गोरखा, कार्तिक २३
नेताहरूले अनेक आश्वासन बाँडेर जनताको भोट लिन्छन्। तर, चुनाव जितेपछि गाउँघर त के जिल्ला सदरमुकामसम्म पनि फर्केर आउँदैनन्। पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा गोरखाली मतदाताले यही समस्या व्यहोर्दै आएका छन्। गोरखाबाट जतिले चुनाव जितेका छन् प्रायः काठमाडौंतिरै पलायन भएका छन्।
२०१५ सालको आमनिर्वाचनमा गोरखा (क्षेत्र नम्बर ४०१) बाट विश्वनाथ सुवेदी र ४०५ बाट कोमलबहादुर कुँवरले राष्ट्रिय गोरखा परिषद्बाट चुनाव जिते। सुवेदी यसै पनि गैरगोरखाली थिए। उनी काठमाडौंतिरै बसाइँ गरे। कुँवर भने बुढेसकालसम्म जिल्लामै रहे।
सुधारिएको पञ्चायती व्यवस्थामा ०३९ सालको चुनावमा नारायण मल्ल र यदुप्रसाद भट्ट निर्वाचित भए। मल्ल जिल्लामै रहे। भट्टले गोरखा छाडे। काठमाडौंमै बसोबास गरे।
जनताको आवाज सिंहदरबारसम्म पुर्याउने जिम्मेवारी पाएका दुवै जनाले गोरखालाई पिठ्युँ फर्काए। चुनाव लड्न मात्र गोरखा आउने गरी काठमाडौं बसाइँ सरे।
०४३ सालमा राजेश्वर देवकोटा र वीरेन्द्र पोखरेलले चुनाव जिते। देवकोटाले पाएको ४२ हजार भोट देशकै धेरै थियो। जनताको आवाज सिंहदरबारसम्म पुर्याउने जिम्मेवारी पाएका दुवै जनाले गोरखालाई पिठ्युँ फर्काए। चुनाव लड्न मात्र गोरखा आउने गरी काठमाडौं बसाइँ सरे।
०४६ को राजनीतिक परिवर्तनपछि जनताले विकास र समृद्धिको ठूलो आशा गरे। तर, जनताको मत लिएर काठमाडौंतिरै बिलय हुने परम्परा रोकिएन। बरु त्यो क्रम बढिरह्यो।
गोरखा नगरपालिकाकी नानुमाया रानाले चुनाव जितेपछि नेताहरूले वास्तै नगर्ने बताइन्। ‘भोट दिएर के हुँदो रहेछ र ?’ रानाले भनिन्, ‘चुनाव जितेपछि नेताहरू फर्केर पनि आउँदैनन्।’
गोरखाली जनताले ०४८ मा क्षेत्र नं. १ बाट चिरञ्जीवी वाग्ले, २ बाट मैयादेवी श्रेष्ठ र ३ बाट चीनकाजी श्रेष्ठलाई जिताएर संसद्मा पठाए। तर, उनीहरू पनि काठमाडौँमै बसाइँ सरे। मैयादेवी यसै पनि गैरगोरखाली थिइन्। वाग्ले र श्रेष्ठ पनि काठमाडौमैं बस्न थाले।
हरिलाल जोशीले पनि गोरखा छाडे। त्यसपछि जिल्लाको राजनीतिमा फर्केर आएनन्। केन्द्रीय राजनीतिमा रहेका वाग्ले, श्रेष्ठ र पन्त भने पार्टीको कार्यक्रम र आमनिर्वाचनका बेला आउनेजाने गरिरहे।
त्यसपछि ०५१ को मध्यावधि चुनावमा पनि गोरखा १ का मतदाताले गोरखा छाडिसकेका चिरञ्जीवी वाग्ले, ३ का मतदाताले चीनकाजी श्रेष्ठ र २ का मतदाताले कमला पन्तलाई भारी मत दिएर सिंहदरबार पठाए।
वाग्ले र श्रेष्ठले यसअघि नै गोरखा छोडिसकेका थिए। यसपटक नयाँ प्रतिनिधि बनेकी पन्तले पनि गोरखा छाडिन्। ०५६ मा उनै वाग्ले, पन्त र क्षेत्र नं. ३ बाट हरिलाल जोशी निर्वाचित भए। त्यसपछि जोशीले पनि गोरखा छाडे।
त्यसपछि जिल्लाको राजनीतिमा फर्केर आएनन्। केन्द्रीय राजनीतिमा रहेका वाग्ले, श्रेष्ठ र पन्त भने पार्टीको कार्यक्रम र आमनिर्वाचनका बेला आउनेजाने गरिरहे।
गोरखा क्षेत्र नं. २ अन्तर्गत पर्ने गोरखा बजार। तस्बिर : अशोक दुलाल
माओवादीको सशस्त्र द्वन्द्व ०६२/६३ को राजनीतिक परिवर्तनपछि शान्ति प्रक्रियामा आएर टुंगियो। ०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा यहाँका मतदाताले तीनै क्षेत्रमा कांग्रेसलाई हराएर माओवादी नेतालाई जिताए। क्षेत्र नं. १ बाट पार्वती थापा, २ बाट डा. बाबुराम भट्टराई र ३ बाट अमर तमू निर्वाचित भए।
