विकासका लागि मूलधारको राजनीतिमा आएका हौं

देशमा रोजगारी सिर्जना गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले नै पार्टी स्थापना गरेको बताउँछन् जनमत पार्टीका अध्यक्ष डा. सिके राउत। वैज्ञानिकसमेत रहेका राउतले अमेरिका छाडे। स्वतन्त्र मधेसको राजनीति गरे। फेरि मूलधारको राजनीतिमा आएर एकपछि अर्को सरप्राइज दिएका छन्।

पहिलो पटक चुनावमा होमिदा रोमाञ्चकता महसुस भइरहेको र मधेस प्रदेशमा सरकार बनाउने आशा जागेको उनी बताउँछन्। आसन्न निर्वाचन, राजनीति आरोह–अवरोह र समसामयिक राजनीतिबारे अन्नपूर्ण पोस्ट्का मनोहर पोखरेलले राउतसँग गरेको कुराकानी :

जसपा अध्यक्ष उपेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ। अन्य क्षेत्र नरोजेर सप्तरी २ बाटै लड्नुको कारण के हो ?

सप्तरी २ भनेको मेरो जन्मथलो हो। यहीँ जन्मिए, हुर्के, पढे र अमेरिकाबाट फर्केपछि पनि म यही बसेँ। मेरो घर यसै क्षेत्रको महादेवा गाउँपालिकामा छ। राजविराजमा पनि छ। त्यसैले स्वाभाविक रूपमा मेरो लागि पहिलो प्राथमिक चयन भनेको सप्तरीको–२ नै पर्नेभयो।

अर्को कुरा यो क्षेत्रबाहेक मेरो अर्को विकल्प थिएन। अन्तबाट मेरो सिफारिस भएको अवस्था पनि थिएन। म यो क्षेत्रबाट लड्छु भन्ने कुरा लगभग दुई महिनाअघि नै मैले सार्वजनिक रूपमा घोषणा गरेको थिएँ। यो क्षेत्रमा मेरो घर, परिवार, हुर्केको समाज भएका नाताले बाढी आउँदा, आगलागी हुँदा मलाई सरोकार हुन्छ। कतै मेरो घर त बगेन, कतै मेरो घर समुदायलाई महामारीले त छोएन।

यो सरोकार, चिन्ता सबभन्दा बढी मलाई हुने भएकाले आफू सबभन्दा उपयुक्त उम्मेदवारका रूपमा आफ्नो घरबाट उम्मेदवारी दिने निर्णय गरेको हुँ। यसलाई प्रायः अर्को उम्मेदवारसँग तुलनात्मक रूपमा लिने भएकाले मेरो जवाफ पनि तुलनात्मक नै छ।

जसपा अध्यक्ष यादव योभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्र मोरङ, सुनसरी छोड्दै सप्तरी आउनुभएको थियो। यसपालि पनि सप्तरीबाट नलडी बाहिरबाट लड्ने कुरा आएको थियो। अन्तिम समयमा मनोनयनपत्र दर्ता हुने दिनमात्र ढिलो गरी उहाँको यहीबाट लड्ने निर्णय भएको हो।

उहाँको स्थायी ठेगाना घर मोरङ हो। अर्थात् बाहिरबाट आउनुभएको हो। पछिल्लो पाँच वर्षमा उहाँको सम्पर्क कार्यालयसमेत यहाँ रहेन। उहाँ जनसम्पर्कमा पनि बस्नु भएन। आक्कल–झुक्कल आउनुभयो, जानुभयो। उहाँ स्थायी निवासी नभएकाले यहाँको पीडासँग ठूलो सरोकार हुने कुरै देखिएन्। तसर्थ यहाँको समस्या निदानका लागि मैले यसै क्षेत्रबाट उम्मेदवारी दिएको हुँ।

  •  सप्तरी २ बाहेक मेरो अर्को विकल्प थिएन। त्यसैले यहाँबाट उम्मेदवारी दिएको हुँ।
  •  चुनाव लड्दा रोमाञ्चकता महसुस भइरहेको छ। एक मौका दिनुपर्छ जनलहर धेरै छ।

२०७४ को निर्वाचनमा ‘कोठली बाहर मत’ (कोठा बाहिर मत) भनेर बहिष्कार अभियान चलाउँदा र अहिले मत माग्दा कस्तो महसुस भएको छ ?

