झापा २ मा एमाले र ३ मा राप्रपाको अग्रता कायमै

झापा, मंसिर ६

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको मतगणना झापामा धमाधम भइरहेको छ ।

आज २ः२० बजेको प्राप्त मतपरिणाम अनुसार झापा क्षेत्र नं २ (नेकपा) एमालेका उम्मेदवार देवराज घिमिरेको अग्रता कायमै रहेको छ । ३४ हजार एक सय ६२ मत गणना गर्दा घिमिरेले ११ हजार तीन सय ४० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशवप्रसाद पन्थले जानकारी दिनुभयो । यहाँ दुई हजार ४६ मत बदर भएको उहाँले बताउनुभयो ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) १० हजार एक सय ८० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार हरिकुमार राना पाँच हजार नौ सय ५६ मतका साथ तेस्रो स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तीन हजार दुई सय ९३ मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।

झापा २ को प्रदेशसभा १ र २ दुवैमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेशसभा १ मा एमालेका एकराज कार्की आठ हजार दुई सय ३१ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक–वाम गठबन्धनका पुष्पराज पोखरेल दुई हजार सात सय ४७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै झापा २ को प्रदेशसभा २ मा एमालेका चिन्तन पाठक सात हजार दुई सय ३९ मतका साथ अग्रस्थानमा हुनुहन्छ भने लोकतान्त्रिक–वाम गठबन्धनका खगेन्द्र मैनाली पाँच हजार चार सय ७३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

झापा ३ मा राप्रपाको अग्रता कायमै

यता झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै रहेको छ । १३ हजार आठ सय ५२ मत गणना गर्दा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेशसभा १ मा एमालेका वसन्त बानियाँ सात हजार तीन सय ५८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी सात हजार दुई सय ७५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै झापा ३ को प्रदेशसभा २ मा एमालेका छवि चुडाल चार हजार एक सय २६ मतका साथ अग्रस्थानमा हुनुहन्छ भने लोकतान्त्रिक–वाम गठबन्धनका पूर्णसिंह राजवंशी तीन हजार दुई सय ६० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?