‘बस्ती सारिदेऊ भनेपछि भोट माग्न आउनै छाडे’

यज्ञ खत्री (स्थलगत रिपाेर्ट)

दैलेख, कात्तिक २५
कर्णाली राजमार्गको आठबीस प्रवेशद्वार हो, रामाघाट बजार । आठबीस नगरपालिका–१ मा रहेको यो बस्तीको एकातिर कर्णाली नदी छ, अर्कोतिर रामाघाट खोला । वर्षायाममा कति बेला बाढी आउँछ, ठेगान हुँदैन ।

२०५६ सालमा गाडी पुगेसँगै विस्तार भएको यो बस्तीको मुख्य समस्या बाढी–पहिरो भएको रामाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर शाही (४५) बताउँछन् । ‘बर्खा लागेपछि रामाघाट खोलामा भेल आउँछ, नदीले कटान सुरु गर्छ । खोला नै बस्तीभित्र पस्छ,’ शाहीले अनलाइनखबरसँग भने, ‘पानी पर्न थालेपछि हामी ओढारमा गएर बस्छौं ।’

गत भदौ पहिलो साता त्यस्तै भयो । घरभित्रै पानी पस्यो, बस्ती डुबानमा पर्‍यो । भागाभाग मच्चियो । दिउँसो भएकाले मानवीय क्षति भने हुन पाएन । ‘यो त हामीले वर्षैंदेखि झेल्दै आएको समस्या हो । बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन’ शाही भन्छन्, ‘धेरैले त बस्ती छाडिसके, कहीँ जान नसक्ने हामी यही छौं ।’

रामाघाट पुलमुनि खोला किनारमै करिब ८०/९० घर छन् । जसमध्ये २० परिवार बादी समुदायका छन् । अरू केही मजदुरी गरेर खाने विपन्न र दलित परिवार हुन् ।

फाइल फोटो

रामाघाट बजार क्षेत्र जोखिमपूर्ण भूगोलमा भएपनि व्यावसायिक केन्द्र भएकाले नागरिकहरु त्यहाँ व्यापार गर्दै आएका छन् । यो ठाउँ जिल्लाको आठबीस, चामुण्डा बिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिकाको प्रवेशद्वार पनि हो ।

रामाघाटमा व्यापार गर्ने उद्देश्यले आएकाहरू बेलुका घर फर्किन्छन्, तर मजदुरी गर्नेहरूको रात सन्त्रासमय हुन्छ । खोला किनारमा बसेका उनीहरूले स–साना झुप्रा बनाएका छन् । ‘डरलाग्दो ठाउँमा बसेका छौं, बेलाबेला को–को आएर सोधेर जान्छन्, तर हामी २० वर्षदेखि जहाँको त्यहीं छौं,’ स्थानीय धनसरा शाही (५५) भन्छिन्, ‘हामीलाई नेता, सरकार कसैले हेरेन ।’

भोट माग्नै गएनन् उम्मेदवार

पाँच वर्षअघिको चुनावमा घर जग्गा दिन्छौं भन्दै भोट माग्न आएका दल र तिनका नेताहरु यो पटक भने भोट माग्न बस्तीमा गएका छैनन् । ‘बस्ती सुरक्षित ठाउँमा सार्दिन्छौं भनेर पोहोर (२०७४) को चुनावमा हामी सबैले भोट हाल्यौं’ स्थानीय पुनम बिक (५७) ले भनिन्, ‘हामीले भोट दिएर जितेकाहरु फर्किएर मुख देखाउन आएनन् । यो बस्ती यहीं छ, हाम्रा दुःख जस्ताको तस्तै ।’

हामी बुधबार बस्तीमा पुग्दा अहिलेसम्म कुनैपनि दलका नेताहरु भोट माग्न नआएको स्थानीय जुवारा कठायत (५५) ले बताइन् । अहिलेपनि यहाँका स्थानीयको एउटै माग छ, बस्ती स्थानान्तरण ।

‘माथि पुलसम्म त नेताहरु भोट माग्न आएका थिए भन्ने सुनें, तर हाम्रो बस्तीमा भने अझै आएका छैनन्,’ कठायतले अनलाइनखबरसँग भनिन्, ‘नेता–मन्त्री जो आएपनि हाम्रो मुख्य समस्या भनेकै बस्ती सार्ने हो । हामीलाई सुरक्षित ठाउँमा नसारेसम्म समस्या समाधान हुँदैन ।’

उनीहरूलाई स्थानीय सरकारले आफूहरूको पीडा सुन्छ कि भन्ने थियो, तर ५ वर्षे कार्यकाल सकेर अर्को चुनाव भइसक्दा पनि स्थानीय जनप्रतिनिधिले बस्ती स्थानान्तरणका लागि कुनै प्रयास गरेका छैनन् ।

‘स्थानीय चुनाव ताका पनि बस्ती सार्दिन्छौं भन्दै नेताहरुले भोट मागे, हामीले दियौं पनि । तर अहिलेसम्म आएका छैनन्,’ जुवारा कठायतले भनिन्, ‘यो नेताले चाहिं केही गर्छ कि भन्यो भोट दियो, चुनावपछि उनीहरूको पाइलो पर्दैन । यिनीहरुप्रति विश्वास नै उडिसक्यो ।’

