काठमाडौं कार्तिक ३०
नयाँ वानेश्वरस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले वार्षिक खेलकुद दिवसका अवसरमा विश्व बुढामगरलाई यस वर्षको प्रज्ञा खेलाडी सम्मान प्रदान गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको उक्त कार्यक्रममा स्कुलकी प्रिन्सिपल सुनिता पौडेलले सम्मान प्रदान गरेकी हुन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त उसु खेलाडी हुन् ।
दिवसमा दर्जनभन्दा बढी खेलकुद समावेश गरिएका थिए । कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । उद्घाटन सत्रमा विद्यार्थीहरूको मार्च पास, उसु र कराँते समूहको विशेष प्रस्तुति प्रमुख आकर्षण बनेका थिए । दोस्रो सत्रमा स्वागत मन्तव्य, नृत्य र संगीत प्रस्तुत गरिएको थियो भने तेस्रो सत्र खेलकुद विशेष थियो ।
विभिन्न १० चरणमा सम्पन्न खेलकुद सत्रमा कक्षा १ देखि कक्षा १० सम्मका बालबालिकाका लागि दौड प्रतियोगिता, बेलुन फुटाइ, सिक्का दौड, रेल दौड, किताब सन्तुलन दौड, लङ जम्प लगायतका दर्जनभन्दा बढी खेलकुद समावेश गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा १ मा अध्ययनरत छात्र अन्वय बुढाथोकीले स्वागत मन्तव्य दिए । खेलकुद प्रमुख रोजन राईले खेलकुद कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी दिए ।
अभिभावकका लागि पनि दौडलगायत विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न उपाधि जित्न सफल विद्यार्थी र अभिभावकलाई पुरस्कार, पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
अन्नपूर्ण पाेस्ट्बाट