बाबु नारायण ढकालका साथमा लक्ष्मी एन्जल । तस्बिर : अंगद ढकाल/कान्तिपुर
धर्मसन्तान बनाएर लक्ष्मीलाई जर्मनी पठाउने क्रममा तयार पारिएका सरकारी कागजातमा उनका बाबु नारायण ढकालको मृत्यु भएको र आमा बिना ढकाल सम्पर्कविहीन भएको उल्लेख थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौंले यस्तो विवरणसहित २ वर्षीया लक्ष्मी र उनका ४ वर्षीय दाजु राजकुमारलाई राख्न बालमन्दिर पठाएको थियो ।
बालमन्दिरले ०५६ असोज १४ राष्ट्रिय अखबारमा यही विवरणको सूचना प्रकाशित गरेर उनीहरूको दायित्व स्विकार्न कोही नआएपछि धर्मसन्तानका रूपमा जर्मनी पठाइदिएको थियो । जर्मन दम्पती पिटर माइकल एन्जल र अन्के पेपेनबर्गले यी दाजुबहिनीलाई धर्मसन्तान बनाएर लगे । बालमन्दिरले तयार पारेको कागजातमा लक्ष्मीको गाउँ नुवाकोटको सिल्ले भएको पनि उल्लेख थियो ।
छुट्टिने बेलामा सोधिन्, ‘के नेपालमा छोरीले आफ्नो बाबुलाई छुन मिल्छ ? अँगालो हाल्न मिल्छ ?’ नेपाली परम्परामा पनि बाबुछोरीको अंकमाल माया र स्नेह साट्ने माध्यम हो भन्ने जवाफ पाएपछि कसेर
अँगालो हालिन् ।
बाबुको मृत्यु भएकाले आमालाई भेट्न सकिन्छ कि भन्ने झिनो आशा लक्ष्मीसँग थियो । जर्मनीमा हुर्किएकी उनलाई आफ्नो अनुहार अन्य साथीहरूको भन्दा किन फरक छ, कपाल किन कालो छ र आफू किन जर्मन बाबुआमाभन्दा फरक छु
भन्ने प्रश्नले छटपटी थियो । यही छटपटीको उत्तर खोज्न नेपाल आएकी उनले भनेकी थिइन्, ‘मेरो घर कहाँ हो ? आमा
कहाँ छिन् भन्ने उत्तर भेटुँला ?’
बाबु नारायण ढकाल र धर्मबाबु पिटर माइकल एन्जलका साथमा लक्ष्मी एन्जल । तस्बिर : अंगद ढकाल/कान्तिपुर
समाचार प्रकाशित भएपछि लक्ष्मीको परिवारबारे अनेक सूचना प्राप्त भए । जसमा नुवाकोटमा सिल्ले गाउँ नभएको बरु सल्ले अथवा सिम्ले हुन सक्ने सम्भावना देखियो ।
नुवाकोट सदरमुकाम बिदुरमा कार्यरत सोही गाउँका पत्रकार नवदीप अजनवीले सिम्ले गाउँमा ०५५ सालतिर केही ढकाल परिवारको बसोबास रहेको र लक्ष्मीको कथा यही गाउँसँग जोडिएको हुन सक्ने सूचना दिए ।
यस्तो सूचनालाई पुष्टि हुने केही आधार पनि उनले खोजे । यस्तो सूचनालाई जिल्लास्थित कान्तिपुर संवाददाता कृष्ण थापाले पुष्टि गरे । सोही गाउँका शिक्षक भेषराज लामिछानेलाई नारायण ढकालबारे सूचना भएको विवरण प्राप्त भयो । दुई दशक पहिले नै सिम्लेबाट बसाइँ सरेर हाल काठमाडौंको मातातीर्थनजिकै बसोबास गर्दै आएका लामिछाने र नारायणका आफन्त अर्जुन ढकाल पनि सम्पर्कमा जोडिए ।
सानोमा जर्मन बुबा माइकलका साथ दाजु राजकुमार र लक्ष्मी ।
दुवैले दिएको सूचना थियो, १२ वर्षको उमेर छँदै बाबुको मृत्यु भएपछि गरिबी र अभावसँग जुध्दै हुर्किएका नारायण २० वर्षको उमेरतिर कामको खोजीमा काठमाडौं आएर स्वयम्भूतिर बसेका थिए । ज्यामी र मजदुरी गर्दागर्दै उनको मन बिनासँग साटिएको थियो ।
मन्दिरमा बिहे गरेर दुःखजिलो जीवन निर्वाह गर्दागर्दै उनका दुई छोरी र एक छोरा भए । अभाव र खटपटका दिनबीच उनी कामको खोजीमा भारततिर पसेका थिए । त्यसपछि उनका बारे भेषराज र अर्जुनसँग प्रस्ट सूचना थिएनन् । तर दुवै जनाको साझा अनुमान थियो, पोखरातिर छन् रे, ठेक्कापट्टाको काम गर्छन् रे ।
- कहाँ होला लक्ष्मीको घर ?
