प्युठान, कार्तिक २५
निर्वाचनको मिति जतिजति नजिकिदै छ, प्युठानमा निर्वाचन उतिउति रोचक बन्दै गएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल आफ्नो विरासत जोगाउने दाउमा छिन् ।
उनको विरासत भत्काएरै छाड्ने कसरत गरिरहेका छन् एमालेका सूर्य थापा । थापाको संसदीय अभ्यास यो पहिलो हो । दुई पटक संसदको स्वाद चाखिसकेकी पौडेल तेस्रो पटक सांसद बन्न खोज्दै छिन् ।
ठाडो बोली र कठोर शब्दका एमालेका उम्मेदवार थापा बेला–बेला विवादमा तानिन्छन् र चर्चामा आइरहन्छन् । आलोचकले उनलाई छुद्र स्वभावको व्यक्ति भनेर खिसी ट्यूरी गर्छन् । मन पराउनेले थापालाई मन सफा भएको हक्की र निडर स्वभाव भएका कर्मठ योद्धाको रुपमा चित्रण गर्छन् । तर, उनी आलोचकको आरोपमा सहमत छैनन् । ‘मेरा आलोचकले मलाई छुच्चो भन्छन् ।
छुद्र भनेर चित्रण गर्ने प्रयास गर्छन् । मेरो बोली र ब्यवहार कतिपयलाई मन नपर्न सक्छ । तर, यसमा कुनै सत्यता छैन । म जे बोल्छु यर्थाथ र सत्य बोल्छु र लेख्छु,’ उनले भने, ‘खरो बोल्ने, स्पष्ट बोल्ने ब्यक्तिको मन सफा हुन्छ । हो, त्यस्तै मेरो बोली खरो छ, तर मन सफा र सहयोगी छ ।’
कुनै बेला जनमोर्चाको पकड क्षेत्र मानिने प्यूठानमा पछिल्लो समय जनमोर्चा कमजोर बन्दै गएको छ । स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा प्यूठानमा जनमोर्चा चौथो स्थानमा छ । तर, सत्ता गठबन्धन दलको मत एमालेको भन्दा बढि छ ।
जिल्लामा पालिका प्रमुखको मतपरिणामअनुसार गठबन्धनको ४८ हजार १७१ र एमालेको ३९ हजार १२८ मत छ । यो आधारमा एमाले प्यूठानमा नौ हजार ४३ मतले पछि छ । जिल्लाको २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ ।
सत्तागठबन्धन दल कांग्रेस र माओवादी केन्द्रले धोका नदिए मात्र जनमोर्चाकी दुर्गा पौडेललाई जित निकाल्न सहज हुने देखिन्छ । पटक पटक सांसद भए पनि विकासका योजना ल्याउन नसकेको आरोप पौडेलमाथि लाग्ने गरेकोले उनलाई जित्न त्यति सजिलो नभएको प्यूठानका एक नेताले बताए ।
त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले एक हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले एक हजार ३२२ मत प्राप्त गरेको छ ।
जनमोर्चाको प्रभाव देखिएको पार्टीका महामन्त्री मोहनविक्रम सिंहको जन्मथलो झिमरुक गाउँपालिकामा गत स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेको छ । त्यहाँ माओवादी र कांग्रेसबीच गठबन्धन थियो ।
सत्तागठबन्धन दल कांग्रेस र माओवादी केन्द्रले धोका नदिए मात्र जनमोर्चाकी दुर्गा पौडेललाई जित निकाल्न सहज हुने देखिन्छ । पटक पटक सांसद भए पनि विकासका योजना ल्याउन नसकेको आरोप पौडेलमाथि लाग्ने गरेकोले उनलाई जित्न त्यति सजिलो नभएको प्यूठानका एक नेताले बताए । पौडेल जनमोर्चाका महासचिव मोहनविक्रम सिंहको पत्नी हुन् ।
कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणा समेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बन्नेमा उनी ढुक्क छन् ।
तर, पौडेल विपक्षीको भनाईमा सहमत छैनिन् । उनी प्यूठानी जनता आफ्नो साथमा रहेको दावी गर्दै सत्तागठबन्धनको साथ आफूलाई भएको बताउँछिन् । ‘मलाई सत्तागठबन्धन दलको साथ छ । स्थानीय तह निर्वाचनमा पाएको मत हेर्ने हो भने हाम्रो मत नौ हजार बढि छ ।
म जित्नेमा ढुक्क छु,’ उनले भनिन् । सत्तागठबन्धनमा आएको विचलन र जनमोर्चाका नेता, कार्यकर्ताले धमाधम पार्टी छोडेर एमालेमा प्रवेश गरेपछि एमाले उम्मेदवार थापा उत्साहित देखिन्छन् । निर्वाचनकै क्रममा एमाले प्रवेश गर्नेहरूको लहरले आफ्नो जित निश्चित भइसकेको उनको दावी छ ।
यस पटक कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणा समेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बन्नेमा उनी ढुक्क छन् । बैशाखदेखि जिल्लामा जनमोर्चा सहित ६० जना जिल्लास्तरिय नेता एमाले प्रवेश गरेपछि उनी थप हौसिएका छन् । ‘पालिका प्रमुखको मत हेर्दा एमाले पछि देखिए पनि समग्रमा एमाले प्यूठानमा विजयी हुने निश्चित जस्तै छ ।
