कति सुरक्षित नेपालका झोलुङ्गे पुल ?

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै वडागाउँ कैयामा रहेको झोलुङ्गे पुल। तस्वीरः रासस

अनिता भेटवाल

कात्तिक १३ गते राति भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किंदा १४१ जनाको मृत्यु भयो। दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबी पुल भत्किएको थियो। बेलायतको शासनकालमा १९औं शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भार गरेको चार दिनपछि खुला गरिएको थियो।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै वडागाउँ कैयामा रहेको झोलुङ्गे पुल। तस्वीरः रासस

यस घटनासँगै झोलुङ्गे पुलको सुरक्षा र आयुबारे सोधखोज बढेको छ। नेपालमा अहिले नौ हजार ७६७ वटा झोलुङ्गे पुल रहेको सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनीयर प्रवेश रेग्मी बताउँछन्। यी पुलहरूको आयु कम्तीमा १०० वर्ष भएको उनको भनाइ छ।

नेपालका झोलुङ्गे पुलको आयु १०० वर्ष तोकिएको छ। यहाँका प्रायः पुल २०२१ सालपछि निर्माण भएकाले सुरक्षित रहेको विज्ञहरू बताउँछन्। 

“नेपालमा भारतको गुजरातको पुलको जस्तो दुर्घटना हुने जोखिम छैन‚” रेग्मी भन्छन्, “नेपालमा बनेका २०२० सालयताका पुलले अझै ४०–५० वर्ष धान्छ।” नेपालमा व्यवस्थित तथा योजनाबद्ध ढङ्गले २०२१ सालदेखि झोलुङ्गे पुल निर्माण हुन थालेको हो।

नेपालका झोलुङ्गे पुलको आयु १०० वर्ष तोकिएको छ। तर‚ समय समयमा मर्मतसम्भार नभए जति वेला पनि भत्कन सक्ने झोलुङ्गे पुल निर्माण विशेषज्ञ नरेन्द्रराज जोशी बताउँछन्। उनका अनुसार‚ नेपालमा हालसम्म भत्किएका तथा प्रयोग गर्न नमिल्ने अवस्थाका झोलुङ्गे पुलको अध्ययन भएको छैन।

जोशी भन्छन्‚ “यो अध्ययन नभएसम्म भत्किएको देखेपछि मात्र मर्मत गर्ने अभ्यासले पनि दुर्घटना नहोला भन्ने अवस्था छैन।” झोलुङ्गे पुलको वेला वेला अनुगमन र चेकजाँच गर्नुपर्ने उनको सुझाव छ।

जोशीको भनाइमा डिभिजनका प्रमुख भरत अर्यालको पनि समर्थन छ। तर‚ बजेट अभाव र कार्यालयको कार्यक्षमताले नभ्याएकाले काम हुन नसकेको उनको भनाइ छ।

“सबै झोलुङ्गे पुलको तथ्याङ्क हेरेर पुराना भएका पुलको अवलोकन गर्नुपर्ने काम हो। त्यो आवश्यक छ‚” अर्याल भन्छन्‚ “तर‚ त्यसका लागि भनेर बजेट छुट्टिएको हुँदैन। यही कुरा नीतिमा पनि उल्लेख गर्नु आवश्यक छ।”

गुजरातको मोरबी पुल। तस्वीरः एफपी

बर्सेनि ५०० पुलको माग

भौगोलिक कठिनाइ भएका, पर्यटकीय र धार्मिक स्थलमा झोलुङ्गे पुलको माग बढिरहेको छ। प्रत्येक वर्ष ५०० वटाभन्दा बढी पुलको माग रहेको स्थानीय पूर्वाधार विभागले जनाएको छ। विभागले आर्थिक वर्ष २०७८/७९ मा ५९४ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो।

स्थानीय तहबाट माग बढेपछि पुल बनाउने जिम्मेवारी बाँडफाँड गरिएको छ। सर्ट स्पान (१२० मिटरसम्म) पुल निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ।

लङ स्पान (१२० मिटरभन्दा लामो) पुल भने प्रदेश र संघले निर्माण गर्ने सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनीयर रेग्मी बताउँछन्। आर्थिक स्रोतमा नेपाल सरकार र प्रविधिमा हेलवेटास नेपालले सहयोग गर्छन्।

देश संघीयतामा गएपछि स्थानीय र प्रदेश सरकारले पनि पुल निर्माण गर्न थालेपछि डिभिजनसँग त्यसको तथ्याङ्क नरहेको इन्जिनीयर रेग्मी बताउँछन्। डिभिजनसँग पुलको तथ्याङ्क यकीन नहुँदा त्यसको आयु कति भन्ने छ थाहा नहुने भएकाले नियमित मर्मतसम्भारको विकल्प नभएको जोशी बताउँछन्।