अहिले फेरि माहोल चुनावको छ । दलका उम्मेदवारले घोषणापत्रमा पूर्वाधार विकासका ठुल्ठूला सपना बाँडिरहेका छन् । ४ मंसिरको निर्वाचनका लागि भोट माग्न जाने उम्मेदवारलाई पुरानै बाचा सम्झाउने स्थानीयको तयारी छ ।

‘हाम्रा दुःखको हिसाब छैन’

रामाघाट खोलापट्टि बजार छ, अनि रामाघाट बगेर कर्णाली नदीमा मिसिनेपट्टि बादी बस्ती छ । ‘कोही माछा मारेर गुजारा गर्छन्, कोही ढुंगा, गिट्टीको काम गर्छन्,’ स्थानीय पवित्रा बिकले भनिन्, ‘जग्गा जमिन छैन, खेतबारी छैन । दिनभरि काम गर्‍यो, साँझ–बिहान खायो । हाम्रा दुःखको हिसाब छैन ।’

सोही ठाउँकै रामे बादी मादल बनाएर जीविका चलाउँछन् । ‘हप्तामा एउटा मादल बनाउँछु । यसले राम्रो मूल्य पाउँछ न बजार’ उनी भन्छन्, ‘घर सबै परिवार मजदुरी गछौं । तर पनि बिहान बेलुका हातमुख जोड्नै गाह्रो पर्छ ।’

बादी समुदायको आफ्नै घरजग्गा छैन । उनीहरू माछा मार्ने, नाच्ने, गाउने र मागेर गुजारा चलाउँदै आएका थिए । ‘सधैं मागेर खानुहुँदैन भनेर हामीले अरू काम गरेर गुजारा चलाउन खोज्यौं, तर सहज छैन,’ वादी समुदायका अगुवा धीरेन भन्छन् ।

यहाँका करिब ३०/४० बालबालिका दुई/तीन घण्टा हिंडेर ठाँटीकाँध पढ्न जान्छन् । विद्यालय टाढा हुँदा गाउँका धेरैजनाले पढाइ छोडेको भुपेन्द्र कठायत (२१) बताउँछन् । हाल कक्षा १० पढ्दै गरेका उनले दैनिक तीन घण्टा हिंडेर विद्यालय जानुपर्ने पीडा सुनाए ।

यहाँ स्वास्थ्यको पनि समस्या छ । भएको एउटा स्वास्थ्यचौकी गत भदौमा आएको बाढीले बगाइदियो । सामान्य उपचार गर्न पनि दुई घण्टा हिंडेर राकम बजार जानुपर्ने बाध्यता छ । जटिल रोगका उपचार गर्न सुर्खेत तथा नेपालगञ्ज नै जानुपर्छ । सडक नभएको अवस्थामा बिरामीलाई एक दिनभर बोकेर लैजानुपर्ने अवस्था हुन्छ ।

को-को छन् चुनावी मैदानमा ?

गत बुधबार मात्रै दैलेखको आठबीस नगरपालिका–४ राकम बजारमा एमालेले ठूलो चुनावी सभाको आयोजना गर्‍यो । नेताहरु घरघरमा गएर भोट मागे । रामघाट बजार हुँदै दैलेख सदरमुकाम छिरे नेताहरु, तर त्यो बस्तीमा पसेनन् ।

०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवार एमालेबाट राजबहादुर शाही र कांग्रेसका दीकपाल शाही थिए । उनीहरुले पनि पनि आश्वासन दिएका थिए । हार्ने त हार्ने भइगए, जित्ने उम्मेदवार राजबहादुर शाही कर्णाली प्रदेश सभाको सभामुख बने, तर फेरि यो बस्तीमा फर्किएर आएनन् ।

०७४ मा यही क्षेत्रबाट प्रदेश सभामा पराजित भएका कांग्रेसका दीकपाल शाहीलाई सत्ता गठबन्धनले दैलेख २ बाट प्रतिनिधि सभा उम्मेदवार बनाएको छ । राजबहादुर आकांक्षी भएपनि टिकट पाएनन् । एमालले यहाँबाट लक्षीप्रसाद पोखरेललाई उठाएको छ ।

यो क्षेत्र दैलेख-२ को प्रदेश सभा (ख) मा पर्छ । चामुण्डाविन्द्रासैनी, आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिका पर्ने यो दैलेखको पश्चिम क्षेत्र हो । ४१ हजार ४७८ मतदाता संख्या रहेको यहाँबाट प्रदेश सभा सदस्यमा दुई पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

एमालेबाट उम्मेदवार बनेका प्रदेश अध्यक्ष विनोदकुमार शाह २३ वर्षपछि चुनावमा भाग लिंदैछन्, त्यो पनि आफ्नै पूर्व सहकर्मीसँग । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका योगेन्द्र शाही पहिलो पटक चुनावमा होमिएका हुन् ।

अनलाइन खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?