रामचन्द्र न्याैपाने
डाेल्पा, कार्तिक २४
प्रभावकारी भएन मतदाता शिक्षा
हिमाली जिल्ला डोल्पाका नागरिकहरुले मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । निर्वाचन आउन १० दिनमात्र बाँकी रहँदा मतदाता शिक्षा दिन गाउँघरमा कोही पनि नआएको उनीहरुको गुनासो छ ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाले गत १७ गतेदेखि नै सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाकालागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन् ।
निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागुगर्दा जनता मतदाता शिक्षाबाट बञ्चित हुनु परेको त्रिपुरासुन्दरी नगरपालिका- १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । उनले भने, ‘गाउँघरमा अधिकाशंलाई मत हाल्ने तरिका थाहा छैन ।
स्वाथ्य स्वयमसेविकाहरु मतदाता शिक्षा दिन आउने कुरा थियो, तर अहिलेसम्म कोही पनि आएका छैनन् ।’ निर्वाचन हुनुपूर्व मतदान गर्न नसिकी सिधै मतदान गर्न जाँदा मत बदर हुने सम्भावना धेरै हुने गरेको उनको भनाई छ ।
उपल्लो डोल्पामा कहिल्यै पुग्दैन मतदाता शिक्षा
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा भने विगत देखिका कुनैपनि निर्वाचनमा मतदाता शिक्षा पुग्ने नगरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । डोल्पोबुद्ध, छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि कुनैपनि कार्यक्रम नपुगेको उनीहरुको भनाइ छ ।
उपल्लो डोल्पाका अधिकांश नागरिक अशिक्षित छन् । शिक्षाको अवसरबाट बञ्चित रहेका उपल्लो डोल्पामा धेरै जसो मतदातालाई मतहाल्ने तरिका नै थाहा नभएको छार्काताङ्सोङ् गाउँपालिकाका १ का अध्यक्ष धावा लावाङ्गले बताए ।
उनले भने, ‘कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी नभए कै कारण उपल्लो डोल्पामा मत बदर हुने गरेको छ, गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि मतदाता शिक्षा दिन कोही पनि आएनन् ।’ यस पटक पनि मतदाता शिक्षा दिन निर्वाचन कार्यालयले खटाएका कोही कर्मचारीहरु यहाँ नआएको उनले बताए ।
मतदाता शिक्षा प्रभावकारी भएन : मुख्य निर्वाचन अधिकृत
मतदाता शिक्षाको उद्देश्य भनेको कमभन्दा कम मत बदर होस भन्ने रहेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्ने वित्तिकै मतदाता शिक्षा लागु गर्नु पर्ने उनको भनाइ छ ।
उनले डोल्पाको उत्तरी क्षेत्रमा एउटै गाउँबाट अर्को गाउँमा जाँदा तीन चार दिन लाग्ने गरेकाले पनि आयोगले अन्य समयमा पनि मतदाता शिक्षा लागु गर्नुपर्ने उनको भनाइ छ । मतदाता शिक्षा प्रभावकारी नभएकै कारण यहाँ प्रत्येक निर्वाचनमा धेरै मत बदरहुने गरेको उनले जानकारी दिए ।
जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफै हाल्न नपाउने र सामान्य व्यक्तिले समेत ‘वारेस मत’ हाल्न लगाउने गरेको सरोकारवालाको भनाइ छ ।
नयाँ पत्रिकाबाट