नेपालको निर्वाचनमा बेइजिङको गम्भीर चासो, भारत-अमेरिका मौन

काठमाडौं, मंसिर २

निर्वाचनको सन्निकट नेपालमा दुवै छिमेकतिरबाट उच्चस्तरीय राजनीतिक आउजाउ बाक्लै हुन्थ्यो। आफ्नो ‘इन्ट्रेस्ट’ मा चलखेल चल्थ्यो। तर, यसपालि दृश्य फरक छ। कात्तिक २५ गते चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन काठमाडौं आएबाहेक कसैको औपचारिक आगमन खुलेको छैन।

नेपालको संविधान लेखन प्रक्रियामा समेत विदेशी हस्तक्षेप भएको भन्ने गरिन्छ अझै। विगतमा केही राजनीतिक दल र तीनका नेताहरू चुनावमा टिकट लिन वा कुनै सामान्य सरुवा–बढुवाको ‘पावर’ लाउन विभिन्न दूतावास धाइहाल्थे।

आफ्नो प्रभाव जमाउन र तत्कालीन फाइदाका लागि त्यसो गर्ने नेताहरू अहिले केही पाखा लागिसकेका छन्। केही टिकट पाएर पनि ‘बाहिरी संरक्षण’ अभावमा निरीहजस्ता देखिएका छन्।

खुसीको कुरा, हाम्रो चुनावमा यसपालि बाहिरी प्रभाव र दबाब देखिएको छैन। परराष्ट्रविद् दिनेशकुमार भट्टराईले निर्वाचन प्रक्रियामा विदेशीहरूको हस्तक्षेप नपाइएको बताए। भट्टराईले अन्नपूर्णसँग भने, ‘निर्वाचन प्रक्रियामा देखिने गरी विदेशीहरूको हस्तक्षेप अहिलेसम्म भेटिएको छैन। भित्रभित्र के भइरहेको छ, त्यो त कसलाई थाहा हुन्छ र ?’

नेपालको राजनीतिक मामिलामा भारतको सबैभन्दा हस्तक्षेप हुने गरेको नेताहरू नै आरोप लगाउँछन्। निर्वाचन, सरकार गठन लगायतमा भारतले हस्तक्षेप गरेको भन्दै सार्वजनिक रुपमा शीर्ष नेताहरूले भाषण गरेका कैयौं उदाहरणहरू छन्।

भारतपछि चीन, अमेरिका, युरोपेली युनियन आबद्ध मुलुकहरूबाट हस्तक्षेप हुने बताउँछन् उनीहरू। कतिपय निर्णय प्रक्रियामा विदेशीलाई सहभागी गराएको भन्दै आफू आफूमै नेताहरू झगडा गर्दै आएका पनि छन्। तर, यस चुनावमा भारत मौन छ। न उसले केही प्रतिक्रिया नै दिएको छ। छिमेकीका नाताले सामान्यबाहेक भारतले निर्वाचनबारे थप रणनीतिक चासो नलिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

चीनले भने यस घडी किन उपमन्त्री पठायो भन्ने प्रश्न उब्जिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा सी चिनफिङ पुनः चुनिएपछि चीनबाट भएको यो उच्चस्तरीय भ्रमण हो। शुक्रबार नेपाल आएका ली शनिबार बालुवाटारस्थित चिनियाँ दूतावास गएका थिए। त्यहाँ उनले नेपालको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन र संभावित निर्वाचन परिणामको जोडघटाउनको जानकारी लिएका थिए।

नेपालस्थित चिनियाँ दूतावासको राजनीतिक ब्युरोलेले उपमन्त्री लीलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रममका बारेमा ब्रिफिङ गरेको स्रोतले बताएको छ। चीनले निर्वाचनपछि बन्ने संसद्का सांसदहरू बहुमत संख्यामा कम्युनिष्ट विचारधारा बोकेका व्यक्ति हुन् भन्ने चाहेको विश्लेषकहरूले दाबी गरेका छन्।

त्यसो भए आफ्ना परियोजनाहरूको सहज कार्यान्वयन हुने र चिनियाँ प्रभावलाई बढवा दिन सकिने बेइजिङले चाहेको छ। लीले नेपाल बसाइका क्रममा सीमित राजनीतिक भेट गरेको बताइए पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन।

निर्वाचन आयोगले आगामी आइतबार प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गराउँदैछ। निर्वाचनको सबै प्रक्रिया पूरा भइसकेको आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केहीदिन अघि नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरूलाई निर्वाचन तयारीबारे ब्रिफिङसमेत गरेका थिए।

अन्नपूर्णपाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?