सिन्धुपाल्चोकवासी भन्छन् : चुनावमा नेता देख्न त पाइयो, पिचबाटो, खानेपानी, रोजगारी कहिले देख्न पाइएला ?

शम्भु दंगाल/कुवेर गिरी

सिन्धुपाल्चोक, कात्तिक २१ twitter sharing button
काठमाडौँको छिमेकी जिल्ला र छिमेकी देश चीनको सिमानामा रहेको सिन्धुपाल्चोक जिल्ला विकास निर्माणका हिसाबले धेरै लामो समय पछि पर्‍यो । बिस्तारै विकासको गति लिइरहेको यो जिल्ला बेला बेला प्राकृतिक प्रकोपको चपेटामा समेत पर्ने गरेको छ ।

मुख्य रूपमा कृषि पेसा अँगालेका यहाँका स्थानीय हरेक प्रत्येक निर्वाचनका बेला भोट माग्न घर घरमा आउने नेताका कुरा सुन्दा उत्साहित हुने र पछि भनेजस्तो काम नहुँदा निराश हुने गरेका छन् ।

साझा गुनासोको रूपमा चुनावमा भोट दिएर पठाएपछि नेताहरूले जनताका घरमा फेरी फर्केर नजाने र उनीहरूले गरेका बाचा पनि कार्यान्वयनमा नआउने बताएका छन् ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो गरिरहेका बेला हामीले सिन्धुपाल्चोकका स्थानीयको केही प्रतिनिधिमूलक जनआवाज सङ्कलन गरेका छौँ ।

उनीहरूको साझा गुनासोको रूपमा चुनावमा भोट दिएर पठाएपछि नेताहरूले जनताका घरमा फेरी फर्केर नजाने र उनीहरूले गरेका बाचा पनि कार्यान्वयनमा नआउने बताएका छन् ।

निर्मला श्रेष्ठ (सुनकोसी गाउँपालिका वडा नं ७ रातमाटे) 

देशको स्थिति भयावह बनिरहेको छ । हामी खाई नखाई बच्चाहरूलाई पढाइ रहेका छौ । पछि के होला भनेर कति धेरै पिर लाग्छ । हामी एउटाले मात्र पिर मानेर हुँदैन । नेपालको जनता नै भेडा छन् ।

को निस्किएला र सक्षम नेता ? । नेताले केही गर्लान् भन्ने विश्वास छैन । देशको अवस्था पछि झन् के होला ? कसो होला ? झन् चिन्ता लाग्छ । हाम्रो त आधा उमेर भयो । बच्चाहरुको भविष्य के होला ? भन्ने चिन्ता धेरै लाग्छ ।

अहिलेसम्म त्यस्तो कोही देखेको छैन । गर्छ भन्ने विश्वास पनि छैन । अहिले उठेका जितेर आफै बनौँ भन्ने खालका मात्र हुन् जस्तो लाग्छ ।

अहिले भोट माग्न नेताहरू कोही माछा, कोही घण्टी चिन्ह भनेर आएका छन् । यस्तो गर्छु, उस्तो गर्छु भन्छन् । भन्ने मात्र हो कि गर्ने पनि हो ? हाम्रो देश बचाउने, देशमा केही गर्ने र देशलाई राम्रो बाटो लाने खालका नेता भए हुन्थ्यो । अहिलेसम्म त्यस्तो कोही देखेको छैन । गर्छ भन्ने विश्वास पनि छैन । अहिले उठेका जितेर आफै बनौँ भन्ने खालका मात्र हुन् जस्तो लाग्छ ।

भोट त हाल्नु पर्ला । कहिले त भोट नै नहालौँ जस्तो लाग्छ । देशमा रोजगारी छैन । बच्चाका लागि जागिर खोज्न कहाँ जाने ? के जागिर दिने ? अवसर समेत नेताहरूका मानिसले मात्र पाउँछन् । हाम्रो कुरो कसले सुन्छ । कि पैसा खुवाउनुपर्‍यो, कि आफ्नो मानिस हुनुपर्‍यो ।

तोपबहादुर सुनुवार (सुनकोसी गाउँपाली –४ यामुनडाडा)

अहिलेसम्म यो स्थानमा चुनावी गतिविधि सामान्य छ । चहल पहल बढ्ने क्रममा छ । हाम्रो यामुनडाँडामा विकास कमी छ । गर्छु भन्ने कति नेता थिए, तर राम्ररी हेरेका छैनन् । गरिब निमुखा जनतालाई हेर्ने, गाउँको विकास हेर्ने, सर्वहारा जनताको भलो गर्ने खालका नेताहरू यो ठाउँमा भए हुन्थ्यो जस्तो लाग्छ ।

अहिले उम्मेदवार भएका नेतामा त्यो गुण पाएको छैन । यहाँको समस्या भनेको पिचबाटो, खानेपानी राम्रो छैन, रोजगारी छैन, गरिबी छ । यी सबै समस्या समाधान गर्ने नेता चाहिएको थियो । विगतमा जित्नेले साधारण ठिकठिकै काम गरेका छन् । राम्रो गरेका पनि छैन ।

