बागमती तथा अन्य नदी किनारका सुकुम्बासी बस्ती हटाउने निर्णय विरुद्ध भूमिहीनहरू प्रदर्शनमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेका छन्। यही क्रममा महानगरले बागमती लगायत अन्य नदी किनारका बस्ती हटाउने तयारी गरेको छ।
यसका लागि काठमाडौं महानगरपालिकासँगको समन्वयमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ। समितिले मंसीर ४ गतेभित्र बागमती लगायत काठमाडौंका नदी किनारका घर तथा टहरा खाली गर्न समय दिएको छ।
तोकिएको समयमा नदी किनार खाली नगरे काठमाडौं महानगरको सहयोगमा घर तथा टहरा भत्काउने चेतावनी दिइएको छ। यसको विरोधमा भूमिहीनहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।
नेपाल महिला एकता समाज सहित २२ संस्थाले सुकुम्बासी बस्ती हटाउने निर्णय फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका छन्। भूमिहीनको वैकल्पिक व्यवस्था नगरी बस्ती हटाएमा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।
हिमाल खबरबाट
https://www.himalkhabar.com/news/133003
बिहीबार, १ मंसिर, २०७९, १४:३६:४३ मा प्रकाशित