मौन अवधिको महत्त्व

सम्पादकीय

निर्वाचनको मुख्य दिन मतदानको दिन हो। त्यस दिनको ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुन्छ। कानुनमा मौनअवधि भन्ने कतै उल्लेख नभए पनि यो समय चुनाव प्रचार गर्न नपाइने समय हो। बोलीचालीमा यसलाई मौन अवधि नै भन्न सकिन्छ।

मतदातालाई लोभ, लालच र प्रलोभनमा कसैले पार्न नसकोस्, अवाञ्छनीय गतिविधि नहोऊन् भनेरै यस्तो समावधि राखिँदै आइएको छ। यस्तो समयावधिलाई निर्वाचन आयोगले स्थिर समय वा शान्त समय भनेको छ। भयरहित र शान्तिपूर्ण तरिकाले मतदान गर्न पाउने वातावरणका लागि ४८ घण्टाको आराम अवधि राखिएको पनि बुझ्न सकिन्छ।

 

प्रचारका लागि उमेदवारहरूले काफी समय पाइसकेका छन्। उनीहरू पनि आरामले मतदानको प्रतीक्षामा रहनु मनासिब हुन्छ भनेरै पनि त्यस्तो व्यवस्थासहितको आचारसंहिता बनाइएको हो। शान्त समय गए राति १२ बजेबाट सुरु भइसकेको छ। शान्त समयअघि जति पनि प्रचार भए तिनकै आधारमा अब मतदाताले मतका लागि मनस्थिति बनाउने हो।

स्थिर समयमा स्थिर भएरै सोच्ने हो। एकएकजनाको मतकै आधारमा कोही हार्छ, कोही जित्छ। कसैको हार र जितभन्दा पनि असल र कमसल वा खराबको छनोट हुने हो। त्यसैले एक एक भोटको महŒव छ। देश र आफ्नै भविष्यलाई कसको हातमा सुम्पने भन्ने निर्णय मतका आधारमा हुन्छ। आफ्ना विचार, दृष्टिकोण, योजना र प्रतिबद्धता राखिसकेका उमेदवारले मतदातालाई मगज मन्थन गर्न समय दिनुपर्छ।

शान्त अवधिमा मतदाताले मनमनै गुन्ने हो। गम खाने हो। विचार गर्ने हो। यो बेला न मतदाता न उमेदवार कसैले पनि छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइन्न। आचार संहिता सञ्चार माध्यमलाई पनि लाग्छ।

प्रचार सामग्री कतै टाँसिएका थिए भने पनि हटाउनुपर्छ। हिजोआज सामाजिक सञ्जालमा प्रचारको ठूलो हतियार भइरहेको छ। स्थिर अवधिमा सञ्जालमा पनि प्रचार गर्न पाइन्न। कसैको पक्ष तथा विपक्षमा सामग्री पोस्ट वा सेयर गर्न पाइन्न र पहिलाका पनि हटाउनुपर्छ।

शान्त समय जुन मौन अवधिकार रूपमा परिचित छ, यो संवेदनशील छ। शान्त र स्थिर भनेकै समयमै दल र उमेदवारहरूले बढी अशान्ति र अस्थिरता पैदा गर्ने गरेको आम गुनासो छ। मौन अवधि भनिँदै आइएको यो समयलाई मनी अवधि अर्थात् पैसाको चलखेल हुने समय भनेर पनि चिनिन्छ।

हुन पनि उमेदवारहरूले यही अवधिमा मतदाताहरूलाई पैसा बाँड्ने र मत किन्ने प्रपञ्च गर्छन् भन्ने गरिन्छ। अझै पनि पैसाका आधारमा मतको किनबेच हुनु चाहिँ हाम्रो लोकतन्त्रको ठूलो कमजोरी हो।

त्यसो हुन नदिन त पहिला मतदाता नै सचेत हुनु बेस्। उमेदवारलाई पैसाका आधारमा हैन योग्यता, क्षमता र इमान्दारीका आधारमा मत बोध गराउन सक्ने सामथ्र्य निमय र कानुनमा भन्दा पनि धेरै मतदातामै हुन्छ।

कानुनले कसिकसाउ गर्ने, आचारसंहिताले बाँध्ने काम निर्वाचन आयोगले गरिरहेकै छ। तर हाम्रो राज्यको सामथ्र्यका आधारमा सबै चलखेललाई रोक्न सम्भव पक्कै छैन। त्यो सम्भव बनाउन सक्ने पनि मतदाताले नै हो।

मतदाताले पैसा नलिने र भोट बिक्री नगर्ने मात्रै होइन, त्यसै आधारमा चुनाव जित्छु भन्नेहरूलाई हारको स्वाद पनि चखाई दिनुपर्छ। त्यसो भयो भने हाम्रो राजनीति सङ्लो हुन्छ।

अचेल जसरी पैसा हुनेहरूलाई उमेदवार बनाउने र पार्टीहरूले पनि पैसामै टिकट बिक्री गर्ने प्रवृत्ति देखा परेको छ, त्यसलाई झापड दिने बेला पनि मतदाताको मतले नै हो। शान्त अवधिलाई शान्तै रहन दिँदा नै मंसिर ४ को निर्वाचन स्वच्छ, भयरहित तथा निष्पक्ष हुन मद्दत पुग्छ। तसर्थ सबैले शान्त अवधिको पालना गर्नुपर्छ।

अन्नपूर्ण पाेस्ट्बाट
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?