हामीले परिवर्तनलाई स्वाभाविक मान्नुपर्छ। कुनै बेला कांग्रेसले पनि चुनाव बहिस्कार गरेको थियो। माओवादीले संसदीय व्यवस्थालाई नै मान्दिन भनेको थियो अहिले संसद्मै छन्। स्वाभाविक रूपमा परिवर्तनहरू हुन्छन्, यो गतिशीलता हो।

अहिलेका दलहरूले पनि २०७४ सालमा पश्चिमतिर बहिस्कार गरेका थिए। परिवर्तनहरू परिस्थितिअनुसार हुने कुरा हो। अहिले जनमत हासिल गर्ने एउटा औपचारिक माध्यम निर्वाचन भएकाले र त्यसमा पहिलो पटक सहभागी हुन पाउँदा रोमाञ्चकता महसुस भइरहेको छ। यो अवसर कस्तो हुने, कति सफलता हासिल गर्ने कुराले रोमाञ्चकता महसुस भइरहेको छ।

आफ्नो जितको सम्भावना देख्नुहुन्छ ?

जनताले देशव्यापी परिवर्तन खोजेका छन्। पटक–पटक अन्य दलहरूलाई ३०/३२ वर्षमा परीक्षण गरिसकेको अवस्था छ। देशव्यापी रूपमा परीक्षण भई नसकेका नयाँ राजनीतिक दल र स्वतन्त्रलाई जिताउने अभियान चलेको छ, जुन सकारात्मक पनि हो।

पहिलो निर्वाचन भएकाले जनतामा एक मौका दिनुपर्छ, संघर्ष गरेको पार्टी, कार्यकर्ता भएकाले निःस्वार्थ भावले जनताको सेवा गर्छ भन्ने आशा बढी छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो, साइकल काण्ड भयो, छोरी बिमा कार्यक्रममा धाँधली भयो।

हामी पद र पैसाका लागि राजनीतिमा होमिएको व्यक्ति होइनाैं भन्ने जनतालाई थाहा छ र विश्वास गरेका छन्। विशुद्ध रूपमा राजनीति नै गर्न नआएको र समस्या समाधान गर्न आएकाले हामीले रोजगारी सिर्जना गर्न सक्छौं, सुशासन ल्याउन सक्छौं भनेर विश्वास पनि व्याप्त छ।

यसकारण जनताको झुकाव बढिरहेको छ र यो नै जितको कारक बन्नेछ।

चुनावपछि तपाईंको पार्टीको आकार कस्तो होला जस्तो लाग्छ ?

नयाँ पार्टी भएकाले, भ्रष्टाचार विरुद्धको आन्दोलन, किसान आन्दोलन, नागरिकता विधेयकका लागि आन्दोलन गरेको पार्टी भएकाले देशव्यापी रूपमै जनसमर्थन र लहर उठेको छ। राम्रै सिट ल्याउने आंकलन गरेका छौं।

जनमत पार्टीले संघ र प्रदेशमा कति सिट जित्ने अनुमान गर्नुभएको छ ?

मधेस प्रदेशमा सरकार बनाउने आशा छ। मधेस प्रदेशमा सबैभन्दा बढी ६४ मध्ये ५८ स्थानमा उम्मेदवारी दिएका छौं। सप्तरीमा जनलहर नै छ। स्थानीय निर्वाचनको परिणामले आठौं दल बनेका छौं, यो उक्लिएर पाँचाैं दल बन्ने आशामा छौं। तर, स्थानीय तहमा त सोचेअनुरूप परिणाम आएन नि !

