काठमाडाैं, कार्तिक २८
समानुपातिकका ११० सिटका लागि दलहरूको कस्तो छ तयारी ?
प्रतिनिधिसभामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिन्छन् । संगठनात्मक शक्ति र लोकप्रिय मतमार्फत प्राप्त समानुपातिक सिट दलहरूका लागि संसद्मा वरीयता तय गर्ने महत्वपूर्ण आधार बन्ने गरेको छ ।
त्यसैले ठूला दल समानुपातिकतर्फको मत बढाउने तथा साना र नयाँ दल थे्रसहोल्ड कटाएर समानुपातिक सिट हासिल गर्ने रणनीतिसहित चुनावी मैदानमा छन् ।
प्रत्यक्षतर्फ सत्ता र विपक्षी दलका छुट्टाछुट्टै गठबन्धन चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले ०७४ को समानुपातिक मत र गत वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार बनाएर आफ्नो पार्टीले समानुपातिकतर्फ पाउन सक्ने मतको आकलन गरेका छन् ।
गठबन्धनका कारण प्रत्यक्षतर्फ उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत तान्न कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तल्ला कमिटीलाई परिचालन गरेका छन् । एमालेले भने समानुपातिकका लागि छुट्टै संयन्त्र परिचालन गरेको छैन ।
ठूला दल मत बढाउने तथा साना र नयाँ दल थे्रसहोल्ड कटाएर समानुपातिक सिट हासिल गर्ने रणनीतिमा
एमाले उपमहासचिव विष्णु रिमालले समानुपातिकतर्फ छुट्टै प्रचार रणनीति नभएको बताए । उनका अनुसार प्रत्यक्ष र समानुपातिक गरी एक सय ५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा छ । यसपटकको निर्वाचनमा समानुपातिकतर्फ ६ प्रतिशत मत बढाउने उनको दाबी छ । ‘हामीले ६ प्रतिशत मत बढाउँदै छौँ । अहिलेको मत ३४ प्रतिशत हो । समानुपातिकमा ४० प्रतिशत मत ल्याउँछौँ,’ उनले भने ।
सत्तारूढ कांग्रेसले गठबन्धनका कारण प्रत्यक्षमा उम्मेदवार नभएका क्षेत्रमा छुट्टै प्रचार संयन्त्र खडा गरेको छ । प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार नभएका क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउने र समानुपातिकमा कांग्रेसमा मत माग्ने गरी क्षेत्रगत रूपमा संयन्त्र खडा गरिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
‘जुन–जुन क्षेत्रमा प्रत्यक्षतर्फ पार्टीको उम्मेदवार हुँदैन, ती क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउने र समानुपातिकमा कांग्रेसलाई मत माग्ने गरी उपलब्ध भएसम्म केन्द्रीय सदस्य र केन्द्रीय सदस्य नभएको क्षेत्रमा जिल्लाका सिनियर नेताको संयोजकत्वमा संयन्त्र परिचालन गरिएको छ,’ उनले भने । उनका अनुसार पार्टीले सबै क्षेत्रमा परिचालित हुन निर्देशन गरेअनुसार नेता–कार्यकर्र्ता तल्ला तहमा खटिएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन सामग्रीसहित पार्टी पंक्ति परिचालित भइसकेको छ । कांग्रेसले समानुपातिकमा ५० सिट जित्ने लक्ष्य लिएको उनले बताए । पौडेलले भने, ‘अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ४० सिट जितेका हौँ । यसपटक ५० सिट जित्ने लक्ष्य छ ।’
माओवादी र एकीकृत समाजवादीले समानुपातिक मतका लागि देशव्यापी रूपमा नेता तथा कार्यकर्ता परिचालित गरेका छन् । सम्भव भएसम्म केन्द्रीय नेता र केन्द्रीय नेता नभएको क्षेत्रमा प्रदेशस्तरीय नेताको नेतृत्वमा चुनावी प्रचार अभियान जारी रहेको माओवादी र एकीकृत समाजवादीले जनाएको छ ।
माओवादी सचिव लीलामणि पोखरेल समानुपातिकमा अघिल्लोपटकको भन्दा बढी मत ल्याउने दाबी गर्छन् । विभिन्न शक्तिलाई एकत्रित गरेको र माओवादीप्रति जनविश्वास बढेका कारण मत बढ्ने उनको दाबी छ ।