पोखरास्थित कान्तिपुर संवाददाता दीपक परियारले अपुष्ट सूचनाका आधारमा नारायण ढकाल पोखराको महतगौडातिर बस्ने पत्ता लगाए । उनी सम्पर्क सूत्रहरूका आधारमा महतगौडास्थित घरधनीको सम्पर्कमा पुगे । यसरी सरकारी कागजातमा मृत भनिएका नारायण भेटिए । सुरुमा त उनले उनकी छोरीले खोज्दै आएको पत्याएनन् । कान्तिपुरमा प्रकाशित समाचार पढेपछि भने उनले भने, ‘हो, लक्ष्मी मेरै छोरी हो ।’
जर्मन बुबा माइकल एन्जल र आमा अन्के पेपेनबर्गका साथमा लक्ष्मी र राजकुमार ।
कामको खोजीमा भारत पसेका नारायण भनेजस्तो काम नभेटिएर एकाध महिनापछि फर्किएका रहेछन् । तर उनले श्रीमती र तीन छोराछोरी नभेटेका रहेछन् । घरायसी खटपटका कारण श्रीमती कतै बालबच्चा बोकेर गएको हुन सक्ने अड्कल भए पनि नभेटेपछि उनी कामको खोजीमा पोखरातिर हान्निएका रहेछन् । बेलाबेला उनलाई छोराछोरीको झल्को आउँथ्यो तर तिनीहरू कहाँ भन्ने थाहापत्तो थिएन । उनलाई कसैले सुनाइदियो, अलपत्र बालबालिका कहिलेकाहीं बालमन्दिरमा पनि भेटिन्छन् । एक पटक उनी काठमाडौं आएर बालमन्दिर पुगे पनि केही सूचना भेटेनन् ।
दुई वर्षकी लक्ष्मी र ४ वर्षका राजकुमारलाई जर्मन दम्पतीले धर्मसन्तान बनाएर लगे पनि जेठी छोरी कहाँ छिन् भन्नेबारे न नारायणले केही बताउन सके न सरकारी कागजपत्रमै सूचना भेटियो । नारायणले नै ससुराली गोरखातिर रहेको र पन्त थरको रहेकोसम्म सूचना आफूलाई भएको बताए ।
उनकै सूचनाका आधारमा कान्तिपुरका गोरखा संवाददाता हरिराम उप्रेतीले खोजबिन थाले । उनले नारायणकी श्रीमती छेपेटारकी पन्त हुन सक्ने सूचना सुनाए । धेरै स्थानीयसँग सोधपुछ गरेपछि थाहा भयो, बिनाको माइती छेपेटार रहेछ । नारायण खबरबिनै भारत हान्निएपछि बिनाका दाइ मीनबहादुर पन्तले ठूली भान्जी अर्थात् जेठी छोरीलाई ल्याएर पालेका रहेछन् ।
त्यसो भए जेठी छोरी कहाँ छिन् त ? स्थानीयबाट मामा मीनको दुई वर्षअघि नै मृत्यु भएको सूचना मात्रै मिलेन उनले पालेकी भान्जीको बिहे सिरानचोक गाउँपालिका साडीमुढेमा थापा परिवारमा भएको थाहा पाइयो । स्थानीयसँगको सोधपुछबाट जेठी छोरी तारा भनिने लक्ष्मीको सम्पर्क पत्ता लाग्यो ।
कान्तिपुरको कुराकानीमा ताराले भनिन्, ‘बा र आमा दुवै बेपत्ता भए । मेरो भाइ र बैनी छन् भन्ने सुनेको हो । तर कहाँ छन् थाहा छैन । मलाई भने मामाले ल्याएर पालेका हुन् ।’ उनले बाबुआमाको पहिचान नखुलेकै कारण आफ्नो नागरिकता पनि नबनेको दुखेसो मात्रै सुनाइनन्, माइती नभएकाले सधैं चाडबाडमा खल्लो हुने गरेको पनि सुनाइन् ।