वैशाखदेखि जिल्लामा ६० जना जिल्ला तहका नेताहरू पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाको च्यानल नै तोडेर एमालेमा प्रवेश गराउन सफल भएका छौँ । त्यस कारण एमाले डराउँदैन । त्यति मात्र होइन, गठबन्धनभित्र चरम असन्तुष्टिको फाइदा हामीले लिन्छौँ’, थापाले भने ।
मोहनविक्रमका छोरी र ज्वाइँलेसमेत छाडे साथ
यसबीच राष्ट्रिय जनमोर्चाको गढ प्यूठानमा विस्तारै तोडिँदै गएको छ । मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाईँसमेत छैनन् । उनीहरू एमाले प्रवेश गरेका छन् ।जिल्ला तहका नेताहरू अर्जुन विक, मोहन रोकालगायत पनि एमालेमा गइसकेका छन् ।सिंहका भाइ पर्ने सुरेन्द्र जीसी पनि एमालेमै छन् । सिंहकी बहिनी अजिता सिंह ढकाल, ज्वाइँ योगेन्द्र ढकाल पनि एमाले प्रवेश गरेका छन् ।
कांग्रेस प्यूठानका प्रभावशाली नेताको असहयोग
त्यसमाथि यस पटक कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणासमेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बनेको राजनीतिक विश्लेषक बताउँछन् । डा. पोखरेल ०७४ सालको निर्वाचनमा पौडेलसँग झिनो मतअन्तरले पराजित भएका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले गठबन्धनका कारण यस पटक कांग्रेसबाट टिकट नपाएपछि पौडेललाई भोट नहाल्ने र मत परिणाम फरक आउने चेतावनी दिइसकेका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत पौडेलका लागि भोट माग्न र दिन नसकिने स्पष्ट पारिसकेका छन् । उनले असहयोग गरे पौडेलको भोट घट्ने निश्चित छ ।
२०४८–२०७४ सालसम्म प्यूठानमा को–को भए सांसद ?
प्रजातन्त्र पुनर्स्थापनापछि विक्रम सम्वत् ०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा प्यूठानको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारे । उक्त निर्वाचनमा प्यूठान क्षेत्र नं. १ मा कांग्रेसका शिवराज सुवेदी र क्षेत्र नं. २ मा कांग्रेसकै मुक्तिप्रसाद शर्मा विजयी भए ।
त्यसपछि ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा प्यूठानको दुवै निर्वाचन क्षेत्रमा मसालका नवराज सुवेदी विजयी भए । तर, मसालले काम गर्न नसकेको भन्दै ०५६ सालको निर्वाचनमा त्यहाँका मतदाताले दुई वटै निर्वाचन क्षेत्रमा जनमोर्चाका उम्मेदवारलाई विजयी गराए । उक्त निर्वाचनमा क्षेत्र नं. १ मा हरिप्रसाद आचार्य र क्षेत्र नं. २ बाट फेरि नवराज सुवेदी विजयी भए ।
पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि ०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो । उक्त निर्वाचनमा प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भए । निर्वाचनमा क्षेत्र नं. १ मा बामदेव गौतम र क्षेत्र नं. २ मा हिराबहादुर केसी विजयी भएका थिए ।
शान्ति प्रक्रियासँगै ०६४ सालको संसदीय निर्वाचनमा संसदीय प्रणालीको पहिलो अभ्यास गर्दै थियो माओवादी । त्यति बेला माओवादीले ‘की गोठ, की नोट, की भोट’ भन्ने नारा लगाएको प्यूठानी मतदाता अहिले पनि सम्झिन्छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्यूठान क्षेत्र नं. १ बाट माओवादीका नारायणप्रसाद अधिकारी क्षेत्र नं. २ बाट माओवादीकै दीपक केसी विजयी भए ।
पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि ०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो । उक्त निर्वाचनमा प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भए । निर्वाचनमा क्षेत्र नं. १ मा बामदेव गौतम र क्षेत्र नं. २ मा हिराबहादुर केसी विजयी भएका थिए ।
संविधान जारी भएपछि प्यूठान दुई निर्वाचन क्षेत्रबाट एकमा खुम्चियो । ०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चासहितको गठबन्धन बनेर संघीय चुनावमा जनमोर्चाकी दुर्गा पौडेलले जितिन् । उनलाई जिताउन अहिलेको निर्वाचनमा कडा टक्कर दिइरहेका एमालेका सूर्य थापाले काँध थापेका थिए । पौडेल ०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएकी थिइन् ।
नयाँपत्रिकाबाट