सबै क्षेत्रमा प्रचार अभियान जारी रहेको उनले जानकारी दिए । ‘गठबन्धनका कारण सबै क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाउन सम्भव भएन । पार्टीको तर्फबाट उम्मेदवार नभएको क्षेत्रमा पनि प्रचार अभियानलाई तीव्र बनाइएको छ,’ उनले भने ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पहिलोपटक संसदीय चुनावको सामना गर्दै छ । चौथो शक्तिका रूपमा राष्ट्रिय दल बन्ने एकीकृत समाजवादीको लक्ष्य छ ।
एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले समानुपातिकमा १० लाख मत कटाउने दाबी गरे । प्रतिनिधिसभामा समानुपातिकतर्फ एक सय १० वटै सिटमा उम्मेदवार रहेको र उम्मेदवारसहित केन्द्रीय, प्रदेश र जिल्ला नेताहरूलाई प्रचार अभियानमा परिचालित गरिएको उनले जानकारी दिए ।
नयाँ दल भएकाले थ्रेसहोल्ड कटाउने चुनौती एकीकृत समाजवादीलाई छ । एमाले र एकीकृत समाजवादीको भोट बैंक एउटै भएकाले समानुपातिकमा एकीकृत समाजवादीले कति भोट ल्याउँछ भन्ने चासो छ ।
गत स्थानीय तह निर्वाचनको परिणामअनुसार एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने देखिन्छ । डा. भुसाल थ्रेसहोल्डको चिन्ता नभएको र बढीभन्दा बढी मत ल्याउने अभियानमा रहेको बताउँछन् । पाँच वर्षअघि एकीकृत समाजवादी अस्तित्वमा थिएन ।
जसपाले पनि अघिल्लोपटकको भन्दा समानुपातिकमा मत बढाउने दाबी गरेको छ । अघिल्लोपटक जसपाले समानुपातिकतर्फ ६ सिट जितेको थियो । जसपाका नेता रामसहायप्रसाद यादव पार्टीले सहजै थ्रेसहोल्ड कटाउने दाबी गर्छन् । स्थानीय तहमा पनि त्यो अंक पार गरेको र आगामी निर्वाचनमा पनि सहजै थ्रेसहोल्ड कटाउने उनको दाबी छ । जसपाले स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार थ्रेसहोल्ड कटाउने देखिन्छ ।
राष्ट्रिय पार्टी लोसपाले स्थानीय तह निर्वाचनमा थ्रेसहोल्ड कटाउन आवश्यक मत ल्याएको देखिँदैन । तर, नेताहरू थ्रेसहोल्ड कटाउने दाबी गर्छन् । लोसपा नेता लक्ष्मणलाल कर्णले सहजै थ्रेसहोल्ड कटाउने दाबी गरे । स्थानीय निर्वाचनमा पार्टी नयाँ भएका कारण कम मत आएको उनको दाबी छ ।
राप्रपा र रास्वपाको महत्वाकांक्षा
पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा उच्च महत्वाकांक्षा देखाएका छन् । यी दुवै दलले समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार राप्रपा छैटौँ ठूलो दल देखिन्छ । अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेको राप्रपाले स्थानीय तहमा भने थ्रेसहोल्डका लागि आवश्यक मत कटाएको थियो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि समानुपातिकमा सबैभन्दा ठूलो दल राप्रपा बन्ने दाबी गरे । देशव्यापी रूपमा राप्रपाको पक्षमा माहोल बनेको र समानुपातिकमा कांग्रेस र एमालेलाई पछि पार्दै सबैभन्दा ठूलो दल बन्ने उनको दाबी छ ।
समानुपातिकमा मत बढाउने गरी रणनीतिक अभियानमा खटिएको उनले बताए ।रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकमा ठूलो दल बन्ने दाबी गरे । उनले ३० देखि ३५ लाख मत ल्याउने जिकिर गरे । उनले भने, ‘कांग्रेस र एमालेको मत घट्छ । हामी सबैभन्दा ठूलो पार्टी बन्छौँ । कांग्रेस र एमाले हाम्रै हाराहारीमा आउँछन् । समानुपातिकमा माओवादी चौथो स्थानमा आउने उनको दाबी छ ।
०७४ मा प्रतिनिधिसभातर्फ समानुपातिक अंकगणित के थियो ?
