– साथीहरू बोल्दा आँखा चिम्म गरेर बोल्नुभएको छ । इलामको २ नम्बर क्षेत्रमा इलाम नगरपालिका पर्दैनथ्यो । त्यो बेलामा पनि यो ठाउँमा सभा भवन मैले बनाएको हुँ । एयरपोर्ट निर्माणमा भूमिका खेलेको छु । कोल्ड स्टोरेज् बनाएको लगायतका विषय छन् । माईपोखरीलाई रामसार क्षेत्रमा मेरै पहलमा सूचीकृत गराएको हुँ । आफ्नो जिल्लाका लागि काम गरेको छु । यो २ नम्बर क्षेत्रमा परिसकेपछि इलाम बजारलाई विकासमा लागेको छु ।
तमोर नदीको करिडोर ओली सरकारको पालामा बनेको छ । भेडेटार रवि राँके सडक खण्डलाई ओली सरकारको पालामा ६ अर्ब रूपैयाँ बजेट ल्याउने काम मैले नै गरे हुँ । त्यो बाटो बन्न शुरू भएको छ तर भारतीय ठेकेदारले समस्या ल्याएको छ । त्यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छौं ।
यी सबै काम हामीले गरेका कारणले यो क्षेत्र अगाडि आएको छ । दमक चिसापानी सडक अढाई अर्ब रूपैयाँ विनियोजन गराएको छु । मंगलबारेबाट बेलासे हुँदै झापा जाने बजेट ल्याएको हुँ ।
ओली सरकारको पालामा केचनाकञ्चनजंगा राजमार्गको केचना हुँदै डाँडाबारी र बेलासेबाट एयरपोर्ट हुँदै पाँचथर र ताप्लेजुङ जाने सडक ५६ करोड प्रत्येक वर्ष विनियोजन हुने गरी योजना ल्याएको छु । अब यसले गर्दा इलाम नगरपालिका अगाडि आउँछ । इलाममा खानेपानीको समस्यालाई बाहिर रहँदा पनि समाधान गरेको छु ।
तपाईंलाई समेत जोडेर सामाजिक सञ्जालमा ‘नो नट अगेन’ भन्ने अभियान चलाएका छन् नि ! त्यसमा तपाईंको प्रतिक्रिया के हो ?
– जसरी मेरो कुरा भन्ने राख्ने अधिकार छ । उहाँहरूलाई पनि आफ्नो कुरा राख्ने अधिकार छ । यसमा मेरो कुनै टिप्पणी छैन ।
लोकान्तर डट कमबाट