०००
भारतबाट फर्किएपछि झन्डै ५ वर्ष एकल जीवन बिताएपछि नारायणले दोस्रो बिहे गरेछन् । महतगौडा बस्ने उनी हिजोआज दमौलीतिर ठेक्कापट्टाको काममा व्यस्त रहेछन् । छोरी भेटिएको खबर सुनेपछि काम चटक्कै छाडेर काठमाडौं हान्निए । कान्तिपुरको कार्यालयमा आइपुगेका उनले आफूले सपनामा पनि नचिताएको कुरा भेटेको बताए ।
२६ वर्षपछि उनले जेठी छोरीको बारेमा सूचना पाए । आफूहरूले जेठी छोरीको नाम लक्ष्मी, कान्छीको भगवती र छोराको
नाम तिलक राखिदिए पनि धर्मसन्तान बनाएर लैजाँदा नाम फेरिएको कुरा चाल पाए । उनले साढे दुई दशकपछि छोरीसँग फोनमा बोले ।
गहभरि आँसु पार्दै भने, ‘समयको खेलले के के भयो छोरी । अब म तिमीलाई भेट्न तिम्रो घरै आउँछु ।’ नारायणले ज्वाइँका बारेमा सोधे, घरपरिवारका बारेमा सोधे, सन्तान भएका छन् कि छैनन् सोधे । तारा अर्थात् लक्ष्मीले तीन वर्षका जुम्ल्याहा छोरी भएको बताइन् । नारायणले भने, ‘अब नातिनी भेट्न आउँछु । नागरिकताको पीर नगर । त्यो पनि बनाइदिन्छु ।’
काठमाडौं आएको दोस्रो दिन नारायणले जर्मनी पुगेकी छोरी लक्ष्मीलाई भेटे । लक्ष्मीले सरकारी कागजातमा मरिसकेको भनिएका बाबुलाई आफ्नै आँखा अगाडि भेटिन् । लक्ष्मी र नारायणले एकअर्कालाई धेरैबेरसम्म हेरिरहे । उनीहरू दुवैका गहभरि आँसुले ढलपल थियो ।
बाबु–छोरीको यो मिलनलाई हेरिरहेका धर्मबाबु माइकलले रसाएका आफ्ना आँखा पुछे र भने, ‘यो सबै दृश्य देखेर मेरो मनमा खेलिरहेका कुरा बताउने कुनै शब्द नै छैन ।’ लक्ष्मीले धेरैबेरसम्म बाबुको अनुहारमा हेरिन् र जर्मन बाबु माइकलतिर फर्केर भनिन्, ‘हेर्नुस् त मेरो र बाबुको नाक कसरी ठ्याक्कै मिल्छ । अनुहार रङ पनि त उस्तै छ ।’
तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर
लक्ष्मीले आफ्नो परिवार कहाँबाट आएको हो ? बाबु र आमाको जीवनमा भएका घटनाबारे बेलीविस्तारले सोधिन् । लक्ष्मीले जर्मन भाषामा सोधेका जिज्ञासा अनुवादकले नेपालीमा उल्था गरिदिएका थिए । नारायणले बताएका कुरा पनि उनले उसैगरी अनुवादकमार्फत बुझिन् ।
यही कुराकानीमा थाहा पाइन्, उनकी दिदी पनि छन् । जोसँग बाबु नारायणको २६ वर्षपछि अघिल्लो दिनमात्रै कुराकानी
भएको छ । लक्ष्मीले आफ्नो खास नाम भगवती रहेको र यो पनि हिन्दुहरूको भगवान्को एउटा नामबाट राखिएको थाहा