०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कुल ९५ लाख ४४ हजार सात सय ७९ मत खसेको थियो । ४९ दलले समानुपातिक सूची बुझाए पनि पाँच दलले मात्रै तीन प्रतिशत मत कटाएका थिए । यसका आधारमा समानुपातिक एक सय १० सिटतर्फ तीन प्रतिशत कटाउने पाँच दलले जम्मा ८५ लाख ४८ हजार ५९ मत पाएका थिए ।
जसमध्ये एमालेले ३१ लाख ७३ हजार चार सय ९४ (३७.१ प्रतिशत) मत प्राप्त गरी ४१ सिट प्राप्त गरेको थियो । कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९ (३६.६ प्रतिशत) मत ल्याएर ४० सिट, माओवादीले १३ लाख तीन हजार सात सय २१ (१५.३ प्रतिशत) मत ल्याएर १७ सिट, राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ७२ हजार दुई सय ५४ (५.५ प्रतिशत) मत ल्याएर ६ सिट पाएको थियो । त्यस्तै, संघीय समाजवादी फोरम नेपालले चार लाख सात हजार दुई सय एक (५.५ प्रतिशत) मत ल्याएर ६ सिट जितेको थियो । यसबाहेक तीन प्रतिशतभन्दा कम मत ल्याउने ४४ दलले नौ लाख ९६ हजार सात सय २० मत प्राप्त गरेका थिए, जुन समानुपातिकतर्फको कुल मतको १०.४४ प्रतिशत हुन आउँछ ।
स्थानीय निर्वाचनमा तीन प्रतिशतभन्दा बढी मत ल्याउने ६ दल
गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतअनुसार ६ वटा दलले समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना छ । कांग्रेस, एमाले, माओवादीका साथै जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राप्रपाले स्थानीय तहमा तीन प्रतिशत मत कटाएका छन् ।
अघिल्लो निर्वाचनमा राप्रपाले तीन प्रतिशत मत कटाएको थिएन । अघिल्लो निर्वाचनमा राष्ट्रिय दल बनेको लोसपाले गत स्थानीय निर्वाचनमा तीन प्रतिशत मत कटाएको छैन । लोसपाले वडाध्यक्षमा प्राप्त मतअनुसार २.१२ अर्थात् दुई लाख ४४ हजार आठ सय ८२ मत ल्याएको छ ।
गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा सबैभन्दा धेरै कांग्रेसले ३४.२८ प्रतिशत अर्थात् ३९ लाख ५६ हजार एक सय ९३ मत ल्याएको थियो । दोस्रो स्थानमा आएको एमालेले ३३.०३ प्रतिशत अर्थात् ३८ लाख ११ हजार ६ सय दुई, तेस्रो स्थानमा आएको माओवादीले १३.०३ अर्थात् १५ लाख तीन हजार दुई सय ४७ मत ल्याएका छन् ।
यस्तै, जनता समाजवादी पार्टीले पाँच प्रतिशत अर्थात् पाँच लाख ७७ हजार तीन सय ८०, एकीकृत समाजवादीले ३.६६ प्रतिशत अर्थात् चार लाख २२ हजार सात सय ३७ र राप्रपाले ३.१६ प्रतिशत अर्थात् तीन लाख ६४ हजार एक सय ६० मत ल्याएको छ ।
समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र
समानुपातिक निर्वाचन प्रणालीतर्फ आयोगले प्रत्यक्षभन्दा बढी मतपत्र छापेको छ । अस्थायी मतदातालाई समेत हुने गरी आयोगले प्रतिनिधिसभातर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छापेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रदेश सभा समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छापिएको छ । कानुनअनुसार प्रतिनिधिसभा र प्रदेश सभातर्फ अस्थायी मतदानको व्यवस्था गरिए पनि आयोगले यसपालि समय नपुगेको भन्दै प्रदेश सभातर्फ अस्थायी मतदानको व्यवस्था मिलाएको छैन ।
कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसहित डेढ लाख अस्थायी मतदाताले प्रतिनिधिसभातर्फ मात्रै मतदान गर्न पाउनेछन् । यसैकारण प्रतिनिधिसभा समानुपातिकतर्फ बढी मतपत्र छापिएको हो ।
समानुपातिकतर्फ मतदाताले दुईवटा छुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ । एउटा प्रतिनिधिसभा समानुपातिक र दोस्रो प्रदेश सभा समानुपातिक मतपत्रमा मतदाताले मतदान गरी छुट्टै मतपेटिकामा खसाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसरी हुन्छ समानुपातिकतर्फको मत बाँडफाँड
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ मा समानुपातिक निर्वाचन प्रणालीको सिट बाँडफाँडसम्बन्धी कानुनी व्यवस्था गरिएको छ । दफा ५ अनुसार यो प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याका अनुपातमा त्यस्तो दलका तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्छन् ।