तमुले जिल्ला छाडेनन्। भट्टराई र थापाले गोरखा छाडे। केन्द्रीय राजनीतिमा रहेकाले भट्टराई भने कहिलेकाहीँ गोरखा आइरहन्छन्। आक्कलझुक्कल देखिनेबाहेक थापाले पनि गोरखा छाडिन्।
नेताहरूले अनेक आश्वासन बाँडेर जनताको भोट लिन्छन्। तर, चुनाव जितेपछि गाउँघर फर्केर आउँदैनन्। पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा गोरखाली मतदाताले यही समस्या व्यहोर्दै आएका छन्। त्यही थलोमा चुनाव लड्न यसपटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन्।
दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट डा. बाबुराम भट्टराई, २ बाट हितराज पाण्डे र ३ बाट छमबहादुर गुरुङले निर्वाचित भए। डा. भट्टराईले यसअघि नै जिल्ला छाडेका थिए। पाण्डेले पनि आधाआधी बसाइ काठमाडौं र पोखरा सारे। गुरुङले भने जिल्ला छाडेका छैनन्।
छिट्टै एक्साइटेड हुने र दुःखी पनि भइहाल्ने स्वभावका कारण दाहालले जन्म र कर्मभूमि छोडेर गोरखा छनोट गरेको जानकार बताउँछन्।
संविधान घोषणापछिको पहिलो २०७४ को निर्वाचनमा गोरखा १ बाट हरिराज अधिकारी र २ बाट बाबुराम भट्टराई नै विजयी भए। काठमाडौं स्थायी बसोबास रहेका भट्टराईको के कुरा, अधिकारीले पनि गोरखाको बसाइ कटौती गरे।
आधाआधी बसाइ काठमाडौं, बाकी समय चितवनलाई दिने उनी पनि पार्टीको कार्यक्रम र आम चुनावका बेला आक्कलझुक्कल मात्र गोरखा फर्कने गर्छन्। गोरखा नगरपालिकाकी सावित्रि थापाले यसपालि हामीलाई जिताउनुपर्छ भन्दै भोट माग्न आउने धेरै रहे पनि चुनावपछि नेताहरूले वास्ता नगर्ने बताइन्।
प्रचण्ड पनि उस्तै हुने हुन कि ?
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा चुनाव लड्न आउनेमा नौला उम्मेदवार हुन्। डा. बाबुराम भट्टराईले आफूले प्रतिनिधित्व गर्दै आएको गोरखा २ छोडेपछि दाहाल उम्मेदवार बनेका हुन्।
बार एसोसिएसन गोरखाका पूर्वअध्यक्ष स्थानेश्वर दुवाडीले दाहाल चितवन ३ बाट निर्वाचित हुन नसक्ने भएपछि गोरखा आएको टिप्पणी गरे। ‘सजिलै निर्वाचन जित्न सकिन्छ भन्ने भएर नै चितवनबाट गोरखा सरेका हुन्,’ अधिवक्ता दुवाडीले भने, ‘चितवनमा गठबन्धनबाट सहयोग होला÷नहोला भन्ने शंका रह्यो।’
नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट दाहालले उम्मेदवारी दिँदै निकै ठूलो सांकेतिक महत्वको संकेत गरेका छन्। यससँगै उनी चार क्षेत्रमा उम्मेदवारी दिने नेता बनेका छन्।
गोरखा बजारमा भेटिएका दाहालका सहकर्मी एक शिक्षकले भने, ‘अघिल्लो चुनावको मुखमा छोरा प्रकाश बिते। अहिले पत्नी अस्पतालमा शय्यामा हुनुहुन्छ। त्यसमाथि चुनाव हारेपछि सर्वस्व गुमेको महसुस हुन सक्थ्यो।’
‘नयाँ शक्तिको पार्टी अध्यक्ष हुँदा डा. बाबुराम भट्टराईलाई भोट हालेका हौं,’ गोरखा बजारका बासिन्दा लालबहादुर रोकाले भने, ‘यसपटक कता भोट हालौं भन्ने भएको छ। राजनीतिक माहौल मन परिरहेको छैन।’
दाहालले २२ वर्ष उमेरमा आरुघाटस्थित भीमोदय माविमा पढाएका थिए। ०४५ सालमा नेकपा (मसाल)का महामन्त्री र सैन्य आयोग प्रमुख हुँदा पनि गोरखा आएका थिए। उनका सिरुबारी, तिरानचोकमा वर्षमान पुन (अनन्त), चन्दप्रकाश खनाल (बलदेव), नेत्र विक्रम चन्द (विप्लव) र रवीन्द्र श्रेष्ठलाई सैन्य तालिम दिएका थिए। त्यसबेला हतियारसहित गोरखा आउने क्रममा मुग्लिनमा उनी झन्डै पक्राउ परेका थिए।
