काठमाडौं
बेलायती अटोमोवाइल ब्राण्ड एमजी (मारिस ग्यारेज)ले सहरी क्षेत्रलाई ध्यानमा राखेर भारतमा उत्पादन गर्न लागेको ह्याचव्याक कार जनवरीमा हुने अटो एक्स्पो २०२३ मा सार्वजनिक हुने भएको छ ।
अहिले भारतको विभिन्न भागमा परिक्षण भइरहेको सानो ह्याचव्याक कार पावर, पफर्मेन्स र लुक्समा उत्कृष्ट हुने अनुमान गरिएको छ । एमजीले उत्पादन गरेको जेडएस ईभी नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको मोडल भएको कारण एमजीले भारतमा उत्पादन गर्ने मिनी ईभी पनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।
मूल्यका हिसावले २२ देखि २५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान भइरहेको यो ईभी सहरी क्षेत्रको लागि निकै उपयोगी हुने अनुमान गर्न सकिन्छ । सन् २०२३ को पहिलो क्वाटरबाट भारतमा विक्री सुरु हुने अपेक्षा गरिएको ह्याचव्याकका धेरै विषयहरु बाहिर आएका छन् ।
विलिङ एयर ईभीमा आधारित हुने
भारतमा छिटै उत्पादन सुरु हुने ईभी इन्डोनेशियमा विक्री भइरहेको विलिङ एयर मिनी ईभीमा आधारित रहेको छ । इन्डोनेशियामा एयर ईभी भनिएता पनि भारतमा यसको दर्ता ई२३० नाममा भएको छ । भारतमा यसको फरक नाम रहने छ ।
एमजी कम्प्याक्ट ईभीको डायमेन्सन
एमजीको नयाँ ईभी इन्डोनेशियन एयर ईभीकै वेसमा बन्ने भएकाले एसको डायमेन्सनपनि विलिङ एयर ईभीकै हाराहारीमा हुनेछ । यसको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम तथा उचाई १६३१ एमएमको रहनेछ ।
यो ईभीको ह्वीलवेस भने २०१० एमएमको रहनेछ । जसको मतलब यो ईभी टाटाको आउँदै गरेको टियागो ईभीभन्दा सानो हुनेछ ।
एमजी ईभीको पावरट्रेन
ग्लोबल मार्केटमा यो ईभी दुई साइजको ब्याट्रीप्याकमा विक्री भइरहेको छ । विलिङको एयर ईभीमा १७.३ किलोवाट आवर र २६.७ किलोवाट आवरको फरक दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।
उत्पादक कम्पनीका अनुसार सानो ब्याट्रीप्याकले २०० किलोमिटर र ठूलो साइजको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिने दावा गरेको छ । दुबै ब्याट्री प्याकसँग रियर एक्सलमा मोटर रहेको छ । उक्त मोटरले ४१ पीएसको पावर जेनेरेट गर्छ ।
भारतमा फरक स्पेसिफिकेसन
एमजी मोटर्स इन्डियाले केही स्पेशिफिकेसन परिवर्तन गर्ने भएको छ । कम्पनी भारतीय वातावरण अनुसार क्लाइमेट कन्ट्रोल तथा ब्याट्री मेनेजमेन्ट सिस्टममा परिवर्तन गर्ने छ । कम्पनीले भारतमा हुने उष्ण तथा चिसो दुबै खाले मौसमलाई उपयुक्त हुने स्पेशिफिकेसन अनुसार यसलाई तयार गर्नेछ ।
मेराे अटाेबाट