अन्तर्वार्ता
निवर्तमान मन्थली नगरपालिकामा मेयर रमेशकुमार बस्नेत रामेछापको प्रदेश सभा अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका छन्। एकीकृत समाजवादी रामेछापको जिल्ला अध्यक्षसमेत रहेका बस्नेत गठबन्धनले रामेछापमा पार्टीलाई अन्याय गरेकाले आफूले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनुपरेको बताउँछन्।
जनताको चाहनाकै कारण निर्वाचनमा होमिएको बताएका उनले आफ्नो मूल प्रतिस्पर्धा गठबन्धनका उम्मेदवारसँग भएको बताएका छन्। निर्वाचनसँग सम्बन्धित रहेर अन्नपूर्ण पोस्ट्का प्रज्वल पौडेलले निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बस्नेतसँग गरेको कुराकानी :
देशभर सत्तारुढ दलले गठबन्धन गरेको छ तर रामेछापको प्रदेश सभामा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार किन ?
रामेछापमा संघमा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको छ। रामेछापमा हामीले सुरुदेखि विश्लेषण गरेर क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी, २ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्र र संघमा कांग्रेसलाई दिनुपर्छ भनेका थियौं। तर समाजवादीलाई अवमूल्यन गरेर उहाँहरुले कांग्रेस र माओवादी मात्र मिलेर गठबन्धन गर्नुभयो।
गठबन्धनको अन्यायपूर्ण फैसलाको विरुद्ध न्यायका लागि जनताका बीचमा जानका हामीले मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि आफ्नो उम्मेदवारी दिएका हौं। यो गठबन्धनलाई चुनौती दिनका लागि हामीले उम्मेदवारी दिएका छौं, त्यसलाई जनताले सकरात्मक रुपमा लिएका छन्।
मन्थली नगरपालिकाको मेयरमा निर्वाचित भएर पाँच वर्ष काम गर्नुभयो, तर क्षेत्र नम्बर २ मा वडा धेरै छन्, १ नम्बर नै किन रोज्नुभयो ?
मेरो जन्मथलो निर्वाचन क्षेत्र १ मा नै पर्छ। मैले राजनीतिक रुपमा काम गर्दा नयाँ क्षेत्रमा पनि काम गर्नुपर्छ। र नयाँ ढंगले जानुपर्छ। मन्थली नगरपालिका ३ वडा एक नम्बर र धेरै मन्थली नगरपालिकामा पर्छन्। मन्थली नगरपालिका मैले गरेका कार्यसम्पादनले मलाई इतिहासमा एउटा चिनाउने मौका दिएको छ र मैले प्रदेशमा गएर पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु र गर्छु, मेरो जन्म क्षेत्र भएकाले पनि मैले १ नम्बर क्षेत्र रोजेको हो।
जनताका घरघरमा पुग्दा क्षेत्र नम्बर एक मुख्य समस्या के पाउनुभयो ?
नेता कार्यकर्ताहरु चुनावका बेला मात्र आउँछन् अरु बेला मुख देखाउँदैनन् भनिरहेका छन्। विगतमा जनप्रतिनिधि निर्वाचित भएपछि पुन: आफ्नो क्षेत्रमा नजाँदा यस्तो प्रश्न उठाएका हुन्। विकास भएको छैन।
भौतिक पूर्वाधार,सड शिक्षा सुधार, स्वास्थ्य सुविधा, कृषि, आयआर्जन, पर्यटन क्षेत्रहरुका काम गर्नुपर्ने भएपनि नगरेको जनताले गुनासो गर्नुभयो। उहाँहरुलाई हामीले पहिलेका जनप्रतिनिधिभन्दा हामी भिन्न हौं हाम्रो शैली भिन्न छ, हामी भिन्न छौं भनेर यहाँका समस्या समाधानमा प्रतिबद्धता जनाएका छौं। यस अर्थमा हामीले जनतामाझ घर दैलो गर्यो, हामीले अरुको झैं कोणसभा, आमसभाहरुमा जोड दिएनौं।
जनताको घरमा प्रत्यक्ष सम्बन्ध, जनताको मर्म बुझ्ने कोसिस गर्यौं, हाम्रा कुरा उहाँहरुलाई सुनायौं। राजनीतिक कार्यकर्ताले पनि मान्छे योग्य हो। योग्य हुँदाहुँदै पनि यो गठबन्धनमा सामेल गर्न सकिएन, त्यसले उहाँहरु दुखि भएको पाएँ, त्यसलाई सान्त्वना दिँदै मैले उहाँहरुलाई कसरी हुन्छ निर्वाचनमा असल जनप्रतिनिधि छान्नुस् भनेर भनेको छु त्यसमा सकरात्मक प्रतिक्रिया छ।
मेरो मुख्य प्रतिस्पर्धा तारानारायण श्रेष्ठसँग नै हुन्छ। नेकपा एमालेसँग हाम्रो मुख्य प्रतिस्पर्धा होइन।
विपक्षीको एजेण्डा र तपाईंहरुको एजेण्डामा के फरक छ ?
हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र संविधानलाई जोगाउनुपर्छ, विकासमा जनतालाई सहभागिता गराउनुपर्छ। भ्रष्टाचार र कमिशनतन्त्र, कुसंस्कार, व्यक्तिवादको विरुद्धमा छौं। सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरण नगरेसम्म जुनसुकै राजनीतिक परिवर्तन भएपनि त्यसले उपलब्धि हासिल गर्न सक्दैन। त्यसलाई परिवर्तन गर्नका निम्ति सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरण गर्नुपर्छ भन्ने एजेण्डा लिएर अगाडि बढेका छौं।
जनताले मैले गरेका क्रियाकलाप, कार्यसम्पादन र मैले जनताप्रति देखाएको बफादारिता नै त्यो नै सबै जनताले चिनेको, बुझेकाले जनमत आकर्षित भइरहेको छ।
हामी पार्टीको नीति, दृष्टिकोण र विचार लिएर जनतामा गएका छौँ। हामीले पूरा गर्न नसक्ने आश्वासन जनतालाई दिएका छैनौँ। संसद कानुन बनाउने थलो भएकाले कस्ता कानुन बनाउने, नीति निर्माण तहबाट जनताको समस्या कसरी समाधान गर्ने भन्ने नै मुख्य विषय हो।
निर्वाचनमा तपाईंको मुख्य प्रतिस्पर्धी एमाले की माओवादी केन्द्र ?
मेरो मुख्य प्रतिस्पर्धा तारानारायण श्रेष्ठसँग नै हुन्छ। नेकपा एमालेसँग हाम्रो मुख्य प्रतिस्पर्धा होइन।
कति मतान्तरले विजयी हुनुहुन्छ ?
हामी एकदम कम्पिटिसनमा जान्छौं, हामी मतान्तर १५ सयदेखि २५ सयको बीचमा विजयी हुन्छौं। हाम्रो क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा हुन्छ। त्यहिँ रणनीति अनुसार हामी लागेका छौं।
स्थानीय निर्वाचनको मत अनुसार एकीकृत समाजवादीको मत कम थियो तर विजयी हुने दाबी गर्नुहुन्छ, विजयी हुने आधार के हो ?
स्थानीय निर्वाचनमा कांग्रेसका साथीहरुले घात गरेर समस्या भएको हो। स्थानीय निर्वाचनमा गठबन्धन हुन्छ भनेर तयारी गरेका थियौं तर गठबन्धन हुन सकेन। तर पनि हामी विजयी नहुने स्थितिमा हाम्रा कैयौं मतदाताका भोटहरु कांग्रेसलाई हालेका थियौं, माओवादी र एकीकृत समाजवादी कतिपय ठाउँमा जोडिएका थियौं त्यहाँ हाम्रो संयुक्त मत परेको छ। हामीले स्थानीय निर्वाचनमा पनि अहिलेपनि घरदैलोमा पुगेको जनताको समस्या बुझेका छौं।
पहिलो कुरा, जनातामाझ रमेश बस्नेत नयाँ नाम होइन। राजनीतिमा क्रियाशित व्यक्ति हुँ। म रामेछाप जिविसको उपसभापति बनेर पनि काम गरिसकेको छु, मन्थली नगरपालिकामा मेयर भएर पनि काम गरेको छु, त्यो हिसाबले जनताले मैले गरेका क्रियाकलाप, कार्यसम्पादन र मैले जनताप्रति देखाएको बफादारिता नै त्यो नै सबै जनताले चिनेको, बुझेकाले जनमत आकर्षित भइरहेको छ।
दोस्रो, मैले आफ्नो राजनीतिक जीवनकालमा उच्च राजनीतिक संस्कार प्रयोग गरेर मैले राजनीतिक सहमति, समन्वय र सहकार्य गरेकाले मैले जित्ने आधार बनेको छ।
तेस्रो, गठबन्धनको नाममा कांग्रेस र माओवादीको जुन गठबन्धन छ। गठबन्धनका नाममा रहेका उम्मेदवारप्रतिको असन्तुष्टि अर्को आधार बनेको छ। यसले गर्दा हामीलाई विजयीको नजिक बनाएको छ।
जनतालाई तुलनात्मक रुपमा उम्मेदवार हेर्नुहोस्, उम्मेदवार हेरेर जनताले जनप्रतिनिधि फैसला गर्नुहोस्, हामीले कसैलाई आलोचना गरेका छैनौं। मैले चार वटै गाउँपालिका र मन्थली नगरपालिकाका ३ वटै वडाका मतदातालाई धेरै कुरा मैले भन्नुभन्दा पनि मैले अहिलेसम्म गरेको क्रियाकलापका आधार मानेर मत दिनुस्, जित सुनिश्चित छ भनेर लागेका छौं।
र अन्त्यमा,
हामी प्रदेशमा ११ जना उम्मेदवार छौं, ११ जनालाई भोलीको राजनीतिलाई कसरी स्थापित गर्न सकिन्छ ? कसरी राजनीतिक राजनीतिक संस्कारको विकास गर्न सकिन्छ ? कसरी जनता र राजनीतिको बीचको नङ र मासु जस्तो सम्बन्ध बनाउन सकिन्छ ? त्यस्तो पात्र खोजेर आफ्नो अमूल्य मत व्यक्त गरिदिन अनुरोध गर्दछु।
अन्नपुर्ण पाेस्ट्बाट