“झोलुङ्गे पुल कति सुरक्षित भन्ने कुरा पुल कहिले बनेको र कस्तो भौगोलिक अवस्थामा छ भन्ने कुराले निर्धारण गर्छ। त्यो नभएपछि मुख्य सुरक्षाको आधार भएन,” जोशी थप्छन्, “बाढी, पहिरो, भूकम्पले पुलको फाउन्डेशन बिगारेको हुन्छ। त्यसैले यस्ता झोलुङ्गे पुलमा नियमित रेखदेख गर्ने हेरालु राख्नुपर्छ।”

संघीयता पूर्व झोलुङ्गे पुल निर्माण झोलुङ्गे पुल रणनीति, २०६१ का अनुसार हुन्थ्यो। जिल्ला विकास समितिबाट तलब दिएर प्रत्येक पुलमा प्राविधिक ज्ञान भएका एक जना हेरालु राखिन्थे। उनले पुलको हेरचाह गर्थे।

पुलमा आएको प्राविधिक समस्या समाधान हेरालुले गर्न नसके जिल्ला विकास समितिले गर्थ्यो। तर‚ अहिले हेरालु छैनन्। लठ्ठा लच्किने र नटहरू खुकुलो भएको देखेपछि मात्र मर्मत हुने गरेको छ।

नियमित रूपमा यस्ता काम संघीय सरकारले गर्न नसक्ने भएकाले उक्त जिम्मेवारी प्रदेश र स्थानीय सरकारको पनि रहने भनी नीति बनाउनुपर्ने डिभिजन प्रमुख अर्यालको सुझाव छ।

उनी भन्छन्, “यससँगै देशभरका झोलुङ्गे पुलको वर्षमा एक पटक रिपोर्टिङ भए अझ सुरक्षाको प्रत्याभूति हुन्थ्यो। यसका लागि शाखाको चाहनाभन्दा योजनामा पर्नुपर्छ।”

इलामको माई नगरपालिका-१ र ६ मा माईखोलामा निर्मित ८२० मिटर लामो झोलुङ्गे पुल। तस्वीरः धनबहादुर फागो/हिमालखबर

झोलुङ्गे पुलको प्रकार

नेपालमा लम्बाइ अनुसार झोलुङ्गे पुललाई सर्ट स्पान (छोटो झोलुङ्गे पुल) र लङ स्पान (लामो झोलुङ्गे पुल) भनी वर्गीकरण गरिएको छ। १२० मिटरभन्दा छोटोलाई सर्ट स्पान र १२० मिटरभन्दा लामोलाई लङ स्पान भनिन्छ।

यस्तै‚ प्रकार अनुसार सस्पेन्सन डी टाइप, सस्पेन्सन एन टाइप र स्टील ट्रस भनी विभाजन गरिएका छन्। डी टाइप सामान्यतः पहाडी भेग र समथर भूभागमा एन टाइपको झोलुङ्गे पुल निर्माण गरिन्छन्। धेरै लामो दूरी भएको नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिन्छ।

कसरी गर्ने सुरक्षा ?

पुलले निश्चित क्षमता मात्र धान्न सक्छ। त्यसैले पुलमा प्रवेश गर्नुअघि त्यस्तो सूचना हेर्न आवश्यक हुन्छ। विशेष गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका पुलमा भीड हुने भएकाले सर्वसाधारण आफैं सजग हुनुको विकल्प छैन।

झोलुङ्गे पुल निर्माण विशेषज्ञ जोशी अहिले पनि पुरानै ढाँचाका झोलुङ्गे पुल निर्माण भइरहेको बताउँछन्। पहिले नदी तर्ने उद्देश्यले पुल बनाइए पनि अहिले दूरी घटाउने‚ पर्यटकीय प्रयोजनका लागि पनि बनाइन्छ।

ती पुलमा मोटरसाइकल पनि कुदाउने गरिन्छ। यसले पनि जोखिम बढाउने उनको भनाइ छ।

अहिले २२ सयभन्दा बढी पुलको माग आइसकेको डिभिजनले जनाएको छ। त्यसैले पुल कसरी र कस्तो स्थानमा बनाउने भन्ने पहिलेको मापदण्डमा सुधार गर्नुपर्ने विज्ञको सुझाव छ।

तर‚ नेपालका झोलुङ्गे पुल सुरक्षित रहेको डिभिजनका प्रमुख अर्याल बताउँछन्। उनका अनुसार‚ नेपालमा प्राकृतिक प्रकोपका कारण एक-दुई वटा झोलुङ्गे पुल भत्किने बाहेकको घटना भएको छैन।

“राणाकालमा नै बनेका पुलहरू अझै मजबूत छन्। हामीले त २०२० सालदेखि बनाउन थालेका हौं,” उनी भन्छन्, “नेपालमा अहिलेसम्म एक-दुई वटा पुल प्राकृतिक प्रकोपले भत्किएका छन्।”

हिमाल खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?