स्थानीय निर्वाचनका बेला जुनसुकै स्थानमा जनलहर व्यापक थियो। कुनै खर्च नगरी आएको त्यो जनलहर स्वाभाविक र प्राकृतिक थियो। झापादेखि कञ्चनपुरसम्म साक्षरता दर कम छ। चेतनामा व्यापक कमी छ।

गरिबी व्यापक छ। यस्तो अवस्थामा निर्वाचन प्रणाली विकृत छ। मत खरिदबिक्री व्यापक रूपमा हुन्छ। जनतालाई डरत्रास देखाउने काम हुन्छ। प्रचार प्रसार गर्न त उम्मेदवारलाई अवरोध पुर्‍याउँछन् भने जनतालाई मत खसाउन झनै अप्ठ्यारो छ।

त्यसैले जनलहर मतगणनासम्म पुग्दा मतमा रूपान्तरण हुन सकेन्। यो लोकतन्त्रकै लागि चुनौती हो। निर्वाचन प्रणालीमा सुधार भएन भने असल मानिस चयन हुने सम्भावना कम हुन्छ, जनताले कहिले पनि इच्छाअनुसार उम्मेदवार चयन गर्न सक्दैनन्।

  • मधेस प्रदेशमा सरकार बनाउने आशा छ। स्थानीय निर्वाचनले आठौं दल बनायो, उक्लिएर अब पाँचौं दल बन्ने आशा छ।

उपेन्द्रजीलाई गाली गर्नेबाहेक तपाईंसँग एजेन्डा छैनन् भन्ने आरोप छ नि ! 

जसपालाई सुरुदेखि नै असुरक्षाको भावना छ। हामी राजनीतिक पार्टी नबन्दा पनि उहाँहरूलाई चिठ्ठा परेजस्ता केही कुरा प्राप्ति भयो। मधेस आन्दोलन जनताले गरे त्यसको लाभ केही सीमित व्यक्तिले संसद्देखि मन्त्री भएर उठाए।

अरू कोही व्यक्ति नेता नबनोस, अरू दल मधेसमा जन्मिए वर्चस्व नै सकिन्छ भन्ने त्रास देखियो। तसर्थ जसपाको टार्गेटमा जहिले पनि हामी पर्‍यौं।

पछिल्लो पाँच वर्ष मधेस प्रदेशमा जसपाको सरकार छ। सचेत नागरिकका हैसियतमा र दलका हैसियतमा पनि सरकारलाई रचनात्मक सुझाव, दिनु, आलोचना गर्नु सबैको कर्तव्य हो। तर, सुझाव दिँदा दुश्मन ठाने। जो पद र शक्तिमा रहन्छ विरोध पनि उसैले खेप्नुपर्छ।

  • विकासका कुराहरू गर्न सकिन्छ भन्ने विश्वासमा हामी मूलधारको राजनीतिमा आएका हौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो, साइकल काण्ड भयो, छोरी बिमा कार्यक्रममा धाँधली भयो। पोखरी सौन्दर्यीकरणमा बजेट छुट्ट्याएर सकाइयो।

जुन प्रदेशमा साक्षरता सबैभन्दा कम छ त्यहाँ पाँच वर्षमा कुनै साक्षरता कार्यक्रम चलाइएन्। सरकारमा रहेको पार्टी हुनाले केही विरोध गरेको कुरालाई अन्यथा लिनु हुँदैन्।

खासमा जसपासँग अब एजेन्डा बाँकी रहेन। जनतामा जाँदा उहाँहरू जवाफ दिन सक्ने अवस्थामा हुनुहुन्न। हामी सुशासन, सेवाप्रवाह, स्वायत्तता र प्रत्यक्ष लोकतन्त्रको एजेन्डा लिएर होमिएका छौं। हामी आफ्नो एजेन्डामा अडिग छौं।

जनमत पार्टी र मधेस केन्द्रित अन्य दलमा के अन्तर छ ?

