साझाकथा संवाददाता
काठमाडाैं, मंसिर ५
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका सुरू भएकाे छ । उपत्यकाकाे ३ वटै जिल्लामा मतगणना सुरू भएकाे छ भने अन्य जिल्लामा पनि मतगणना सुरू भएकाे छ ।
पुर्वी झापामा मतगणना तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । उनका अनुसार झापा क्षेत्र नं २ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नं ३ र ५ को मतगणना बिहान ८ शुरु हुनेछ । त्यस्तै, क्षेत्र नं १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ ।
जिल्लामा ६७ दशमलव २७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ मध्ये चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ । निर्वाचन क्षेत्र नं १ मा ८७ हजार तीन सय ९६, क्षेत्र नं २ मा ८७ हजार सात सय २३, क्षेत्र नं ३ मा ८९ हजार छ सय ३७, क्षेत्र नं ४ मा ७९ हजार तीन सय ४९ र क्षेत्र नं ५ मा एक लाख दुई हजार एक सय ५० मत खसेको सो कार्यालयले जनाएको छ ।
भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो ।
गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ ।
एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ । निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए ।
यसैगरी काठमाडाैं, ललितपुर, कास्की, नुवाकाेट, पर्वतमा पनि मतगणना तयारीमा रहेकाे छ । रसुवा, गाेरखा लगायत देशका हिमाली जिल्लामा भने मतपेटिका संकलन गरिदै गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।