रसुवा, कात्तिक ३०
जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं जिल्ला समन्वय समितिको परिसरमा एक/एक वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।
कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै निजामती कर्मचारी मतदान गर्न पाउने छन् ।
समानुपातितर्फ मतदान गर्न पाउने राष्ट्रसेवकमध्ये निजामतिमा छ सय १२, नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७ र नेपाल प्रहरीका ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
तीमध्ये ५० प्रतिशत राष्ट्रसेवक जिल्लाभित्र रहने मतदान केन्द्रमा खटिने भएकाले ती कर्मचारीको हकमा खटिएकै मतदान केन्द्रबाट र धुञ्चे क्षेत्रमा रहने करिब ५० प्रतिशत राष्ट्रसेवकले जिल्ला समन्वय समितिको परिसरमा रहने मतदान केन्द्रबाट मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयो ।
यस्तै आसन्न निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिएका एक सय १२ मतदान तथा सहायक मतदान अधिकृतलाई यथेष्ट ज्ञान बढाउन दुई चरणमा तालिम प्रदान गरिएको छ ।
तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रजिअ नवराज जैसी, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल निर्वाचन अधिकारी थापा समेतले मतदान केन्द्रमा पर्नसक्ने चुनौती र त्यसको निराकरणका उपायमा दिशानिर्देश गर्दै शान्तिपूर्ण र भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउने जस्ता विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
मङ्सिर ४ गते समानुपातिका अस्थायी मतदाताबाहेक रसुवा जिल्लाको भू–भागमा स्थायी बसोबास गरेका कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ते जनाइएको छ । जिल्लाको दूरदराजको क्षेत्र लाङ्टाङ्गो मुण्डुमा रहने मतदानका लागि राष्ट्रसेवक कर्मचारी आज बिहान प्रस्थान गरेका छन् । दुई दिन्को पैदल दूरी पश्चात् पुग्न सकिने सो क्षेत्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री आवश्यक सुरक्षाका साथ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभित्रका ५२ वटै मतदानकेन्द्रमा १ गतेसम्म मतदानका लागि खटिएका सबै कर्मचारी एवं सुरक्षाकर्मी पुगिसक्ने बताइएको छ । यस्तै निर्वाचनको सन्दर्भमा महिला सहभागिताको बारेमा अनुगमन गर्न महिला आयोगको एक टोलीले रसुवाको अध्यायन भ्रमण सम्पन्न गरेको छ ।
महिला आयोगका अध्यक्ष कमला पराजुली सहितको एक टोलीले रसुवा जिल्लाको राजनीतिमा महिलाको पहुँच, महिला हिंसाको अवस्था, राज्यबाट दिने सेवा सुविधा, शिक्षा स्वास्थ्य, जस्ता विषयमा अवलोकन गर्नुभएको थियो ।
विशेषगरी महिला आयोगका अध्यक्ष पराजुलीसहितको टोलीले हिमाली क्षेत्रका महिलाको स्वास्थ्य अवस्था र उपचारको पहुँचका बारेमा जिल्ला अस्पतालसँग परामर्शसमेत गरेको थियो ।
परामर्श छलफलमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ति भूर्तेल र महिला आयोगबीच अबका दिनदेखि महिलालाई गरिएको उपचार सेवा छुट्टै अभिलेख राख्ने र सामान्य उपचार, महिला हिंसा बलात्कार वा अन्य के कस्तो अवस्थाबाट कस्तो खाले उपचार गरियो अस्पतालले अभिलेख बनाई सुरक्षित राख्ने सहमति भएको जनाइएको छ ।
राससबाट