धेरै अन्तर छ। जनमत पार्टी कुनै अरू पार्टीबाट टुटेफुटेर आएको पार्टी होइन। यो शून्यबाट निर्माण भएको पार्टी हो। अन्य मधेस केन्द्रित दलमा अवसर र कुर्सी नपाएर टुटेफुटेर आएका व्यक्तिहरूको झुन्ड देखियो। जनमत पार्टी सुरुदेखि नै कुनै पद र पैसाका लागि राजनीति नगर्ने बरु जनताको जीवनस्तर कसरी उकास्ने भनेर आफ्नो सबै कुरा त्यागेर आउने व्यक्तिहरूले सुरुवात गरेको पार्टी हो।

अरू पार्टीमा पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म उही व्यक्ति छन्। अरू दल जुनसुकै व्यवस्था आउँदा पनि त्यही मानिसहरू रहेको पार्टी हो। हाम्रो पार्टी भनेको शून्यबाट संघर्ष गरेका व्यक्तिहरूको पार्टी हो। संघर्षको पृष्ठभूमिबाट आएका मानिसहरूको पार्टी हो।

  •  पृथकतावादी आन्दोलनको परिस्थिति बदलिएको छ। परिस्थितिले बाटो निर्माण गर्छ।
  •  सम्झौतालाई हामीले सकारात्मक उपलब्धिका रूपमा लिएका छौं।

जसपाको संघर्ष भनेको संविधानको एक पाना माइतीघरमा जलाउनु मात्र हो। त्यसको बदलामा उसले ५२ संसद् चिठ्ठा पायो। जनमत पार्टीको राष्ट्रिय अध्यक्षले मात्र २४ पटकभन्दा बढी गिरफ्तारी दिएको, हिरासत र जेल काटेको अवस्था छ। आफ्नो खुट्टा प्रहरीद्वारा भाँचिएको, टाउको फुटाइएको अवस्था छ। प्रायः समय नजरबन्दमा बसेको अवस्था छ।

संघर्षका क्रममा अनेकौं यातना भोगेको अवस्था छ। अरू पार्टी अवसरवादीहरूको हो, जुनसुकै पार्टीमा जाँदा पनि अवसर खोज्ने मानिसहरूको झुन्डका रूपमा देखिएको छ। जनमत पार्टी संघर्ष गर्ने र विशुद्ध रूपले जनतालाई कसरी सेवा गर्ने भन्ने व्यक्तिहरू राजनीतिमा प्रवेश गरेर बनेको पार्टी हो।

जनमत पार्टीको सरकारमा जाने सम्भावना देखिँदैन। फेरि जनताले विकासको के आशा गरेर तपाईंलाई मत दिने ? 

यो विपक्षीहरूले फैलाइरहेको भ्रम हो। १० सिट जित्नेहरू सरकारमा जान सक्छन् भने हामी पनि जान सक्छौं। उनीहरूले पनि एक्लै सरकार बनाउन सक्दैनन्। गठबन्धन गर्छन्, हामीले पनि गठबन्धन गर्न सक्छौ नि ! उनीहरूले पनि बहुमतको सरकार बनाउन सक्दैनन्।

गठबन्धनकै सरकार बनाउने हो। जनमत पार्टीले पनि गठबन्धनको सरकार बनाउन सक्छ। एउटा सिट जितेका पनि अहिले सत्ता गठबन्धनमा रहेको उदाहरण नै छ। त्यसो त जनमत पार्टी सरकारमा नजाँदा पनि धेरै काम गरेको छ।

  • निर्वाचन प्रणालीमा सुधार नहुञ्जेल असल मानिस चयन हुन समस्या हुन्छ। अन्य मधेस केन्द्रित दल अवसर र कुर्सी नपाएर टुटेफुटेर आएका व्यक्तिहरूको झुन्ड हो।

विदेशमा जति पनि कामदार फँस्छन्, जागिरबाट निकालिन्छन्, अस्पतालमा भर्ती हुन्छन्, उनीहरूको मृत्यु हुन्छ, त्यस्तालाई उद्धार गर्ने काम जनमत पार्टीले गर्दै आएको छ। अरू पार्टी सत्तामा बस्दा पनि कतै उनीहरूले यस्तो जनमुखी कामहरू गरेका छैनन्।

