सुदर्शन आचार्य
आसन्न निर्वाचनका सन्दर्भमा राजनीतिमा व्याप्त नैराश्यलाई चिरेर मुलुकलाई आशावादी बाटामा लैजान कांग्रेसका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा नेकपा एसकी रामकुमारी झाँक्री ‘व्यक्ति’का रूपमा भन्दा पनि ‘विचार’का रूपमा देखा परेका छन् । ‘फोहोर’ सफा गर्न ‘पोखरी’भित्रै प्रवेश गर्नुपर्छ भन्ने मान्यता बोक्दै आएका यी नेताकै कारण ‘सचेत तथा परिवर्तनकारी’ मतदाता गणतन्त्रप्रति आशावादी देखिएका हुन् ।
विदेश नीति, संवैधानिक निकायमा गरिने नियुक्ति, विधि र पद्धतिउपर नेपालका पछिल्ला सरकार खासगरी तत्कालीन नेकपा सरकारले देखाएको रबैयाकै कारण ‘नो नट अगेन’ वाला अभियानले चर्चा पाइरहेको यथार्थ भुल्न मिल्दैन । तसर्थ, जनतामा आजका मितिमा ‘नेता’प्रति मात्र नभई ‘व्यवस्था’प्रति नै आक्रोश चुलिएको हो । प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरू नै आ–आफ्नो क्षेत्रमा भाषण गर्दा ‘भावी प्रधानमन्त्री’ पनि आफैँ भनेर गरिएको भाषणका कारण मतदातामा निर्वाचनप्रति उत्साह देखिँदैन ।
काठमाडौँजस्तो सचेत ठाउँका मतदाताले आफ्नो घरदैलोमा मत माग्न आएका कतिपय दलका प्रत्यासीलाई हिजो बहुमत दिँदा संसद् भंग किन गरियो ? यती र ओम्नीकै कुरा सुन्ने भए हाम्रो घरदैलोमा किन आएको ? गत निर्वाचनमा समृद्धिको नारा दिएकै कारण हामीले नेकपालाई बहुमत दियौँ, तर तिमीहरूको नाटक हामीले बुझेका छौँ । एमसिसी गलत थियो भने किन पास गरेको, ठिक थियो भने एमसिसीकै विषयलाई मुद्दा बनाएर निर्वाचनको प्रत्यासीमाथि हिलो छ्याप्ने काम किन भइरहेको छ ? जस्ता गम्भीर प्रश्न उठाएका छन् ।
सचेत मतदाताका निसानामा काठमाडौं ५ का एक प्रत्याशी पनि त्यसैगरी परेका छन् । भ्रष्टाचारको रकम लुकाइएको विषयमा ती प्रत्यासीसामु मतदाताले दर्जनौँ प्रश्न एकसाथ उठाए ।
मतदाताले भने– ‘यती र ओम्नी’जस्ता कम्पनीको एजेन्ट बनेर ‘कोभिड’जस्तो महामारीबाट दैनिक जनता मरिरहेका वेला बालुवाटारमै कम्पनीका एजेन्टले तयार गरेको नक्कली ‘इन्भ्वाइस लेटर’कै आधारमा स्वास्थ्य सामग्री किन खरिद गरियो ? पटक–पटक संसद् भंग गर्नकै निम्ति थियो त हाम्रो मत ? अघिल्लोपटक निर्वाचित भएर गएपश्चात् एकैपटक पाँच वर्षपछि आउनुभयो– कतै बाटो भुल्नु त भएन ?
हिलो र धुलो बाटाका कारण तपाइलाई हाम्रो घरसम्म आउन असहज त भएन जस्ता प्रश्नले व्यंग्यसमेत गरे । मतदाताको थप कटाक्ष थियो– अब पनि तिमीले प्रतिनिधित्व गर्ने पार्टीलाई नै भोट दिँदा बहुमत ल्याए दुईतिहाइ चाहियो र बहुमत नल्याए बहुमत भएन भनेर संसद् नै भंग गर्ने त होला नि ?
