नेताले नदेखेको थामी बस्तीको पीडा

विद्या राई/राजकुमार कार्की

सिन्धुली,

अलिकति हिँड्यो कि सन्चु थामीको श्वास बढ्छ । ८० वर्षकी उनले दम, सुगर, प्रेसर, थाइराइड र ग्यास्ट्रिकको औषधि खान थालेको १६ वर्ष भइसक्यो । महिनैपिच्छे जचाउन र औषधि लिन सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित जिल्ला अस्पताल जानुपर्छ ।

 

सिन्धुली सदरमुकामनजिक चिसापानी गाउँकी ८० वर्षीया सन्चु थामी । सडक सुविधा नहुँदा उनी सकस बेहोरेरै अस्पताल पुग्ने गर्छिन् । तस्बिर : विद्या राई/कान्तिपुर
उनको घर भएको चिसापानी गाउँ र अस्पतालको दूरी चार किलोमिटरजति छ । नजिकै भए पनि उनलाई सदरमुकाम पुग्न हम्मेहम्मे पर्छ । घरमुनिसम्म बाटो जोडिएको छ, कच्ची । अटो पाइए पनि मनपरी भाडा लिन्छन् ।
‘बाटो बिग्रेको छ भन्छन्, उता जाँदा कसैले पचास, सय, डेढ सय रुपैयाँ लिन्छन्,’ उनले भनिन्, ‘एक्लो बिरामी मान्छे आयआर्जन छैन, गाह्रो छ नि †’
सोमबार दिउँसो उनी आधाबाटो हिँडेरै गइन्, त्यसपछि आफन्तले अटोमा चढाएर अस्पताल पुर्‍याए । घर फर्कने बेला अस्पतालबाट आधा बाटो हिँडेरै पार गरिन् ।

संघीय राजधानी काठमाडौंदेखि बीपी राजमार्ग हुँदै १३५ किमि पूर्व लागेपछि पुगिन्छ, सिन्धुली सदरमुकाम । ठूला पक्की घर, सदरमुकामको सबैजसो भागमा कालोपत्रे सडक र जिल्लाकै मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्र यहाँका विकासे पहिचान हुन् ।

उपत्यका र बीपी राजमार्गको दाहिनेपट्टि पर्छ सदरमुकाम । यहाँबाट ठीक पारिपट्टिको थामी बस्तीमा पुगेर सन्चुजस्तै पात्रका कथा सुनेपछि लाग्छ– विकास आउन अझै वर्षौं लाग्नेछ ।

हरेकजसो चुनावमा नेताका आश्वासनले थामी बस्ती पुलकित बन्छ, जब चुनाव सिद्धिन्छ यहाँको गरिबी र अशिक्षाको चक्र पहिलेजसरी नै घुमिरहन्छ । 

पाखोबारीमा ६ महिना खान पुग्ने गरी अन्न फल्दैन । अधिकांशले घर बनाउने, रंग्याउने काम गर्छन् । सिजनअनुसार अलिअलि फलेका केरा, कटहर, सुन्तला, मेवाजस्ता फलफूल बेच्नका लागि सदरमुकाम लैजान कठिन छ ।

६३ वर्षीय मंगलबहादुर थामी भन्छन्, ‘बाटो कालोपत्रे भइदिए नुनतेल किन्ने खर्च आउँथ्यो ! के गर्नु, कच्ची छ, पाकेको केरा अटोमा हालेर बजार पुर्‍याउँदा कच्याककुचुक्क भइसक्छ ।’ आफैंले भारी कसेर बजार पुर्‍याउन पनि सक्दैनन् ।

कुलो खन्न जाँदा ढुंगा लागेर उनको एउटा खुट्टा फ्य्राक्चर भयो । त्यतिबेला ११ वर्षका थिए । अहिले हिँडडुल गर्दा बैसाखी र लौरोको भर लिनुपर्छ ।

 


८० वर्षका अशक्त बाबुलाई स्याहारिरहेका मंगलबहादुर थामी । तस्बिर : विद्या राई/कान्तिपुर

सदरमुकाम नजिकै भए पनि थामी बस्ती विकासमा पछाडि छ । ‘बाटोमा बजेट हाल्दा पनि क्षेत्री टोललाई २२/२३ लाख हाल्छन्, हामी थामी, कामी टोललाई पाँच/पाँच लाख मात्रै पर्छ,’ ९० वर्षका अशक्त बाबुलाई स्याहारिरहेका बेला भेटिएका मंगलबहादुरले भने, ‘सरकारमा हाम्रो प्रतिनिधित्व गर्ने मान्छे नभएपछि पछाडिको पछाडि नै हुनुपर्ने रहेछ ।’

