कविता
सरिता दाहाल
त्यो एउटै मात्रै पहिलो र अन्तिम पल थियो,
जुन दिन म बेस्सरी रूंदा
तिमी बेस्सरी खुसी थियौ,
म बेस्सरी अत्तालिएथे,
तिमी ढुक्क थियौ ।
म पीडाहीन भएर पनि रूँदै थिएँ,
तिमी शारीरिक रूपमा
पीडा नै पीडा खपेर, मुस्काएको थियौं,
हुन त मैले कुनै नयाँ खुसी लिएर आएकी थिईन,
जसको पर्खाइमा थाकेका थिए ति आखाँहरू
जस्को उपस्थितिले आजित थियो तिम्रो तनमन,
त्यो व्यग्र प्रतीक्षाको घडी समाप्त भयो कि भन्ने आशामा
तिमीले पहिलो पटक
मेरो मुहारभन्दा गुप्ताङ्गमा हेर्यौ,
तर,
अघिल्ला चार पटक जस्तै,
यो पाँचौ पटक पनि,
तिम्रा आँखाले चाहेको अंङ्ग देख्न पाएन,
अनि बिस्तारै सक्दो आँट बटुलेर
मलिन स्वरले भन्यौ बाबालाई
“छोरी जन्मी !”
हो हामी यसैगरी एउटा रुने,
र अर्को हाँस्ने गर्दै चिनियौ त्यो दिन,
त्यै पलपछि हरेक पल,
हाम्रो आकांक्षाहरू समान छन्,
बाटोहरू समान छन्,
चुनौती र अवसरहरू समान छन्,
उहीँ सोच र मान्यता बोकेर
न्यायको लडाइँमा उहीँ मैदानमा छौ,
तिम्रो मनमा खुसी र सन्तोष भर्ने
मेरो यही एउटा चाहना छ,
तर, बिडम्बना आजसम्म
तिम्रो आँसुलाई हाँसोमा बदल्ने हर प्रयास बिफल हुँदै आएका छन्,
यद्यपि म थाकेकी छैन आमा,
म थाकेकी छैन,
र, थाक्ने छैन यो जनम भर ।
हेटाैडा