निर्धाको जीवन

क्लासिक नियात्रा

आज २०२६ साल पौष २८ गते हो । हिजोको कल्पना आज रातभरमा पूरा भएछ । बिहान उठ्ता पहाडका सबै चुचुरा रजतमय देखिए । जाडो पनि बिहान निकै बढ्यो । तर, हाम्रो कार्यमा शतप्रतिशत बाधा उपस्थित गर्ने खालको भने होइन ।

हामी आजै प्रस्थान गर्न चाहन्थ्यौँ । किन्तु, अशोकजी अञ्चल सदस्य मनोनीत भएको उपलक्ष्यमा लक्ष्मीशरणजी प्रीतिभोज दिन चाहनुहुन्थ्यो । अतः प्रस्थान गर्ने कार्य आजका लागि स्थगित गर्न बाध्य भयौँ ।

दूनेका प्रायः सबै दर्शनीय स्थान हामीले हेरिसकेका थियौँ । होटलको प्राङ्गणमा घाम तापेर बस्न पनि खसी काट्ने तरखरले गर्दा उपयुक्त थिएन । म हल्लिँदै जिल्ला अदालत पुगेँ । यसका हाकिम र विचारीसित हाम्रो परिचय भइसकेको थियो । त्यहाँ पुग्नासाथ हाकिमले आदरसाथ बस्ने आग्रह गरे ।

निर्दिष्ट ठाउँमा म पनि बसेँ । एक छिन मुद्दामामिलाका गफ भए । हाकिमलाई यहाँ मुद्दै पर्दैनन् भन्ने कुरामा बडो खिन्नता थियो । अहिले अदालतमा केवल ४० मुद्दा छन् । तिनमा धेरैजसो कुटपीट, जारी र केही पारपाचुके अथवा अंशमुद्दा छन् । अड्डा–अदालतमा मुद्दा नपर्नु राम्रो कुरा हो ।

तर, हाकिम मुद्दा कम पर्छन् भन्ने कुरामा किन खेद प्रकट गर्छन् यो आफूलाई समझमा आएन ।

झगडियाहरू यदाकदा आएर कराउँथे— हजूर हामीलाई साह्रै मर्का पर्यो । ल्याएको सातू–सामल पनि सकियो । हामीलाई दया गर्नुहोस्, चाँडै छिनदिनुहोस् । यिनमा एउटी युवती पनि थिइन् । जसको नाम नेपालीमा सुन्तली र तिब्बतीमा नाङबाङ थियो । उनी गुम्बाताराकी निवासी मगर्नी हुन् ।

उनको अंशवण्डाको वा भनौँ, पतिसँग पारपाचुकेको मुद्दा थियो । यनले यहाँ धाउन थालेको वर्षौँ भयो, तर मुद्दा कहिल्यै किनार लाग्दैन । यो उनकै मुखबाट त्यहीँ सुनियो ।

यहीँ एउटाले बयान गर्यो— एकपटक मद्दा छिनिएन भनेर उनी सामनेको भैरवी नदीमा फालहालिन्, तर उनलाई मर्न दिइएन । उसमाथि आर्को मुद्दा पनि थपियो, आत्महत्याको अभियोगमा ।

बिचरी के गरून्, साह्रै लाचार छन् । यहाँ मुद्दा छिनिदिने कुरै उठ्दैन । सधैँ भोलि भन्छन्, तर त्यो भोलि कहिल्यै आउँदैन । यो अड्डा–अदालतको भोलि हाम्रो राष्ट्रिय समस्या भइसकेको छ ।

यस्तै भोलिको अनुभव हाम्रा राष्ट्रकवि भानुभक्तले पनि गरेका थिए । उनी भन्छन्—

बिन्ती डिठ्ठा विचारी सित म कति गरूँ चुप रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल गर्‍या झैँ अनि पछि दिन दिन् भन्दछन् भोली भोली ।।
कि ता सक्तीन भन्नु कि त छिनिदिनु क्यान भन्छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।

भानुभक्तले भोलि किन भन्दछन् त्यो सोझै भनेका छैनन् । एउटा साहित्यिक व्यक्तिले यसभन्दा अधिक भन्नु पनि उचित हुँदैन । उसको यति नै संकेत पर्याप्त हुन्छ ।