चुनावी प्रचारमा यहाँ पनि विभिन्न दलका नेता र कार्यकर्ता आउने क्रम चलिरहेको छ । उनी ‘बाटो कालोपत्रे गरिदिनुपर्ने’ माग गरिरहेका छन् ।

समग्र जीवनस्तर नै कमजोर भएको २२ घर थामी बस्तीको मुद्दा बाटोसँग मात्रै जोडिएको छैन । खानेपानीको दु:ख उस्तै छ । बाबुबाजेकै पालादेखि खानेपानीको अभाव खेप्दै आएको सोमबहादुर थामीले सुनाए ।

केही वर्षअघि एउटा संस्थाले सहयोग गरेर तल लब्दाह खोलाबाट पानी लिफ्टिङ गरेका छन् । पानी तान्न लाग्ने बिजुली र एक जना हेरालुको पारिश्रमिकका लागि प्रतिपरिवार मासिक २४० रुपैयाँ तिर्नुपर्छ ।

खानेपानीको समस्याले महिलाको दैनिकी घरायसी काममै बित्ने गरेको छ भने बालबालिकाको पढाइ नियमित छैन ।

वल्लो र पल्लो टोलले दिन बिराइबिराइ मात्रै पानी थाप्न पाउँछन् । ‘पालो आएको दिन एउटा परिवारले ४० लिटरजति थाप्न पाउँछ, तेल सम्झिएर खाएका छौं, मोटर बिग्रेको दिन गाग्रो लिएर डेढ घण्टा टाढा खोला पुग्नुपर्छ,’ सोमबहादुरले भने ।

खानेपानीको समस्याले महिलाको दैनिकी घरायसी काममै बित्ने गरेको छ भने बालबालिकाको पढाइ नियमित छैन । शैक्षिक स्तर उक्सन नसक्दा थामी समुदायले ज्यालामजदुरी गरेर जीविका चलाउनुपरिरहेको सोमबहादुर बताउँछन् ।

खानेपानीको समस्या टार्न यहाँका अगुवाले पहल नगरेका होइनन् । ‘११/१२ वर्षअघि सरकारबाट २८ लाख बजेट आएको थियो, सर्वेक्षण गर्दा ५२ लाख चाहिने भो, काम नहुने भएपछि फ्रिज भएर गयो,’ उनले भने ।

०७४ को निर्वाचनमा पनि दलहरूले खानेपानी पुर्‍याउने आश्वासन बाँडेको तर जितेर गएपछि कहिल्यै फर्केर नहेरेको थामी समुदायको गुनासो छ ।

‘पाँच वर्षअघि भोट माग्न आउँदा सानो कुरा त रहेछ, यति त भइहाल्छ नि भने, अस्ति नि भोट माग्दै आएका थिए, त्यही भने,’ एक थामी अगुवाले भने, ‘हेर्नेलाई सानो लाग्न सक्छ तर हामी चैत/वैशाखमा काकाकुल हँुदै आएको पीडा कसले बुझ्ने ?’

थामी समुदायमा अधिकांशको घर टायलले छाइएको छ । सन्चुको परिवार ०७२ को भूकम्पले मूलघर भत्काएपछि आफन्तको थोरै जग्गामा भाटाले बारेर, टायलले छाएको सानो छाप्रोमा सरेको छ ।

सन्चुका छोराछोरी विवाह गरेर आ–आफ्नै परिवारमा बाँडिए । टायलको छानो ठूलो पानी पर्दा चुहिन्छ । भागमा बचेको २५ धुर जग्गा बाटोमुनि पर्छ । उनलाई त्यहीं चिटिक्कको घर बनाएर बस्न मन छ ।

चिसापानीमा थामी बस्तीका वयस्क पुस्ता कमैले मात्रै विद्यालय शिक्षा लिएका छन् । विद्यालय गएकाहरू पनि गरिबीको पुस्तैनी चक्रले बीचैमा पढाइ छोड्न बाध्य छन् ।