यहाँ हुँदा पनि किसानका लागि आन्दोलन गर्ने पार्टी त जनमत नै हो। किसानले मलखाद्य नपाउँदा पनि जसपाकै कृषिमन्त्री थिए तर उनीहरूले समस्याको समाधान गर्ने छाँटकाँट नै देखाएनन्। उल्टै किसान आन्दोलनमा गोली चलाए र दमन गरे।

मधेसमा छिटोछिटो हिरोहरूको आगमन हुन्छ र फेरि अर्को हिरोको खोजी हुन थाल्छ भनिन्छ। तपाईंको नियति पनि त्यही हुने त होइन ?  

हामीले पनि काम नगरे त्यो नियती भोग्नुपर्छ। त्यसमा म आफैं स्पष्ट छु। हामीले काम नगर्दा जनताले त्यो सजाय हामीलाई पनि दिनुपर्छ। त्यही भएर हामी काम गर्छौं। हामी काम गर्नकै लागि पार्टीको माध्यमबाट आएका हौं।

जसपासँग एजेन्डा बाँकी रहेन। जनतामा जाँदा नाजवाफ हुन्छ। हामी सुशासन, सेवाप्रवाह, स्वायत्ताता र प्रत्यक्ष लोकतन्त्रको एजेन्डा लिएर होमिएका छौं।
काम नगरे जनताले सजाय दिनुपर्छ। गठबन्धन सैद्धान्तिक विचलनको पराकाष्ठा र कालोकाल अवधि हो।

चुनावबाट गठबन्धनको नतिजा कस्तो आउला के विश्लेषण गर्नुहुन्छ ? 

गठबन्धन सैद्धान्तिक विचलनको पराकाष्ठा हो। यो नेपालको राजनीतिक इतिहासमा कालो कालअवधि हो। कुनै बेला कांग्रेसले त्यही माओवादीको टाउकोको मूल्य तोकेको थियो। आज उनीहरूसँग गठबन्धन गरेको अवस्था छ। त्यसलाई कुन गठबन्धन भन्ने लोकतान्त्रिक भन्ने कि वाम गठबन्धन भन्ने। नामसमेत नफुरेर सत्ता गठबन्धन नामाकरण गरिएको छ।

विशुद्ध रूपले सत्ता प्राप्तिकै लागि बनाइएको गठबन्धनभन्दा पनि भयो। अर्कोतिर गठबन्धनमा लोकतन्त्र र संघीयता चाहिन्छ भन्ने र खारेज हुनुपर्छ भन्ने दुवै दल छन्। तसर्थ यो सैद्धान्तिक विचलन हो। गठबन्धनको सैद्धान्तिक धरातल रहेन, एजेन्डा रहेन। मेरो विचारमा मधेसमा गठबन्धनको परिणाम राम्रो आउने छैैन।

तुलनात्मक रूपमा मधेसमा चुनावी अभ्यास सुधारिएको हो वा हिंसाको अवस्था छँदैछ ?

दुइटा शक्ति तुलनात्मक रूपमा उत्तिकै बलियो भएमा त्यहाँ पनि हिंसात्मक झडप हुन्छ। कुनै एउटा धेरै कमजोर भइदियो भने हुँदैन। २०६४ सालपछि एउटा आन्दोलनकारी शक्ति उदाएको अवस्थामा त्यो एउटा आन्दोलनकारी पक्ष बढी शक्तिशाली भएकाले झडप भयो।

पछिल्लो पटक ०७४ सालमा निर्वाचन हुँदा ती आन्दोलकारी शक्ति क्षिण भएकाले हिंसाको स्थिति आएन। एउटा कुनै घटक कमजोर भएमा पनि हुँदैन।

अहिले फेरि अनेकौं पार्टी प्रतिस्पर्धामा रहेको अवस्थामा छ र झडपको अवस्था छ। सप्तरीको महादेवामा, अग्निसाइर कृष्णसवरनमा हाम्रा कार्यकर्तामाथि कुटपिट भयो। कुनै–कुनै ठाउँमा यस्तो झडप व्यापक रूपमा देखिन सक्ने सम्भावना छ। सप्तरी २ मा यस्तो अवस्था अली बढी नै देखिएको छ।

अन्य दलहरूले अपनाएको रणनीति जस्तै स्वराजको आन्दोलन पनि चर्चामा आउन योजनाबद्ध र पूर्वसञ्चालित थियो भनिन्छ नि !