पाउँदा मुसुक्क हाँसिन् ।
लक्ष्मीले कान्तिपुरसँग खुसी साट्दै वर्षौंदेखि मनभित्र आफू कहाँ र कस्तो परिवारबाट आएकी हुँ भन्ने प्रश्नको उत्तर भेटेको बताइन् । उनले आफूसँग यस्तो अनौठो खुसी व्यक्त गर्ने शब्द नै नभएको बताइन् ।
नारायणले जीवनमा पाएको सबैभन्दा ठूलो खुसी यही भएको बताउँदै भने, ‘कम्तीमा छोरी जिउँदै छिन्, उनले असल परिवार पाएकी छन् र उनी खुसी रैछिन् भन्ने थाहा पाएँ । अब छोरासँग पनि भेट होला भन्ने आशा लागेको छ ।’
नारायण र लक्ष्मीले धेरैबेरसम्म एकअर्कालाई हेरे । बाबु छोरीबीच आँखाको भाकाबाट कुरा भइरहेजस्तो देखिन्थ्यो । तर भाषाले उनीहरूको संवादलाई रोकिरहेको थियो । लक्ष्मीले आफ्नी आमाबारे पनि जिज्ञासा राखिन् । तर बिनाबारे कुनै खबर भेटिएन ।
बिनाको माइतीका बाबुआमा र उनका दाइ पनि बितिसकेकाले उनी कहाँ छिन् वा छैनन् भन्नेबारे कसैले सूचना दिन सकेनन् । जेठी छोरी ताराले पनि आफूले आमाबारे थाहा नपाएको दुई दशकभन्दा धेरै भइसकेको र मामाघरमा पनि कसैलाई थाहा नभएको बताइन् । छेपेटारबाट आएका बिनाका भदै मनोज पन्तले फुपूलाई आफूले वर्षौंदेखि नदेखेको र केही पत्तो नभएको बताए । उनले भने, ‘हामीले केटाकेटी छँदै फुपूबारे सुनेको हो । तर उहाँ कहाँ कस्तो अवस्थामा हुनुहुन्छ थाहा छैन ।’
लक्ष्मीको परिवारबारे भेटिएको समग्र सूचनामा उनकी आमा कहाँ गइन् भन्ने पाइएन । अनि लक्ष्मी र राजकुमारलाई कसले प्रहरीमा पुर्यायो ? प्रहरीले किन उनीहरूको परिवारको बारेमा विस्तृतमा नबुझी बाबुको मृत्यु भएको र आमा सम्पर्कमा नरहेको भन्दै बालमन्दिरमा बुझायो भन्ने सूचना पाउन सकिएन ।
नारायणले लक्ष्मी जहाँ भए पनि खुसी रहेको र असल परिवार पाएको भन्दै माइकललाई धेरै धन्यवाद दिए । उनले भने, ‘मैले जन्म दिए पनि उहाँहरूले असल कर्म दिनुभयो । अब छोरीको खुसी देखेपछि मलाई सबै पुगेजस्तो भयो ।’
छुट्टिने बेला लक्ष्मीले संवाददातालाई सोधिन्, ‘के नेपालमा छोरीले आफ्नो बाबुलाई छुन मिल्छ ? अँगालो हाल्न मिल्छ ?’ नेपाली परम्परामा पनि बाबुछोरीको अंकमाल माया र स्नेह साट्ने माध्यम हो भन्ने थाहा पाएपछि उनले बाबुलाई बलियोसँग अंकमाल गरिन् । अनि छेवैमा रहेको धर्मबाबु माइकललाई तानिन् । दुवै बाबुको हात समातेर भनिन्, ‘हामी तीनै जनाको एउटा फोटो खिच्दिन मिल्छ ?’
कान्तिपुरबाट