मंगलबहादुरकी कान्छी छोरीले एसईई गरेपछि सिभिल इन्जिनियर पढ्ने इच्छा राखिन्, तर उनले पास गर्न सकिनन् । अहिले पढाइ छोडेर काठमाडौंमै एक संस्थामा काम गरिरहेकी छन् ।

 

सिद्धज्योति शिक्षा क्याम्पसमा उपप्रध्यापक नानीबाबु घिमिरेले थामी जाति शैक्षिक र आर्थिक रूपमा कमजोर हुँदा समुदायको विकासमा अवरोध पुगेको बताए ।

‘थामी विद्यार्थीको भाषा, रहनसहन भिन्न छ, उनीहरूलाई विद्यालय शिक्षाको पाठ्यक्रमअनुसार अघि बढाउन सकिएको छैन,’ उनले भने, ‘बीचैमा विद्यालय छोड्छन्, एसईई पास गर्ने नै निकै कम छन् ।’

उनका अनुसार अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीले पढाइलेखाइमा निरन्तरता दिन सक्दैनन् । ‘उनीहरू बिस्तारै श्रम रोजगारीतिरै लाग्छन्, अधिकांशले घर बनाउने र रंग्याउने पेसा अपनाएका छन्,’ उनले भने, ‘यो चक्र थामी समुदायको पुस्तामा घुमिरहेको छ ।’

थामी बस्ती रहेको चिसापानी गाउँमा तामाङ, दलित र राई परिवार पनि छन् । आफूहरूको प्रतिनिधित्व नभएकै कारण पिछडिनुपरेको कमलामाई नगरपालिका–५ का वडा सदस्य टेकबहादुर तामाङले बताए ।

कमला र मरिनखोला छेउछाउ आदिवासी राई, दनुवार र माझी बस्ती छन् । गुराँसे डाँडा गाउँमा लोपोन्मुख अल्पसंख्यक हायुको बसोबास छ ।

‘कहिल्यै प्रतिनिधित्व भएन, कसैले दिएन, यही भएर यसपाला म आएको छु, प्रतिनिधित्व भएपछि त थोरथोरै भए पनि भागमा पर्दो रहेछ,’ उनले भने, ‘तर त्यतिले मात्रै पुग्दैन, प्रदेशमा र संघमा जितेर जानेले पनि हेर्नुपर्‍यो, आश्वासन मात्रै दिएर भएन ।’

अगुवाहरूका अनुसार चिसापानीमा २२ परिवार, महेश्वोतामा ३५ परिवार, बस्तीपुरमा २ सय परिवार, लदाभीरमा ३५ परिवार थामी छन् । उनीहरू लोपोन्मुख अल्पसंख्यक जातिभित्र पर्छन् ।

कमला र मरिनखोला छेउछाउ आदिवासी राई, दनुवार र माझी बस्ती छन् । गुराँसे डाँडा गाउँमा लोपोन्मुख अल्पसंख्यक हायुको बसोबास छ ।

२ लाख ९७ हजार २४९ जनसंख्या रहेको सिन्धुलीमा कुल मतदाता २ लाख ८ हजार ३६९ छन् । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ मा थामी बस्ती पर्छ ।

यहाँ गठबन्धनबाट माओवादीका लेखनाथ दाहाल र एमालेबाट मनोजजंग थापा उम्मेदवार छन् । माओवादीको पोलिटब्युरो सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज दाहाल ०७४ को निर्वाचनमा प्रदेशसभाका लागि उम्मेदवार बनेका थिए ।

पहिलो पटक उठेका थापा भने एमालेमा बुद्धिजीवी परिषद्का केन्द्रीय संयोजक हुन् । सिन्धुलीमा प्रतिनिधिसभाका लागि उनीहरू मुख्य प्रतिस्पर्धी मानिन्छन् । दुवैले थामी समुदायलगायत लोपन्मुख, सीमान्तकृत समुदायको समृद्धिका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए ।‘

सबै समुदायका मुद्दा सम्बोधन गर्छौं, गरिबी र पछ्यौटेपन अन्त्य गरी थामी समुदायलाई रोजगारी र समृद्धिमा समावेश गरिनेछ,’ गठबन्धनका उम्मेदवार दाहालले भने ।

पछाडि परेका हरेक समुदायलाई पर्यटन पूर्वाधारमा जोड्ने, कलकारखाना विकास गरेर आर्थिक समृद्धि ल्याउने लक्ष्य रहेको एमाले उम्मेदवार थापा बताउँछन् ।

कान्तिपुरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?