चर्चामा आउन त्यति ठूलो जोखिम लिन जरुरी नै छैन। चर्चाका लागि ज्यानै दिने गरी जोखिम लिनुपर्ने आवश्यक्ता पर्दैन। त्यसैले यो आलोचना हामीमाथि लागू हुँदैन। अरूहरूले गरेको आन्दोलनहरूमा पनि लागू हुँदैन्। अरूहरूले पनि योगदान दिएकै हुन्।

जुन पृथकतावादी आन्दोलन थियो त्यो त्यतिबेलाको परिस्थितिले जन्माएको थियो। अहिले परिस्थिति बदलिएको छ।

देशमा संघीयता आएको छ, गणतन्त्र छ। स्थानीय तहले अधिकार पाएका छन्। त्यो सीमामा पाएको अधिकार क्षेत्रभित्र रहेर पनि धेरै विकासका कुराहरू गर्न सकिन्छ भन्ने विश्वासमा हामी मूलधारको राजनीतिमा आएका हौं।

समर्पण गर्नुभयो र मुद्दा विर्सजन गर्नुभयो भनेर तपाईंबाट अलग हुने पनि छन् नि !

दुुई/चार जना साथीले छाडेर गएका हुन्। जुनसुकै आन्दोलनमा पनि यस्तो हुन्छ। सम्झौता र वार्ताका बेला केही असन्तुष्ट पक्ष, समूह हुन स्वाभाविक नै हो। अरूहरूमा विशाल–विशाल समूहको असन्तुष्टि देखियो। हाम्रोमा त दुई/चार जनाले असन्तुष्टि जनाए। त्यसलाई अस्वाभाविक रूपमा लिन्न र उनीहरूको योगदानको कदर पनि गर्छु।

त्यसो भए स्वराज आन्दोलनको औचित्य थिएन, हो ?

अहिलेको परिस्थितिमा त्यो आवश्यक्ता रहेन्। जुन सम्झौता भयो त्यसले राजनीतिक स्पेश दियो। कागजी रूपमा लोकतन्त्र भए पनि मूलधारको राजनीतिमा आउनुभन्दा अघि हामीलाई काम गर्न असहज परिस्थिति थियो। कतै भाषण गर्न दिइँदैन थियो। घरभित्र अघोषित नजरबन्दमा राखिन्थ्यो। मुस्किलले वर्षमा एकपटक निस्किन पाउँथे। सामाजिक कार्यमा समेत प्रतिबन्ध लगाइएको थियो।

विवाह पञ्चमीका बेलामा यात्रीहरूलाई पानी खुवाउँदा हाम्रा १७ जना कार्यकर्तालाई समातेर मुद्दा लगाइयो। त्यस्तो असहज परिस्थिति भएकाले अहिले मूलधारको राजनीतिमा आउँदा जनतासमक्ष जान पाएका छौं।

राजनीति गर्न र आफ्ना एजेन्डाहरू जनताबीच राख्न पाएका छौं। समाज विकासको दृष्टिकोण पेस गर्न पाएका छौं। त्यो सम्झौतालाई हामीले सकारात्मक उपलब्धिका रूपमा लिएका छौं।

सरकारसँग भएको सम्झौताको पालना इमानदारीपूर्वक हुन्छ ?

सम्झौता कार्यान्वयनमा सरकार खासै इमान्दार छैन। पूरै बेठीक नभनौ, तर ठीकठीकै छ। अरू पक्षसँग राज्यले गरेको सम्झौता पनि लथालिंग नै छ। मुद्दा फिर्ता लिने विषय जहिले पेण्डिंगमा राखिदिने, व्ल्याकमेलिग गरी हतियारको रूपमा प्रयोग गर्ने गरिएको छ।

आत्मकथा ‘बैरागदेखि बचाउ’मा नेपाललाई अस्लील गाली गर्नुभयो ?