‘भिजनरी’ युवा नेताहरू ‘गगन, विश्व, प्रदीप, रामकुमारी’ आदिमा मुलुक निर्माणको ‘हुटहुटी’ देखिन्छ । कार्यकारी पदमा पुगेर मुलुक बदल्ने अवसर नपाएका यी युवाले मुलुकको भयावह तस्बिरको अध्ययन भने राम्रैसँग गरेका छन् । आर्थिक संकटका हिसाबले मुलुक लगभग श्रीलंकाकै बाटामा उन्मुख छ ।
आयातको अनुपातमा निर्यात धेरै सानो छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकजस्ता संस्थाको व्यावसायिकतामा क्षयीकरण हुँदै गएको छ । जुन देशमा पाँच बजे नै अर्थ मन्त्रालयमा ताला लाग्छ, त्यो देशले आर्थिक रूपमा उन्नति गर्नै सक्दैन ।
४३ वर्षीय ऋषि सुनक बेलायती प्रधानमन्त्री बनेलगत्तै विश्वभरका युवा राजनीतिकर्मीमा मुलुकको कार्यकारी तहमा पुगेर मुलुक बदल्ने चित्र प्रस्तुत गर्नुपर्ने दबाब बढेको छ ।
नीति निर्माणमा कच्चापन र आर्थिक हिसाबले कुशासन नेपालको एउटा ‘पद्धति’ बन्न पुगेको छ । राजनीतिको उद्देश्य वास्तवमा जनताको समृद्धि बन्न सक्नुपथ्र्यो । तर, राजनीतिक तथा संवैधानिक नियुक्ति, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरणजस्ता विभागमा कर्मचारी सरुवा आदिमा मात्र नेताको ध्यान ज्यादा गएको देखिन्छ ।
नेपालमा घटेका ठूला भ्रष्टाचारका घटनाको ‘जरो’ अन्ततः बुढानीलकण्ठ, बालकोट या खुमलटारमा गएर टुंगिने गरेको आश्चर्यजनक दृश्य देखिन्छ । भ्रष्टाचार निर्मूलीकरण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने सेवानिवृत्त कर्मचारी थान्को लगाउने अड्डामा रूपान्तरण भएको छ । यसले पनि जनतामा व्यापक निराशा छाएको हो ।
मुलुकको अत्यासलाग्दो चित्र देखिएकै वेला राज्य सञ्चालनको ‘ड्राइभिङ सिट’मा बसेर भिजनसहित देश सञ्चालन गर्ने विषय सार्वजनिक गरेलगत्तै कांग्रेस महामन्त्री थापा चर्चाको उत्कर्षमा छन् ।
सोही अभिव्यक्तिपश्चात् आफूहरू नेपालमा भिजनसहितको समृद्धिको पक्षमा रहेकाले थापाको प्रस्तावक र समर्थक बस्ने अभिव्यक्ति तत्कालै सार्वजनिक गरेका अर्का महामन्त्री शर्मा तथा काठमाडौं ५ का प्रत्यासी तथा कांग्रेसका लोकप्रिय युवा नेता पौडेल ‘राजनीतिक रूप’ले झनै उत्कर्षमा छन् ।
राजनीतिमा यसरी देखाइने ‘उदारता’ नेपालका सन्दर्भमा बिरलै पाइन्छ । अझ ‘प्रम र पूर्वप्रम’हरू स्वयं आफैँले आफू प्रधानमन्त्री बन्ने र आफैँ प्रधानमन्त्री भए मात्र ‘समृद्धि’को सपना साकार हुने ‘हवाई गफ’ गरेर मत मागेकै समयमा भिजनसहित भोलिको नेपाल निर्माण गर्न सक्ने ‘गगन–विश्व–प्रदीप’ पुस्ता एकले अर्कालाई समर्थन गर्ने ‘उच्चतम राजनीतिक अभिव्यक्ति’ले ‘कालो बादलमा चाँदीको घेरा’ देखाएको छ ।
४३ वर्षीय ऋषि सुनक बेलायती प्रधानमन्त्री बनेलगत्तै विश्वभरका युवा राजनीतिकर्मीमा मुलुकको कार्यकारी तहमा पुगेर मुलुक बदल्ने चित्र प्रस्तुत गर्नुपर्ने दबाब परेको छ । विचारले युवामा देश बदल्ने चित्रसहितको हुटहुटी हुन्छ भन्ने मान्यता राखिन्छ ।
त्यो हुटहुटीको ‘चित्र’ काठमाडौंका ४ र ५ का प्रत्यासीद्वय थापा र पौडेल तथा झापा क्षेत्र नं. १ का प्रत्यासी शर्माले देखाएका छन् । काठमाडौं ५ का पौडेललाई आफ्नै पार्टीका कतिपय कार्यकर्ताले मलीन स्वरमा ‘टुरिस्ट’को संज्ञा दिँदै गर्दा यसअघि सोही क्षेत्रबाट जितेका सांसदबाट आजित मतदाताले आफ्नो रोजाइ बनाउने संकेत गर्नुले युवा पुस्ताले पनि भविष्यमा मतदाताको अपेक्षा पूरा गर्नुपर्ने दबाब देखिएको छ ।
गणतन्त्र प्राप्तिको छोटै समयमा गणतन्त्रका ‘कथित’ सञ्चालककै कारण गणतन्त्रले बदनामी व्यहोर्नुप¥यो । आज वैदेशिक ऋणको भार बढ्दै छ । आन्तरिक बेरुजुको अंक ठूलो छ । राष्ट्रिय गौरवका आयोजनाको प्रगति लाजमर्दाे छ । अनुत्तरदायी शासकीय अभ्यासले नेपालीमा निराशा छाएको छ ।
अर्थतन्त्रको अनुपातमा बजेटको आकार सरकारमा अदली–बदली हुनासाथ बढाइन्छ ! अर्थतन्त्रको आकार फितलो हुँदासमेत अनुत्पादक क्षेत्रमा कर्जा अनुपात बढाइँदै छ ।
मुलुकको अर्थतन्त्र केवल ‘रेमिट्यान्स’कै भरमा चलेको छ । संघीयताको मर्म एकातिर छ भने स्थानीय निकाय बलियो बनाउने भन्दा केन्द्रीकृत राज्य प्रणालीबाटै राज्य चलाउने कार्यलाई निरन्तरता दिइएको छ । विदेशी मुद्राको सञ्चिति घटेको छ ।
यी र यस्ता विषयबाटै मुलुकको अवस्था भयावह बन्दै गएको बुझ्न कठिन छैन । समग्रमा यी भयावह तस्बिरको केन्द्रभागमा आफू उभिएर भिजनसहित मुलुक चलाउन सक्ने ‘योग्य तथा भिजनरी’ पुस्तालाई एकपटक मतदाताले ‘विवेक’ पु¥याएर अनुमोदन गर्दै संसद्मा पुर्याउने वेला आएको छ । ‘गगन–विश्व–प्रदीप–रामकुमारी’ पुस्तालाई मतदानमार्फत गरिने अनुमोदनले नै मुलुक परिवर्तनको सन्दर्भमा आशावादी हुने ठाउँ देखिनेछ ।
नयाँ पत्रिकाबाट