 

दलबहादुर बुढाथोकी (सुनकोसी गाउँपालिका सुनखानी ८१ वर्ष)

अहिलेसम्म धेरै पटक भोट हाले । गाउँ र समाजले जे भन्छ । त्यो नेता चुन्ने हो । विकास प्रेमी, राम्रो जो छ त्यसलाई भोट हाल्ने हो ।

रत्नमाया नेपाल ( सुनकोसी गाउँपालिका –४ बिङदेल) 

नेताहरूले हामीलाई चुनाव अगाडि मात्र चिन्छन् । चुनाव पछाडि भेट्ने, चिन्ने गर्नुहुन्न । अहिले भोट माग्न आइरहेका छन्, भोट दिएपछि चिन्दैनन् । अहिले भोट माग्न आउँदा के समस्या छ ? त्यो पुर्‍याउँछु, यो गर्छु, त्यो गर्दिन्छु भन्छन् नै । समस्या एक कानले सुन्छन्, अर्को कानले उडाउँछन् ।

‘एक घर एक धारो’को नारा पनि थियो । त्यो हामीले पाएको छैन । भोट त पहिले पनि हालेको हो, अव पनि हाल्छौ । कहिले त भोट हाल्नै नजाने र सुतेर बस्नु जस्तो हुन्छ । भोट हालेको भोलिपल्ट नेताले चिन्दैन । भोट माग्न आउँदा समस्या सुन्छन् । तर पुरा गर्दैनन् ।

गोकुल ध्वज थापा (सुनखानी गाउँपालिका– ५  गोइमासे)

यो पटकको चुनावमा केही नयाँ अनुहार आएका छन् । उहाँले गर्नुहुन्छ, गर्नुहुँदैन थाहा छैन । नयाँ जोस जाँगरले केही गर्नुहोला भन्ने अलिअलि आस पनि छ । नेताहरूको केही विश्वास लाग्दैन । पुरानाहरूले पनि झुटो आश्वासन देखाएर यो गर्छु, त्यो गर्छु भनेर ढाँट्ने काम गरेका थिए । देशमा अहिलेसम्म हेर्दा हेर्न लायकको काम कसैले पनि गरेको देखिँदैन । दिगो लाग्दो र भरलाग्दो नेताहरू भएको अवस्था छैन ।

कान्छा तामाङ (सुनकोसी गाउँपालिका–५ बाँसबोटे टोल)

आजभोलि दैनिक रूपमा नेताहरू भोट माग्न आइरहेका छन् । उनीहरू प्रति विश्वास थियो, अहिले पनि छ  तर नेताहरूले  केही गर्दैन । यो ठाउँका जनता मरेको मरै छ । भोट माग्ने बेलामा आउँछन्, फकाउँछन् ।

नेताले पनि त्यस्तालाई साथ लिँदा रहेछन् । गाउँमा बस्नेलाई वास्तै गर्दैनन् । चुनाव बाहेक अन्य समय नेता देख्न पाइँदैन ।

जितेपछि फुटेको आँखाले पनि हेर्दैनन् । जितेपछि फर्किएर पनि आउँदैन, दुःख भयो भने हेर्दा पनि हेर्दैन । कुरो पनि गर्दैनन् ।

नेताहरूले केही गर्थ्यो होला तर यो गाउँका नेताहरूका अगाडि पछि लाग्ने मानिसले नेताहरूले जे दियो त्यो गोजीमा हाल्छन् । नेताले पनि त्यस्तालाई साथ लिँदा रहेछन् । गाउँमा बस्नेलाई वास्तै गर्दैनन् । चुनाव बाहेक अन्य समय नेता देख्न पाइँदैन ।

हिरालाल लामा मोक्तान (सुनकोसी गाउँपालिका – ५ रतनकोट)

चुनाव प्रचार सुरु भयो । नेताहरू आउन थालिसके । कोही आए, कोही अझै आउन बाँकी छ । हामीलाई घ्याङ चाहियो, गुरु पद्म सम्भवको मूर्ति बनाउँदैछौँ त्यसलाई पुरा गर्नुपर्‍यो । यो ठाउँ राम्रो बनाउनुपर्‍यो भनेर माग गरिरहेका छौ ।

रमादेवी नेपाल (बलेफी गाउँपालिका कोठे बिन्जेल)

कसलाई जिताएर के हुन्छ भने जस्तो लाग्न थालिसक्यो तर भोट त हाल्छु । जितेपछि हेर्दैनन् । आवश्यक ठाउँमा आफ्नो मान्छे मात्र राख्छन् । नेताहरूले आस देखाउने, केही नगर्ने रहेछन् । केही गरे त हुन्थ्यो नि ।

अनलाइन खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?