यो १० वर्षअघि लेखिएको र पटक–पटक छलफल भइसकेको विषय हो। यसलाई अहिले चर्चामा ल्याउनु र उम्मेदवार विशेषबाट पुस्तकको फोटोकपी गराएर बाँड्नुको प्रयोजन जनताले स्पष्ट बुझिसकेका छन्। अहिले पुनः चर्चामा ल्याउनु र फोटोकपी नै वितरण गर्नु आचारसंहिताको उल्लंघन पनि हो।

११/१२ वर्षअघि लेखिएको कुनै पनि दस्तावेज त्यो समयको परिस्थितिका लागि लेखिएको थियो। त्यसमा प्रयोग गरिएका साहित्यिक शब्दहरू साहित्यक दृष्टिकोणले नै लेखिएका छन्। त्यो कुनै राजनीति दस्तावेज होइन्। त्यसलाई अन्यथा चित्रित गर्नु जनतामाझ भ्रम फैलाउनु हो। जुनचाहिँ प्रतिस्पर्धी उम्मेदवारहरूले गरिरहेका छन्।

नेपालीलाई पिरोलिरहेको कोसी सम्झौता र नेपालको नयाँ नक्साबारे के भन्नुहुन्छ ?

यसको जिम्मेवार साना र नयाँ दल होइनन्। कहिलेकाहीँ मधेसीहरूमाथि आक्षेप लगाइन्छ र प्रश्न लक्षित गरिन्छ। उनीहरू पनि जिम्मेवार होइनन्।

खासमा सत्तामा पटक–पटक बस्दै आएका पार्टीहरू वा समूहहरू नै जिम्मेवार छन्। उनीहरूले नै यसप्रति जवाफदेहीता लिनुपर्छ। भखैरै पारित भएको नक्साका विषयमा पनि त्यहीं कुरा लागू हुन्छ। एउटाले पारित गर्ने, त्यस्को स्पष्टीकरण अरूलाई साध्नुको औचित्य छैन्।

जिम्मेवार दलको पनि त धारणा हुनुपर्छ होला नि !

जति पनि विवादास्पद वा विवाद उठेका विषय छन् त्यस्को पक्कै पनि पुनरावलोकन हुनुपर्छ। वार्ता, छलफल, पुनरावलोकन नहुनु पर्ने कुरै होइन।

अमेरिका छाड्ने, स्वतन्त्र मधेसको राजनीति गर्ने, फेरि मूलधारको राजनीतिमा आउने जस्ता एकपछि अर्को सरप्राइज दिनुभयो, अब अर्को सरप्राइज के छ ? 

जनताले परम्परागत ढाँचामा सोच्ने भएकाले सरप्राइज लागेको होला। महत्वपूर्ण निर्णय लिन सक्ने क्षमता भएकाले यो सरप्राइज देखिएको हो। समाजमा जुन कुरा चलिआएको छ त्यस्को विरुद्धमा पनि जान सक्ने र निर्णय लिन सिक्ने भएकाले सरप्राइज लागेको हो।

तत्काल कुनै सरप्राइजको अवस्था छैन। भन्नका लागि ठूला ठूला एजेन्डा र महात्वाकांक्षा मसँग छैन्। ठूलो कुरा भन्न पनि चाहन्न। हामीले पार्टी स्थापना गर्नुको कारण रोजगारी कसरी दिने भनेर हो। कोही बिदेसिनु नपरोस् भन्ने मेरो प्रथम प्राथमिकता हो।

अरू सबै कुरा देशमा छदैछ। यति सुन्दर देश छ। प्राकृतिक स्रोत साधनहरू पर्याप्त छन्। रोजगारीको अवसर सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्न सके यो देश राम्रो बनाउन सकिन्छ।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?