यो प्रणालीअन्तर्गत दलले पाउने मतका आधारमा निर्वाचन आयोगले सिट बाँडफाँड गर्छ । खसेकोमध्ये कुल सदर मतमा तीन प्रतिशत कटाउने दलले मात्रै समानुपातिक सिट प्राप्त गर्छ । तीन प्रतिशतभन्दा तल मत ल्याउने दल बाँडफाँडमा समेटिँदैन ।
तीन प्रतिशत मत नपु¥याउने दलले पाएको समानुपातिक मतलाई कुल सदर मतभित्र गणना गरिँदैन । समानुपातितर्फको प्रारम्भिक कुल सदर मतबाट एक वा दुई प्रतिशत मत पाएका वा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलको मत कुल सदर मतबाट घटाइन्छ ।
बाँकी रहेको सदर मतबाट तीन प्रतिशत कटाउने दलले पाएको मत प्रतिशतअनुसार सिट संख्या बाँडफाँड गरिन्छ । उदाहरणका लागि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एक सय १० सिटका लागि ४९ दलले निर्वाचनमा भाग लिएका थिए । तर, तीन प्रतिशत थ्रेसहोल्ड कटाउने पाँच दल मात्रै थिए ।
०७४ मा समानुपातिकतर्फ कुल खसेको सदर मत ९५ लाख ४४ हजार सात सय ७९ थियो । तीन प्रतिशत कटाएको एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमको जोड्दा ८५ लाख ४८ हजार ५९ मत थियो । तीन प्रतिशत नकटाउने ४४ दलको मत नौ लाख ९६ हजार सात सय २० थियो । यो कुल सदर मतको १०.४४३ प्रतिशत हुन आउँछ । तर, तीन प्रतिशत नकटाएकाले यो मत समानुपातिकतर्फ कुल सदर मतमा गणना भएन ।
पाँच दलले पाएको ८५ लाख ४८ हजार ५९ मतलाई सय प्रतिशत मानेर एक सय १० सिटको बाँडफाँड निर्वाचन आयोगले ग¥यो । जसअनुसार एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपा र फोरमले ६–६ सिट पाए । कुल सदर मतमा पाएको मतभारभन्दा धेरै सिट पाउन सफल भए ।
विवेकशील साझा पार्टीले पाएको २.२२४९ प्रतिशत र राप्रपाले पाएको २.०६१७ सहित बाँकी ४४ दलले पाएको १० प्रतिशतभन्दा बढी मत खेर गयो । यसरी आयोगले तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दललाई मात्र समानुपातिक सिट बाँडफाँड गर्छ ।
यसपालि समानुपातिकतर्फ कुल ४७ दलबाट दुई हजार चार सय दुई उम्मेदवार बन्दसूचीमा परेका छन् । यसमध्ये तीन प्रतिशत मत कटाउने दल मात्रै एक सय १० सिटको समानुपातिकमा भाग पाउनयोग्य हुनेछन् ।
तीन प्रतिशत थ्रेसहोल्ड नकटाउने दलको मत गणना नभई खेर जानेछ । समानुपातिक निर्वाचनमा भाग लिने दलले कुल सिट संख्याको कम्तीमा १० प्रतिशत नाम बन्दसूचीमा बुझाउनुपर्छ । कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्छ ।
बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याका आधारमा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमसमेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम तयार गर्नुपर्छ । पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुनुपर्छ ।
दफा ६० (११) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने उल्लेख छ । उपदफा १२ मा दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिनेछैन ।
समावेशी आधारमा दलित १३.८, आदिवासी जनजाति २८.७, खस–आर्य ३१.२, मधेसी १५.३, थारू ६.६, मुस्लिम ४.४, यी सबै समूहमा ५० प्रतिशत महिला हुनुपर्छ ।
राष्ट्रिय दल कसरी भइन्छ ?
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले समानुपातिकतर्फ दलीय हैसियत प्राप्त गर्दैन । तर, तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलबाट स्वतन्त्र हैसियतमा बन्दसूचीमा रहेको उम्मेदवार समावेशी सूचीअनुसार सांसद बन्छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बन्दसूचीमा उल्लेख भएअनुसार पाएको मतका आधारमा सदस्य निर्वाचित हुने बताए ।
‘बन्दसूचीमा जुन क्रमअनुसार राखिएको छ, जतिवटा सिट पाउने हो, त्यसको हिसाबमा बन्दसूचीअनुसार नै आउने हो । चुनावपछि संसद्मा प्रतिनिधित्व गर्ने कुरामा राष्ट्रिय दल र स्वतन्त्र हैसियत भएको दल भनेर छुट्टिने हो,’ उनले भने ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने बताए । ‘प्रत्यक्षतर्फ जित्न सकेन र समानुपातिकतर्फ तीन प्रतिशत मत कटायो भने सिट बाँडफाँडमा गणना हुन्छ । स्वतन्त्र हैसियतमा समानुपातिक सांसद चुनिन्छ,’ उनले भने ।
नयाँ पत्रिकाबाट
नयाँ पत्रिकाबाट