छिट्टै एक्साइटेड हुने र दुःखी पनि भइहाल्ने स्वभावका कारण दाहालले जन्म र कर्मभूमि छोडेर गोरखा छनोट गरेको जानकार बताउँछन्। ‘चितवनबाट हारिहालेको अवस्थामा सहन गर्न गाह्रै पर्छ,’ गोरखा बजारमा भेटिएका दाहालका सहकर्मी एक शिक्षकले भने, ‘अघिल्लो चुनावको मुखमा छोरा प्रकाश बिते। अहिले पत्नी अस्पतालमा शय्यामा हुनुहुन्छ। त्यसमाथि चुनाव हारेपछि सर्वस्व गुमेको महसुस हुन सक्थ्यो।’
डा. भट्टराई र श्रेष्ठको आड
६६ वर्षीय दाहाल जसरी पनि चुनाव जित्न चाहन्छन्। उम्मेदवारी दर्ता गरेका दिन उनले गोरखाबाट सहकर्मी डा. भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम लिँदैे आफ्नो जित निश्चित भएको बताएका थिए।
श्रेष्ठलाई गोरखामै रहेर रणनीति बनाउन प्रचण्डले अह्राएका छन्। उनलाई सघाउने वचन दिएका डा. भट्टराई काठमाडौंमै छन्। उनी दाहालसँगै कात्तिक २४ गते गोरखा आउने कार्यक्रम छ।
बार एसोसिएसनका पूर्वअध्यक्ष दुवाडीले डा. भट्टराई र श्रेष्ठको सहयोग नपाए पनि दाहाल बलियो अवस्थामा रहेको दाबी गरे। ‘अहिलेको परिवेशमा माओवादीको पक्षमा भएको निर्वाचन क्षेत्र गोरखा २ हो। स्थानीय तहको निर्वाचनमा माओवादीको चुनावी नतिजा राम्रो थियो,’ दुवाडीले भने, ‘डा भट्टराई र नारायणकाजीको सहयोगले थप बल प्राप्त भएको छ।’
दाहालले ४५ बुँदे रणनीतिक योजनासहितको खाका स्थानीय मतदातालाई वितरण गरेका छन्। जसमा गोरखाबाट आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्ने उद्घोष छ।
१२ सय मेगावाटको बूढीगण्डकी परियोजना सफल पार्ने, बेनीघाट, आरुघाट लार्के रुइला नाका जोड्ने सडक सम्पन्न उनले योजनामा समेटेका छन्। माथिल्लो गोरखालाई पर्यटकीय स्थल बनाउने, कृषिमा आधुनिकीकरणमार्फत कृषि क्रान्ति ल्याउनेलगायतका योजनाहरू मतदातामाझ सुनाइएको छ।
तीन पुस्ताको भिडन्त
गोरखा २ मा २९ वर्षका अब्दुस मियाँ सतारदेखि १ सय वर्षका नेपाली कांग्रेस (बीपी) का टीकादत्त पोखरेल चुनावी मैदानमा छन्। चुनावी मैदानमा दोस्रो पुस्ताका उम्मेदवारको संख्या अधिक छ।
जसमा ६६ वर्षका दाहाल पनि छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्त (४६) नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने (४६), हाम्रो नेपाली पार्टीका प्रकाश थापा (५६) चुनावी प्रचार–प्रसारमा व्यस्त छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत (५४), नेपाल कम्युनिष्ट पार्टी (माले)का नारायणबाबु आचार्य (५८) चुनावी मैदानमा छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी (४२), स्वतन्त्रबाट गणेश देवकोटा (५२) र विनोद कुमार गुरुङ (४४) चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।
विगतमा जो व्यक्तिलाई निर्वाचनमा विजयी बनायौं। ती उम्मेदवारलाई गोरखाबाट बसाइँ सर्न अनुमति दिएजस्तो भयो। काठमाडौं बसाइँ सर्न मार्गप्रशस्त गरेजस्तो भयो।
– स्थानेश्वर दुवाडी, अधिवक्ता
मतदाताले विश्वास गर्न छाडेका छन्। उम्मेदवारका घोषणापत्र सम्पूर्ण कार्यान्वयन हुन्छ भन्ने आशा गर्ने ठाउँ छैन।
– बद्री मास्के, व्यवसायी
विगतमा निर्वाचित व्यक्तिबाट प्रभावकारी काम हुन सकेन। उम्मेदवारहरूसँग ५० प्रतिशत मात्र आशावादी हुन सकिन्छ।
– धीरजबहादुर मास्के, व्यवसायी
नेताहरू नमस्कार गर्दै भोट माग्न आउँछन्। चुनाव जितेपछि वास्तै गर्दैनन्। भोट दिएर के हुँदो रहेछ र ?
– नानुमाया राना, गोरखा नगरपालिका
अन्नपूर्णपाेस्ट्बाट