तर, कुनै नीतिकार अथवा समाजसुधारक सन्त छ भने अझै स्पष्ट रूपमा पनि व्यक्त गर्दछ । यस प्रसंगमा भानुभक्तकै समसामयिक समाजसुधारक सन्तकवि ज्ञानदिलदास लामिछानेको रचना हाम्रा सामू उपस्थित हुन आउँछ—

अइन बज्य्रो धनिको फिर्‍यो जगमाहाँ ।
घुस्याहा विचारी निसाप् गर्छ कहाँ ।। 

यस रचनाको अध्ययनबाट किन भोलि भनिन्छ यसको कारण स्पष्ट हुन पाउँछ । केवल पहाड पर्वतकै जनता मात्र यस भोलिबाट परिचित छैनन् । अपितु, यो भोलिको प्रथा तराईमा पनि व्याप्त छ । यस प्रसंगमा पश्चिमी नेपालको तराईमा प्रचलित एउटा लोकोक्ति दिनु नै पर्याप्त होला ।

पख, पख्वारा घडी, महीना चौघडियाके साल ।
जैके पहडिया भोलि कैद तैके कौन हवाल ।। 

लोकोक्तिको तात्पर्य हो– अड्डा–अदालतमा पख (पर्खी) भन्यो भने पखवारा (एक पक्ष– १५ दिन) जान्छ । घडी (एक घण्टा) भन्यो भने महीना दिन जान्छ । चार घडी भन्यो भने सालभर लाग्छ । यस स्थितिमा जसलाई उसले भोलि भन्छ त्यसको के हाल होला ।

यो भयो राजधानीभन्दा बाहिरको अनुभव । भित्र पनि यसको अनुभव छ । उदाहरणस्वरूप यो उखान प्रस्तुत छ—

आसे आसेति षमासे
कन्हे कन्हे नसिध्यति ।।

अर्थात्, अड्डा–अदालतमा जाँदा नेवारीमा आसे भने ६ महीना र कन्हे भने जीवनभर नसिद्धिने हुन्छ । माथिका उदाहरणबाट स्पष्ट भयो अड्डा–अदालतमा जनताले कहिल्यै नसिद्धिने भोलिको सामना गर्नुपर्छ । भोलि आइहाले पनि यथार्थ निर्केवल हुन्छ भन्ने जनतालाई विश्वास छैन । त्यसै कारण यहाँको जनता भन्छ—

हाकिम भयो चोर चहरी झकडिया मान्र्या ।
न्या छैन निसाप् छैन को जिन्या को हान्र्या ।। 

अदालतमा बाहिर जान लाग्दा एकाएक एउटा भोटेसित भेट भयो । ऊ करुण क्रन्दन गरिरहेको थियो— हजूर मलाई लुट्यो पनि कुट्यो पनि । उसका आँखाबाट तरतरी आँसु बगिरहेको थियो । उसका आँखाबाट आँसु त आएको थियो थियो, साथसाथै मुख र नाकबाट रगत पनि बगिरहेको थियो । उसको मुख फुलेर हुप्प भइसकेको थियो । यस अनौठो दृश्यले मलाई साह्रै प्रभावित पार्यो र त्यसको कारण जान्ने प्रयत्नमा लागेँ ।

कारण पत्ता लगाउन कुनै बेर लागेन । ऊ पाखी बेच्न यहाँ आएको थियो । पाखीको दाम उसले पचहत्तर रुपियाँ राख्यो । जिल्ला पञ्चायतका एक कर्मचारीलाई त्यो पाखी मन पर्यो । उनले पचास रुपियाँ फ्याँकेर पाखी लिएर गए ।

उसले पाखी दिन मन्जूर गरेन । पाखी दिन्न भनेबापत उसले कर्मचारीको कुटाइ खायो र पाखी पनि फिर्ता लिन सकेन । यत्तिकैमा अरू कर्मचारी आएर छुट्ट्याइदिए । त्यसपछि ऊ न्याय पाउन अदालत आयो ।

यो कस्तो अन्याय, आर्काको पाखी जबरजस्ती पैसा फ्याँकेर लिनु । मलाई चित्त बुझेन । मैले उसलाई थप १० रुपियाँ दिलाइदिएँ । ऊ खुशी भएर फर्क्यो । कुटाइ फोसामा गयो । यस्तै हो निर्धाको जीवन ।

जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’ 

१२ खरीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?